सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियाे अनुमति

सुर्खेत । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पुष्टि गरे ।

आजै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । अदालतमा भएको बहसपछि न्यायाधीशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ ।

सहकारीको बचत अपचलन सम्बन्धमा छानविन गर्न बनेको संसदीय समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकम खर्च गर्न लामिछानेको हात रहेको निष्कर्ष निकालेको थियो।

सहकारी पीडितले लामिछानेविरूद्ध गत वर्ष माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए। शुक्रबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको उनलाई सोही राति पोखरा पुर्‍याइएको छ । उनी पक्राउ परेसँगै पार्टी नेता कार्यकर्ता भने आक्रोशित बन्दै सडकमा उत्रिएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया