सुर्खेत
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कर्णालीमा नेपाली फिल्म छायाङ्कन गर्ने र बन्ने प्रशस्त सम्भावना रहेको औल्याएका छन् ।
चलचित्र विकास बोर्डले सुर्खेतको वीरेन्द्रनगर गरेको पाँच दिने फिल्म बनाउने सम्वन्धी तालिमको समापन गर्दै उनले भने, कर्णालीमा चलचित्रको कथा मात्र होइन, अरु थुप्रै व्यथा पनि छन् । कथा लुकेकाले त्यसलाई बाहिर ल्याउन सक्ने कथाकारको खाँचो रहेको छ ।
ती कथा व्यथा बाहिर ल्याउने ईच्छाशक्ति र जोश चाहिएको केसीले बताए ।
थोरै समय खर्चिएर शुन्य लगानीमा फिल्मका माध्यमबाट नसोचेको प्रतिफल लिन सकिने उनको भनाई छ ।
चर्चित डकुमेन्ट्री फिल्म मेकर राजेश गोंगजुले कर्णालीमा कथालाई आवश्यक पर्ने विषय वस्तुसँगै अर्गानिक दृश्य र जीवन्त आवाजहरु रहेको बताए ।
उनले भने, कर्णालीको कथा कर्णालीको व्यक्तिले जुन स्तरबाट प्रस्तुत गर्न सक्छ, त्यो अरु कसैले गर्न सक्दैनन् ।
साहित्यकार तथा कलाकर्मी डा. महेन्द्रकुमार मल्लले सांस्कृतिक तथा आर्थिक रुपले भरिपूर्ण कर्णालीको पहिचान स्थापित गर्न नसक्दा ‘गरिब’ भन्ने भाष्य कायम भएको उल्लेख गरे ।
तालिमका सहभागीलाई अध्यक्ष केसीले प्रमाणपत्र प्रधान गरेका छन ।
राराखबर । २०८०, २० चैत्र मंगलवार