पिठ्युँमा दुधे बालक बोकेरै भए पनि यार्सागुम्बा टिपेर घर चलाउने कर्णालीका महिलाहरू

प्रकाश पन्त

चिनाराङसी पाटन, डोल्पा

बीबीसी नेपाली सेवाबाट 

हिउँले ढकमक्क ढाकिएको चिनाराङ्सी हिमाल वरपर हल्का पानी पर्ने बित्तिकै फुरफुर हिउँ पर्न थालिहाल्छ।

रातभरि चिनाराङ्सी हिमालको फेदैसम्म परेको हिउँ बिहान ८–९ बजेसम्म आधाउधी बिलाइहाल्छ।

झन्डै ५,००० मिटरको उचाइमा रहेको चिनाराङ्सी पाटनमा चौबिसै घण्टा चिसो हावा चलिरहन्छ।

कठ्याङग्रिदो जाडो र दम लागेर स्वस्थ मानिसलाई पनि सास फेर्नै हम्मे हम्मे पर्छ। ८–१० पाइला हिँड्दा पनि सास बढेर हैरानै हुन्छ।

यार्सागुम्बा पाइने ठूल्ठूला पाटनका फाँटसँगै एकदमै चिप्लो, भिरालो र अग्ला खोँचहरू भएको रूपपाटनमा पनि ज्यान माया मारेर यतिबेला हजारौँ मानिसहरू बहुमूल्य जडिबुटी यार्सागुम्बा खोजिरहेका भेटिन्छन्।

कसले छिटो टिप्ने, कसले बढी भेटाउने, को नयाँ वा कोही पनि नपुगेको ठाउँमा पुग्ने, कसले छिटो छिटो पाटन चढ्ने भनेर यार्सागुम्बा टिप्न प्रतिस्पर्धा चल्ने गर्छ।

यिनै मान्छेहरूसँग प्रतिस्पर्धा गर्दै पिठ्युँमा अढाई वर्षको बच्चा बोकेर डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–३, सुँ गाउँकी धनरुपा रोकाया पनि चिनाराङ्सी पाटनमा यार्सागुम्बा खोज्दै थिइन्।

पिठ्युँमा बोकेको उनको बच्चा जाडोले काँपिरहेको थियो। चिसोले गर्दा आमा र बच्चा दुवैका हात, खुट्टा र गाला फुटेका थिए।

हातमा कुटो समातेकी उनी भन्दै थिइन्, “बच्चासँग गाह्रो भए पनि जरा (यार्सागुम्बा)बाट केही कमाउँला भनि पाटन आएकी हुँ। हप्ता दिनमा त्यही ३०–३५ वटा (३० हजार रुपैयाँका) जति यार्सागुम्बा भेटाएकी छु।”

बच्चालाई घरमा छोड्न नसकेर श्रीमान्‌सँगै आएको बताउने उनलाई अप्ठ्यारो पर्दा भने सँगै यार्सागुम्बा टिपिरहेका गाउँका दाजुभाइ र दिदीबहिनीहरूले पनि सघाउने गरेका छन्।

बच्चा बिरामी पर्ने बित्तिकै घर फर्की हाल्ने सोच बनाएकी उनी निकै कठिन र जोखिमपूर्ण काम भए पनि पेट पाल्न यार्सागुम्बा टिप्नुको विकल्प आफूसँग नभएको गुनासो सुनाउँछिन्।

डोल्पाकै मोती रोकाया पनि १५ महिनाको काखको बच्चा बोकेर रूपपाटनमै यार्सागुम्बा खोजिरहेकी थिइन्।

यस्तो जाडो र लेक लाग्ने ठाउँमा बच्चासँग अप्ठ्यारो हुँदैन?

बीबीसीको प्रश्नको जवाफमा झन्डै ४,८०० मिटरको उचाइमा पुगेकी उनी भन्छिन्, “अप्ठ्यारो भए पनि के लाग्यो सर? धनको लागि आउनु पर्‍यो। जागिर छैन। कमाई गर्ने अरू बाटो पनि त छैन नि। जहान परिवार पाल्नलाई पाटन नआई हुँदैन।”

कति बेला बच्चालाई पिठ्युँमा बोकेर र कति बेला नजिकै पाटनमा बसालेर यार्सागुम्बा खोज्ने गरेकी उनले वर्षभरिको घर खर्च र चार जना छोरीहरूको पढाइ खर्च जुटाउन बर्सेनि यार्सागुम्बा खोज्न आउनु पर्ने बाध्यता दर्साइन्।

बच्चा बोकेर यार्सागुम्बा खोज्न आएकी मोतीसँगै उनका श्रीमान्, सास ससुरा र एउटी नन्द गरी पाँच जनाको परिवार यार्सागुम्बा खोज्न रूप पाटन आएका छन्।

डोल्पा दुरगाउँकी कुमारी रोकाया र उर्मिला बुढा ८ महिनाकी गर्भवती हुन्। तर उनीहरू यतिबेला रूपपाटनमा यार्सागुम्बा खोज्नमा व्यस्त छिन्।

श्रीमान्‌सँगै जेठ १४ गते यार्सागुम्बा खोज्न पाटन आएका उनीहरू दुवै जनाले अरूसँगै बिहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म पाटनमा यार्सागुम्बा टिप्ने गरेको बताए।

“ज्यानलाई जोखिम हुन्छ भन्ने कुरा थाहा छ तर के गर्नु घर व्यवहार चलाउन आम्दानीको कुनै स्रोत छैन,” उर्मिला भन्छिन्।

“असार महिनामा बच्चा जन्मिने छ। गर्भ नियमित चेकजाँच गरेकोले खासै समस्या त छैन। केही भइहाले पनि तुरुन्तै फर्की हालिन्छ।”

हातमा कुटो समातेका उनीहरू महिना दिनसम्म डोल्पाको रुपपाटनमा पर्ने चिनाराङ्सी, माझ डाँडा, तुरी, बगर, बाटुल्ले, काल डाँडा, फुर्के, ज्ञाने, जैरीजस्ता ठाउँमा धेरै चुनौतीहरू खेपेर यार्सागुम्बा टिप्ने गर्छन्।

धनरुपा, मोती, कुमारी र उर्मिला मात्र होइन यतिबेला बहुमूल्य जडीबुटी खोज्न उनीहरूजस्ता धेरै गर्भवती र दुधेबालक बोकेका महिलाहरू विशेषगरी डोल्पाका भाङका, भोक्का, कागमारा, टाङटुङे, माटे, ग्यालवारा, फूलबारी, प्यारी, कुनास, ठाँगे, पोखेपानी,धो, तिन्जे, सालदाङ, छार्क, कागकोट, तिलाङ, रुपपाटनमा यार्सागुम्बा खोजिरहेको भेटिन्छन्।

समुद्री सतहबाट करिव ४,८०० देखि ५,५०० सय मिटरको उचाइमा रहेका यी पाटनहरूमा पुरुषसँगै महिलाहरू पनि यार्सागुम्बा टिप्न आएका छन्।

यार्सागुम्बाको लागि ज्यानको बाजी

पछिल्लो समय सुत्केरी र गर्भवती महिलाको साथै बालबालिका, किशोर किशोरी, युवायुवती, वृद्धवृद्धा र अपाङ्गता भएका  व्यक्तिहरू ज्यानको बाजी थापेर पैसाको लागि उच्च पाटनहरूमा यार्सागुम्बा सङ्कलनमा जुटेका छन्।

पाटन नजिक रहेका बस्तीका मान्छेहरूलाई खासै जोखिम नभए पनि टाढाबाट पाटन आउने महिलालाई निकै जोखिम हुने गर्छ।

जोखिमपूर्ण बाटोहरू हिँड्नु पर्छ। पाटनमा बस्दा खानेदेखि ओढ्ने ओछ्याउने आफैँले बोकेर ल्याउनु पर्छ।

पाटनको घाँसे मैदानभित्र यार्सागुम्बा हुन्छ। बुकी र यार्सागुम्बाको टुप्पो एकै किसिमका हुने भएकोले छुट्याउन कठिन पनि पर्छ।

यार्सागुम्बा टिप्न धेरै नै गाह्रो हुने गरेको पाटनमा भेटिएका महिलाहरू बताउँछन्।

कतिपय गर्भवती महिला पाटनमै जन्माउँछन् बच्चा

एकदमै नियालेर हेर्न सक्नेले मात्र यार्सागुम्बा फेला पार्छन्। नयाँ मान्छेलाई भेटाउनै मुस्किल पर्छ।

चार हात खुट्टा टेकेर यार्सागुम्बा टिप्दा घुँडा दुख्ने, आँखा दुख्ने, शरीर दुख्ने गर्छन्।

चिसो, हिउँ, असिना, पानीको वास्तै नगरी यार्सागुम्बा टिप्दा चिप्लिएर ज्यानै जान सक्छ।

दुधे बच्चा लिएर यार्सागुम्बा टिप्न पुगेकी डोल्पा लाहाराकी रेखाकुमारी रोकाया भन्छिन्, “सबैले यार्सागुम्बा फेला पार्दैनन्। कमाउन गएका कतिपय उल्टै ऋणको भारी बोकेर घर फर्किन्छन्।”

केही वर्ष वर्षअघि सम्म १५ देखि ४५ वर्षसम्मका मान्छेहरू मात्र यार्सागुम्बा टिप्न पाटन आउँथे।

तर अहिले भने बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिका साथै साना बच्चा भएका र गर्भवती महिलाहरू पनि आउँछन्।

कतिपय गर्भवती महिला त पाटनमै सुत्केरी समेत भएको आफूले देखेको डोल्पा काँडातालीकी उमाकुमारी चन्दले बताइन्।

“अहिले प्रतिस्पर्धाको जमाना आयो। बढीभन्दा बढी कमाउनु पर्छ भन्ने भयो,” उनी भन्छिन्।

“अहिले गर्भवती र सुत्केरी त के ७–८ वर्षका बच्चादेखि ७०–७५ वर्ष सम्मका बुढाबुढी पनि यार्सागुम्बा टिप्न आएका छन्।”

पहिला जस्तो भए गोठाला जालान् भन्नु अहिले  नपढाई हुदैन्

यार्सागुम्बा मात्र होइन, गर्भवती र दुधेबच्चा भएका महिलाहरू सिजन अनुसारका अरू जडीबुटी सङ्कलन गर्न पनि पाटन जान्छन्।

यार्सागुम्बा खोजेर पाटनबाट घर फर्किँदै गरेकी त्रिपुरासुन्दरीकी चन्द्ररुपा धराला भन्छिन्, “हामीले जति दु:ख गर्छौँ त्यो सबै बच्चाहरूको लागि त हो। पहिलाको जस्तो भए खेतीपाती र गोठाला जालान् भन्नु अहिलेका बच्चा बच्चीलाई नपढाई हुँदैन।”

काठमान्डूमा पढिरहेका छोराछोरीलाई महिनामा २५ हजार रुपैयाँ पठाउँदै आएको बताउने उनी यो कमाइले छोराछोरीलाई पढाउन धेरै सहज भएको बताउँछिन्।

उनीहरू जस्तै धेरै डोल्पालीहरूको आयआर्जनको प्रमुख स्रोत भनेकै यार्सागुम्बा र सिजन अनुसारका अन्य जडीबुटी हुन्।

उनीहरू जडीबुटीकै आम्दानीले दाल चामल, नुन, तेल किन्ने गर्छन्।

कतिपयलाई बारीको उत्पादनले तीन महिना पनि खान पुग्दैन।

आफ्नो उत्पादनले बाह्रै महिना पुग्नेहरू पनि नगद पैसाको लागि जडीबुटीकै आम्दानीमा निर्भर छन्।

जडिबुटीसँगै स्याउ, आलु, सिमी, मकै, कोदो, फापर, चिनो, उवा, जौजस्ता फलफूल र अनाजसमेत बेचेर पनि उनीहरूले आयआर्जन गर्छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया