सुर्खेत । कर्णाली प्रदेशबाट यस बर्ष ३७ हजार बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । गत वर्षको भन्दा करिब २ हजार बढी विद्यार्थी यो वर्षको एसईई परिक्षामा सहभागी हुने भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । यही चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षामा कर्णालीका १० जिल्लाबाट यस वर्ष ३७ हजार ९११ जना परीक्षमा सहभागी हुने कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
उक्त तथ्यांक अनुसार परीक्षा दिनेमा नियमित तर्फ ३१ हजार ८०४, ग्रेडवृद्धितर्फ ६ हजार १०७ र प्राविधिक तर्फ एक हजार ३४२ विद्यार्थी रहेका छन् । शिक्षा विकास निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा एसईई दिने विद्यार्थीको संख्या वृद्धि भएको छ । गत बर्ष कर्णालीमा ३५ हजार ८०८ विद्यार्थी (एसईई) मा सहभागी भएका थिए । गत बर्षको तुलनामा यो बर्ष २ हजार १०३ ले विद्यार्थीको वृद्धि भएको देखिन्छ ।
एसईई परीक्षामा प्रदेशभरबाट १८० परीक्षा केन्द्र तोकिएको शिक्षा विकास निर्देशनालय निमित्त निर्देशक दिपा हमालले बताइन् । उनका अनुसार जसमा सुर्खेतमा ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
कुन जिल्लामा कति विद्यार्थी ?
कर्णालीका दश जिल्ला मध्ये सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुदैछन् । सुर्खेतबाट नौ हजार ५ सय १३ विद्यार्थीले परीक्षा दिनेछन् । जसमा ३३ परीक्षा केन्द्रबाट नियमित तर्फबाट ७ हजार ५७ र ग्रेडवृद्धि तर्फबाट २ हजार ४ सय ५६ विद्यार्थी छन् । प्राविधिक तर्फबाट एक सय ३० विद्यार्थीले एसईई दिनेछन् ।
यस्तै मुगुबाट सबैभन्दा कम एसईई परीक्षा दिने विद्यार्थी रहेका छन् । मुगुबाट ९ सय ४६ विद्यार्थीले परीक्षा दिनेछन् । जसमा ८ परीक्षा केन्द्रबाट नियमित तर्फबाट ७ सय ८५ र ग्रेडवृद्धि तर्फबाट एक सय ६१ विद्यार्थी रहेका छन् । मुगुमा प्राविधिक तर्फबाट ५७ विद्यार्थीले एसईइको परीक्षा दिनेछन् ।
यस्तो छ तयारी
गत वर्ष झै यस वर्ष पनि कर्णाली प्रदेशले एसईईको तयारी पुरा गरेको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परीक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापन लगायतका काम सम्पन्न भएका छन् ।
परीक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू सम्बन्धित जिल्लामा पठाइएको शिक्षा विकास निर्देशनालय निमित्त निर्देशक हमालले जानकारी दिइन् । जिल्लाबाट केन्द्राध्यक्ष तोक्ने काम भैसकेको व्यवस्थापन सम्बन्धमा दुईदिने अभिमुखिकरण कार्यक्रम पनि गरिसकेको उनले बताइन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा आगामी ७ चैतबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । भने सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही दिन गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।
कुन प्रदेशबाट कति विद्यार्थी ?
देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने कुल विद्यार्थी ५ लाखँ ८ हजार ४ सय २८ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । जस मध्ये बागमति प्रदेशबाट १ लाखँ ८३ हजार ५७ विद्यार्थीले परीक्षा दिने छन् ।
सन्तोष भण्डारी । २०८१, ५ चैत्र मंगलवार