सेवा नै आनन्दको स्रोत

सुर्खेत

संकटका वेला गरिने सेवा नै आनन्दको स्रोत भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।

कर्णालीवासीले विभिन्न समयमा झाडापखाला, बाढीपहिरो, भूकम्प र कोभिड–१९ जस्ता मानवीय र प्राकृतिक संकट झेल्दै आएका छन्। संकटका वेला सरकारी तथा गैरसरकारी निकाय सेवामा खटिन्छन्। कोही स्वच्छ मनले सेवा गर्छन् त कोही सेलिब्रेटी बन्नकै लागि।

विशेषगरी उनीहरूले उद्धार, उपचार तत्कालीन राहत लगायत मानवीय सहायतामा पीडितलाई सघाउँदै आएका छन्। संकटमा सेवा गर्नेहरूको विषयमा शनिबारदेखि वीरेन्द्रनगरमा शुरू भएको कर्णाली उत्सवमा बहस गरिएको छ।

छलफलमा सहभागी समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले संकटमा गरिने सेवाले नै आनन्द दिने बताए। उनीहरूलाई पत्रकार प्रकाश पन्तले संकटमा गरिने सेवाबारे प्रश्न गरे। तीनै जनाको जवाफ थियो- संकटमा सेवा जस्तो हुनुपर्ने थियो, त्यस्तो भएन।

गायिका आनीले सेवा नै आनन्दको स्रोत भएको बताइन्। उनले भनिन्, “कर्म त्यस्तो गर्नु हो, जसले बेलुका सुत्दा मनमा डर, त्रास हैन, आनन्द देओस्। सेवा नै आनन्दको स्रोत बनोस्।’ उनले संकटका वेला पनि ‘राहतमा भ्रष्टाचार भयो, नेताहरूका आफन्तलाई मात्रै राहत’ भन्ने जस्ता मिडियामा आउने समाचारले मन पोल्ने गरेको बताइन्।

“मान्छेले जालझेल गर्न सक्छ। बनाएको कानून छल्न सक्छ। भनसुन गर्न सक्छ तर कुदरतले बनाएको कानून छल्न सक्दैन। मोलमोलाइ गर्न सक्दैन,” उनले भनिन्, “पैसा हुँदैमा ठूलो भइन्छ भन्ने भ्रमबाट माथि उठौं। संकटका वेला सहयोग गरौं। मान्छेले कर्मको फल भोग्छ। सत्य कर्म गरौं।”

अर्का वक्ता डा. खड्काले संकटका वेला स्वच्छ मनले काम गरे पुग्ने बताए। “आफूले पाएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गरे मात्रै हुन्छ। स्वच्छ मनले काम गर्‍यो भने राम्रो परिणाम आउँदो रहेछ,” झन्डै ४० वर्षदेखि कर्णालीमा स्वास्थ्य सेवा दिइरहेका खड्काले भने, “राम्रो काम गर्नेलाई सरकार, जनता सबैले धन्यवाद दिंदा रहेछन्।”

उनले विपद्का वेला सरकारी तयारी भने पर्याप्त नहुने गरेको सुनाए। “संकट जति वेला पनि आउन सक्छ। त्यसका लागि हरेक संरचना तयारी अवस्थामा रहनुपर्छ,” डा. खड्काले भने।

संघीयताको सुन्दरता विपद्को वेला देखिएको भेरी नगरपालिकाका मेयर घर्तीले सुनाए। गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भेरी नगरपालिकामा नै सबैभन्दा ठूलो मानवीय क्षति भयो। “सरकार र सहयोगी मनहरूको सहयोगमा २४ घण्टाभित्रै खोज र उद्धारका काम गरेका थियौं,” घर्तीले भने, “संघीयताको सुन्दरता भनेको यही हो, शायद भूकम्पको वेला केन्द्र, प्रदेश र स्थानीय सरकार सबैले चासोका साथ हेर्नुभयो। खटिनुभयो। थुप्रै दातृनिकायले सहयोग गरे। धेरैको ज्यान जोगियो।”

तर कतिपय व्यक्ति ‘सेलिब्रेटी समाजसेवी’ पनि देखिएको भन्दै मेयर घर्तीले दुखेसो पोखे। “कतिपय व्यक्तिहरू सेल्फी र खोटो खिच्नकै लागि पनि समाज सेवा गरे झैं गर्नेहरू पनि देखिए,” उनले भने।

संकटका वेला समुदायमा पनि सबैलाई सहयोग गरौं भन्ने सामूहिक भावना नभएको उनको भनाइ थियो। “भूकम्पका वेला मैले त्रिपाल पाएँ, छिमेकीले पाएको छैन। उसलाई दिनुहोस् भनेर एक जनाले पनि भनेको सुनिएन,” मेयर घर्तीले भने, “हामीमा सामूहिक भावना मर्दै गएको छ। मानवीयता हराउँदै गएको छ। यस विषयमा पनि गम्भीर भएर सोच्नुपर्ने वेला आएको छ।”

 




फेसबुकबाट तपाईको प्रतिक्रिया