लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु

सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् ।

शाहीकाे क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाही विगत ६ महिना देखी बिरामी रहेकाे बताए ।

उपचार गर्न नमान्नेपछि भदौ ३१ गते सम्झाई बुझाई गर्दा उपचार गर्न सहमति भएपछि शाहीलाई प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्यकर्मी विसीले बताए ।

स्वास्थ्यकर्मी बिसीले भने,`गुराँस गाउँपालिका दैलेखकाे सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा खकार चेक गर्दा क्षयरोग रोग देखिएको थियो । क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा राउटे समुदाय मन्जुर नहुँदा अस्पतालले डिस्चार्ज गर्दिएकाे थियाे । फर्किँदै गर्दा बाटोमा शाहीको मृत्यु भएको हो ।`

मृतक शाहीलाई गत भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियाे । उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा वुधवार राती ९ बजे सुर्खेतको कल्यानकाँधमा उनको मृत्यु भएको स्वास्थ्यकर्मी बिसीले जानकारी दिए ।

मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका १ को सिमेसालमा बसोबास गरिरहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया