सुर्खेत- एसओएस बालग्राम सुर्खेतले गुर्भाकोट नगरपालिका- ९, भुल्केमा रहेको विधालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बिहिवार एक कार्यक्रमका वीच नेपाल राष्ट्रिय प्राथमिक विधालयका ५६ जना विधार्थीलाई झोला, विधालय पोशाक, कापी, कलमजस्ता शैक्षिक सामाग्री र विधालयलाई एउटा ल्याप्टव हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्रिय प्राथमिक विधालयका विधार्थी र विधालयलाई करिव ४ लाख रुपैया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको एसओएसले जनाएकाे छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले बालबालिकाहरूको शैक्षिक सुधार र विकासका लागि शैक्षिक सामग्री सहयोग गरिएको बताए ।
उनले विगतमा पनि एसओएस बालग्राम सुर्खेतले विशेष गरी विपन्न वर्गका बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुर्याउँदै आएको छ।
वडाध्यक्ष ज्ञानबहादुर खत्रीले विद्यालय र विधार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकोमा एसओएस बालग्राम सुर्खेतलाई आभार व्यक्त गरे ।
उनले आगामी दिनहरुमा पनि गाउँका विधालय र विधार्थीको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा विधालय व्यवस्थापन समितका अध्यक्ष, विधालयका प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्षलगायतले एसओएसको सहयोगप्रति आभार प्रकट गरेका छन् ।
एसओएस स्थापना दिवसको अवसर पारेर बालग्रामले विधालयमा निशुल्क बाल स्वास्थ्य शिविरको आयोजना समेत गरेको छ ।
बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले विधालयमा अध्ययनरत विधार्थीको स्वास्थ्य चेकजाँच गरेका छन् ।
उनले चेकजाँचको क्रममा ४ जना बालबालिकामा मुटुको समस्या देखिएकोले उनीहरुलाई मुटुरोग विशेषज्ञलाई देखाउन सुझाव दिएका छन् ।
कार्यक्रममा एसओएस बालग्रामका सामाजिक सेवा कन्द्रका फोकल पर्सन श्याम क्षेत्रीले हरेक बर्ग एसओएसले दुर्गम क्षेत्रका विद्यालय र विद्यार्थीहरूलाई पोसाक, झोला, कापी, कलम, र अन्य आवश्यक शैक्षिक सामग्रीहरू सहयोग गर्दै आएको बताए ।
एसओएस बालग्राम सुर्खेतले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन लामो समयदेखि सहयोग गर्दै आएको छ । कार्यक्रममा एसओएस हर्मन माइनर विधालयका प्राचार्य हरिहर बस्नेत, रमेशविक्रम हमाल, स्वास्थ्यकर्मी देवराज भारतीलगायत वालग्रामका कर्मचारीहरुको सहभागीता थियो ।
राराखबर । २०८२, ६ असार शुक्रबार