स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई भरपदो सुरक्षा दिन चिकित्सकको माग


सुर्खेत
सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिन नसकेको चिकित्सकहरुले गुनासो गरेका छन् ।
स्वास्थ्यकर्मी र संस्थामाथी आक्रमणका घटना बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले डर र त्रासको वातावरणमा काम गर्न बाध्य भएको बताएका छन् ।
नेपाल चिकित्सक संघले बीरेन्द्रनगरमा गरेको कार्यक्रममा डा. सोजन सापकोटाले स्वास्थ्यकर्मी माथी अन्याय हुँदा सरकार लाचार रुपमा प्रस्तुत हुने गरेको आरोप लगाए ।
उनले भने, जनताले हैन, केही तत्वहरुले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथी आक्रमण गर्छन ।
नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष बद्री रिजालले सरकारले स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाए यस्ता समस्याहरु स्वास्थ्यकर्मीले व्यहोनु नपर्ने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले दलका नेताहरुले दोषीलाई कारवाही गर्नुको साटो उल्टै संरक्षण दिने गरेको आरोप लगाए ।
उनले भने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको जिम्मेवारी सरकारको दायित्व भएपनि समस्या पर्दा सहयोगको साटो उल्टै असहयोग हुन्छ ।
स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्यकर्मीको लापरवाही गरेर कानुनी उपचार गरेर न्याय पाउने ठाउँ हुँदा हुँदै तोडफोड र आक्रमणमा उत्रिनु अराजकता भएको बताए ।
चिकित्सक संघका महासचिव डा. संजिव तिवारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा स्वास्थ्यकर्मीले दुख पाइरहेको धारणा व्यक्त गरे ।
सरकारी वलिक कार्यालय सुर्खेतका नविनकुमार भट्टले स्वास्थ्य संस्थाहरुमा छुट्टै सुरक्षाकर्मी तैनाथ गर्नु पर्नेमा जोड दिए ।
प्रदेश प्रहरी कार्यालयका एसएसपी बीरबहादुर ओलीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा दिन प्रहरी दृढ रहेको उल्लेख गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया