कर्णालीमा उपनिर्वाचन :

कांग्रेस–एमालेलाई विरासत गुम्ने डर, माओवादीकाे शक्ति परिक्षण

सुर्खेत । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कर्णाली प्रदेशमा भने चार दलहरूबिच प्रतिस्पर्धा हुने देखिएको छ । अधिकांशमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) र माओवादी केन्द्रका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा रहेको छ ।

उम्मेदवार, दलका कार्यकर्तालाई घरदैलो गरी भोट माग्न भ्याई नभ्याई छ । चुनावी प्रचार–प्रसार गर्ने आज(बिहीबार) राती १२ बजेसम्म अन्तिम समय भएकाले पनि राजनीतिक दलहरू मतदातालाई आफ्नो प्रभावमा पार्न अनेकन् विधि अपनाइरहेका छन् ।

उपनिर्वाचनको तयारी कर्णालीमा पूरा भइसकेको जनाइएको छ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदै छ ।
०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त रहेका उक्त पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि प्रदेशका आठ पदमा ४४ जनाको उम्मेदवारी परेको छ ।

जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ ।

कर्णालीमा काँग्रेस, माओवादी र समाजवादीको गठबन्धन बन्दा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । उपनिर्वाचनमा काँग्रेस, माओवादी र एमाले एक्ला एक्लै चुनावमा जाने भएपछि यस पटक दलहरूको स्पष्ट जनमत परीक्षण हुने माध्यमका रूपमा उपनिर्वाचन हुने देखिएको छ ।

उपनिर्वाचन हुने कर्णालीका ८ पालिकाका ८ पदका लागि काँग्रेस, एमाले, र माओवादीले तयारी तीव्र पारेका छन् ।

महाबु गाउँपालिकामा नेपाली काँग्रेसका झलकबहादुर भण्डारी, नेकपा एमालेका जंगबहादुर शाही, माओवादी केन्द्रका जंगबहादुर बराल मगर, एकीकृत समाजवादीका जगत बहादुर हमाल र रास्वपाका प्रकाश बुढा उम्मेदवार छन् । त्यहाँ काँग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।

नलगाड नगरपालिका उपप्रमुखमा नेपाली काँग्रेसका इन्द्रा चन्द सिंह, नेकपा एमालेले सुनिता बोहरा, माओवादी केन्द्रले देवका लामिछाने, राष्ट्रिय स्वतन्त्र पाटीले पार्वती पुनबिच प्रतिस्पर्धा हुँदै छ ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसले सबिता बुढा, नेकपा एमालेले जाना शाही, माओवादीले केन्द्रले देवकी तिम्लिसेना, र राष्ट्रिय प्रजातन्त्र पाटीले संगीता शाहीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया