नि:शुल्क जलन उपचार शिविरमा पहिलो दिनमै ११ जनाको सफल शल्यक्रिया

सुर्खेत- ‘नबिल निःशुल्क जलन उपचार शिविर’शिविरको पहिलो दिन  १८३ जना बिरामीहरूको स्वास्थ्य जाँच गरिएको छ भने जटिल समस्या भएका ११ जना बिरामीहरूको सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ ।

नबिल बैंकको आयोजना, फेक्ट नेपालको प्राविधिक सहयोग र प्रदेश अस्पताल सुर्खेतको समन्वयमा आर्थिक अभावका कारण उपचार पाउन नसकेका जलन पीडितहरूका लागि सुर्खेतमा तीन दिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ भैरहेको छ ।

चैत्र २९ गतेसम्म सञ्चालन हुने यस शिविरले जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका तर उपचार खर्च जुटाउन नसक्ने विपन्न नागरिकलाई लक्षित गरेको छ।

बैंकका अनुसार शिविरमा बिरामीहरूको प्रारम्भिक परामर्शदेखि आवश्यक शल्यक्रियासम्मका सबै सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ।

जटिल बिरामीलाई काठमाडौँ रिफर गरिने

सुर्खेतमा उपचार सम्भव नहुने वा थप जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिने व्यवस्था मिलाइएको छ। कीर्तिपुर अस्पतालमा हुने उपचार र त्यसको सम्पूर्ण खर्च समेत नबिल बैंकले नै व्यहोर्ने बैंकले जनाएको छ।

कस्ता बिरामीले सेवा पाउनेछन् ?

शिविरमा मुख्य गरी

  • आगोले पोलेर शरीरको एक भाग अर्कोसँग जोडिएको अवस्था (Post Burn Contracture)।

  • जलनका कारण हात वा खुट्टाका औँलाहरू टाँसिएका।

  • जन्मजात ओठ वा तालु चिरिएका व्यक्तिहरू।

  • जन्मजात औँला जोडिएका वा बढी औँला भएकाहरू।

  • पुरानो चोटपटकका कारण जटिल शारीरिक समस्या भोगिरहेका नागरिकहरू।

प्रदेश अस्पताल सुर्खेतमा सञ्चालित यस शिविरले कर्णाली र आसपासका दुर्गम क्षेत्रका जलन समस्या भएका विरामीहरुलाई ठुलो राहत पुगेको छ ।

जलनका कारण जीवन रोकिँदैन–उपचारले जीवनमा परिवर्तन ल्याउन सक्छ” भन्ने नाराका साथ आयोजना गरिएको   शिविरमा बिरामीहरूको प्रारम्भिक जाँच (छनौट शिविर) विभिन्न जिल्लाका स्थानीय स्वास्थ्य संस्थाहरूमा  भएको थियो ।

 नगर अस्पताल (आठबिसकोट, रुकुम पश्चिम), खाउली बजार नगर अस्पताल (भेरी नगरपालिका, जाजरकोट), जिल्ला अस्पताल (कालीकोट) र तातोपानी गाउँपालिका–३ को स्वास्थ्य चौकी (जुम्ला) जिल्ला अस्पताल (सल्यान), प्राथमिक स्वास्थ्य केन्द्र (थारमारे, सल्यान), त्रिवेणी स्वास्थ्य चौकी (भैसेखोर, दैलेख) र लयाँटी बिन्द्रासैनी स्वास्थ्य चौकी (चामुण्डा बिन्द्रासैनी, दैलेख) मा छनोट शिविर भएका थिए ।

यस्तै  बेलपाटा स्वास्थ्य चौकी (डुङ्गेश्वर, दैलेख), सालकोट आधारभूत अस्पताल (पञ्चपुरी, सुर्खेत), राकम स्वास्थ्य चौकी (सिम्ता, सुर्खेत) र मेहलकुना अस्पताल (गुर्भाकोट, सुर्खेत) मा पनि छनौट शिविर भएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया