सुर्खेत
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले शिक्षकको क्षमता विकास सम्वन्धी प्रशिक्षण गरेको छ । प्रशिक्षणमा बीरेन्द्रनगरका ७ वटा विद्यालयका ७० जना शिक्षक सहभागी थिए ।प्रशिक्षणमा वालरोग विशेषज्ञ डा. नवराज केसीले बालबालिकाको जन्मपूर्व र जन्मपश्चात पनि उनीहरुको लागि उपयुक्त वातावरण सृजना गर्नु पर्ने बताए ।
मप विश्वविद्यालयका सह प्राध्यापक डा. सीपी रिजालले कक्षाकोठा बाहिरको सिकाइ प्रव्रिmया सबल बनाउन शिक्षकहरुले वैकल्पिक सिकाइका तरिका अपनाउनु पर्नेमा केन्द्रित हुनु पर्नेमा जोड दिए ।
एसओएस बालग्रामका निर्देशक गोपाल प्रसाद घिमिरेले बालबालिकाको क्षेत्रमा काम गर्ने हरेक व्यक्तिले मनोविज्ञान ख्याल गरी बाल संरक्षण नीति पालना गर्नुपर्ने र बालमैत्री वातावरणको निर्माण गर्नुपर्ने बताए ।
यस्तै मप विश्वविद्यालयका उपप्राध्यापक यदुप्रसाद ज्ञवालीले सिकाइमा नयाँ र सृजनात्मक र समन्वयात्मक रणनीतिहरुबारे ख्याल राखी अध्यापन गर्नु पर्ने बताए ।
वीरेन्द्रनगर नगर शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्र शर्माले प्रभावकारी शिक्षण कार्यकलाप विषयमा, शिक्षक रमेश बुढाले सिकाइमा प्रविधिमा जोड दिए ।
मप विश्वविद्यालयका सह प्राध्यापक डा. अर्जुन बहादुर ऐडीले २१ औँ शताब्दीको शिक्षक कसरी बन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
दुई दिने प्रशिक्षणको उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख नीलकण्ठ खनालले सीमित स्रोत र साधनले पर्याप्त उपलब्धि हासिल गर्न क्षमता विकास तालिम आवश्यक रहेकोमा जोड दिए ।
उनले एसओएस हर्मन माइनर विद्यालयले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको क्षमता विकासका लागि गरेको काम सराहनीय भएको उल्लेख गरे ।
एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले सिकाइ दोहोरो हुने हुँदा आपसी आदान प्रदानबाट सहभागितामूलक र सहयोगात्मक सिकाइ पद्धतिले विद्यार्थीका सिकाइमा रहेका समस्या समाधान गर्नुका साथै शिक्षकको क्षमता विकास हुने कुरा बताए ।
कार्यक्रमा एसओएस हर्मन माइनर विद्यालयका साथै अमरज्योति मावि नेवारे, त्रिपुरेश्वर मावि ढोडेखाली, भैरव मावि भैरवस्थान, शिव मावि धुलियाबिट र इन्टरनेसनल कोअपरेटिभ एकेडेमी सुर्खेतका शिक्षकको संलग्नता थियो ।
एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेतले विद्यालयले आफ्नो क्षेत्र आसपासमा रहेका अन्य विद्यालयका शिक्षकहरुलाई सहभागी गराएर सहभागितामूलक र समन्वयात्मक शिक्षण र तत्सम्बन्धी प्रशिक्षणले शिक्षकभित्रको ज्ञान पुनर्ताजगी गर्न सहयोग गर्ने विस्वास व्यक्त गरे ।
उनले भने, बदलिँदो परिवेशमा शिक्षण सिकाइ गर्ने सिप समेत आर्जन हुने भएकोले प्रशिक्षण गरिएको हो ।
प्राचार्यहरु खगेन्द्र थापा, रुद्रबहादुर खत्री, भक्तबहादुर जीसी, पूर्ण प्रसाद पौडेल र यामराज गिरी पत्रकार तथा अभिभावक सुशील शर्माले शिक्षकले अत्यन्तै मिहिनेतपूर्वक पढाउँदा पनि निरन्तर अपजस र दोष भोग्नु परेको परिप्रेक्ष्यमा शिक्षकलाई राज्यले भरपूर सुविधा दिनुका साथै सुरक्षा र सम्मान दिनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण विद्यालयका शैक्षिक कार्यक्रम संयोजक महेन्द्र बहादुर शाहीले गरेका थिए ।
राराखबर । २०७९, २२ चैत्र बुधबार