
अप्रेसनपछि पोस्टवमा राखिएका बालक प्रविण
सुर्खेत
अस्पताल पुर्याएको २० मिनेटमै अप्रेसन गरी प्रदेश अस्पताल सुर्खेतले आन्द्रा बाहिर निस्केको बालकलाई बचाएको छ ।
बाख्रा चराउन जंगल गएको बेला सालको रुखबाट लडेका भेरीगंगा नगरपालिका २ काल्पानीका ६ बर्षीय प्रविण घर्ती सानो आन्द्रा बाहिर निस्किएको अवस्थामा अस्पताल ल्याएको थियो ।
उनलाई अस्पताल पुर्याउँदा बिहिवार विदाको दिन सर्जन डाक्टर पंकज गिरी भने इमरजेन्सीमा विरामी हेर्दै थिए ।
बच्चाको अवस्था गम्भिर देखेपछि उनले ढिला नगरी बच्चालाई तुरुन्तै अप्रेसन थ्रियटरमा लगेर बरिष्ठ सर्जन डाक्टर गणेश थापाको निर्देशनमा सर्जन डाक्टर पंकज गिरी र उनको टिमले अप्रेसन सुरु गरेको थियो ।
बाहिर निस्केको आन्द्रालाई बचाएर भित्र राखियो, डाक्टर पंकजले भने, यति छिटो अप्रेसन नगरेको भए बाहिर निस्केको आन्द्रा कुहिएर ज्यानै जान सक्ने अवस्था हुन्थ्यो ।
अप्रेसनपछि बालकको अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको पनि उनले बताए ।

अप्रेसनपछि पोस्टवमा राखिएका बालकको स्वास्थ्य अवस्था चेक गर्दै सर्जन डा. पंकज गिरी
अस्पताल पुर्याउदा सम्पूर्ण रुपमा बाहिर निस्केको सानो आन्द्रा कालो भैइसकेको थियो । यदि समयमै अस्पताल नपुर्याएको भए बालकको ज्यान पनि जान सक्थ्यो ।
समयमै अस्पताल पुर्याएको, अस्पतालले पनि लापरवाही र ढिला नगरी अप्रेसन गरेको हुनाले बालकलाई बचाउन सफल भएको देखिन्छ ।
त्यसैले यस्तो अवस्था भएमा जति सक्यो चाडो मानिनसलाई अस्पताल पुर्याउन सकियो भने ज्यान जोगाउन सकिने डाक्टर गिरीले बताए ।
यस्तो अवस्था सृजना भयो भने लापरवाही गर्नै हुदैन, उनले भने, समयमै अस्पताल नलिएर ढिला गरियो भने बाहिर निस्केको आन्द्रा कुहिएर मानिसको ज्यानै जान्छ ।
नाइटोको बगलमा ५ सेन्टिमिटर चिरिएर बाहिर निस्केको आन्द्रालाई अप्रेसन गरेर भित्र राख्न करिव २ घण्टा लागेको थियो ।
रुख भीरबाट लडेर आन्द्रा बाहिर निस्केका, आन्द्रा फुटेका, चोटपटक लागेका जस्ता विभिन्न खालका जटिल समस्याहरु लिएर बर्षेनी कर्णालीबासी प्रदेश अस्पताल आउने गरेको डाक्टर गिरीले बताए ।
एक कक्षामा अध्ययनरत प्रविण विदाको दिन भएकोले बिहिवार साथीहरुसँगै बाख्रा चराउन घर छेउकै जंगलमा गएका थिए ।

बच्चाको स्याहारमा तल्लिन ठुलो वुवा अमर घर्ती
अरु भन्दा अलि चकचके स्वभावका उनी सालको रुखमा लागेको मालुको लहरा काट्दै गर्दा लडेका थिए ।
उनी लडन वित्तिकै एक जना साथी उनको ठुलो बुवालाई खवर गर्न घर पुगेका थिए ।
ठुलो बुवा अमर घर्ती पुग्ने वेला प्रविण भने बाहिर निस्केको आन्द्रालाई टिसर्टले ढाकेर बसेका थिए । बच्चालाई यस्तो अवस्थामा देखेपछि उनले ढिला नगरी हातमै राखेर सडक सम्म पुर्याएको बताए ।
बच्चाको अवस्था हेर्दा त आशै मारिसकेका थियौ, अमरले भने, डाक्टर र अस्पतालले गर्दा बच्चा बच्यो । धेरै नै खुशी लागेको छ । साँचिक्कै डाक्टर भनेका भगवान नै हुँदा रहेछन् ।
विपन्न आर्थिक अवस्थाका प्रविणका वुवाआमा भने कमाउन भारत पुगेका छन् । उनीहरु तीन महिना अघि मात्रै त्यहाँ गएका थिए ।
राराखबर । २०८२, ३ श्रावण शनिबार