स्याकले समाज रुपान्तरणका लागि  तीस वर्षमा गर्यो एक अर्ब १९ करोड रुपैयाँ खर्च

 

सुर्खेत-  समाज जागरण केन्द्र स्याक नेपाल समाज रुपान्तरणका लागि  तीस वर्षमा एक अर्ब १९ करोड रुपैयाँ खर्च गरेको दावी गरेको छ ।  संस्थाले  ३१ औं वर्षमा प्रवेश गर्दे गरेको अवसरमा गरेको पत्रकार सम्मेलनमा विभिन्न निकायसँग सहकार्य, समन्वय गर्दै उक्त रकम खर्च गरेको जनाएको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २० करोड १८ लाख ४२ हजार ९६६ रुपैयाँ खर्च गरिएको संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले बताए ।  उनका अनुसार सुर्खेतका ६ वटा स्थानीय तहका २० वटा स्वास्थ्य संस्थामा किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि तालिम, सामग्री सहयोग र अनुगमन गरीएको छ ।

यस्तै गुमी, घुमखहरे, बाबियाचौर, सालकोट, मेहेलकुना, कुनाथरी, तरङ्गा कटकुवा, घुस्रासहितका ९ वटा स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाणिकरण गरीएकोे छ ।

कर्णाली प्रदेशका २२ स्थानीय तहमा शिक्षा क्षेत्र योजना निर्माणमा प्राविधिक सहयोगमा गरिएको छ भने  ३ सय १२ विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि सहयोग गरिएको छ ।

 स्याककी अध्यक्ष मिना तिवारीले लघुउद्यम र व्यवसायिक सीप विकास तालिमपछि परियोजनाको सहयोगमा व्यवसाय सञ्चालन गरिरहेका २४५ मध्ये १०४ उद्यमीले मासिक औसत १५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको बताइन ।

वराहताल र चौकुने गाउँपालिकामा अपाङ्गता सम्बन्धी प्रोफाइल तयार गरी अनुमोदन भइसकेको छ ।

यस वर्ष जोखिममा रहेका ३१ बालबालिकालाई बाल अनुदान कोषबाट सहयोग गरिएको छ । साथै सुर्खेत र डोल्पाका १०४ धार्मिक अगुवालाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बालविवाह, छुवाछुत, छाउपडीबारे अभिमुखीकरण गरिएको छ ।

वराहताल गाउँपालिकाका सामुदायिक वन, विद्यालय र अन्य स्थानमा ८ दशमलब ९४ हेक्टरमा करिब १४ हजार ३ तिन सय बिरुवा वृक्षारोपण गरिएको छ।

रुकुम पश्चिमको चौरजहारी र त्रिवेणी गाउँपालिकामा ४ सय घरधुरीमा शौचालय मर्मत र २ सय ६ घरधुरीको पुनर्निर्माणपछि ३ हजार ८ सय २५ जनाले सुरक्षित शौचालय प्रयोग गरिरहेका छन्।

गत वर्ष संस्थाका कार्यक्रम र आन्तरिक स्रोतमार्फत १० हजार ९सय ८ दलित, १३ हजार ५ सय ८१ जनजाति, ३० हजार ८ सय ३५ महिला, २ सय ७२ अपाङ्गता भएका, १७ एचआइभी संक्रमित, १ सय ४६ एकल महिला र २ एलजिबिटीआइक्यू सहित ५७ हजार १ सय ८४ जना लाभान्वित भएका छन् ।

संस्थाले एकीकृत नमुना गाउँ अवधारणा अनुसार वीरेन्द्रनगर वडा नं १३ को आफर एकिकृत नमुना बस्तीका ७४ घरधुरीमा पारिवारिक विकास योजना, एक घर एक फिल्टर, सरसफाइ, नक्साङ्कन, जीवनवृत्ति विकास योजना लगायतका कार्यहरू नगरपालीका, वडा र समुदायको सहकार्यमा गरिएका छन्।

नमुना गाउँका सूचक पूरा गर्न टोल सरसफाइ, झोलुङ्गे पुल मर्मत, खानेपानी पाइपलाइन पुर्ने, फोहर व्यवस्थापन, भाँडा सुकाउने चाङ्ग जस्ता अभियानहरू स्वयंसेवी रूपमा सञ्चालन भइरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया