सुर्खेत, असार ३१ गते ।
चिकित्सा क्षेत्र सुधारको विभिन्न माग राख्दै जुम्लामा विगत १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सुर्खेतका डाक्टरहरुले आग्रह गरेका छन्
। नेपाल मेडिकल एशोसियन सुर्खेत र जुम्लामा आवद्ध डाक्टरहरुले डा. केसीले उठाएको मागहरु नागरिकको पक्षमा भएकोले सवै क्षेत्रले समर्थन गर्नुपर्नेमा जोड
दिइएको छ ।
एशोसियन सुर्खेतका अध्यक्ष डा. नवराज केसीले डा. केसीले उठाएको माग विपन्न गरीव जनताको पक्षमा भएको दावी गर्नुभयो । उहाँले पछिल्लो समय छिटो छिटो पैसा कमाउने चाउचाउवाद मेडिकल क्षेत्रमा पनि हावी भएको र सरकार तिनीहरुकै पृष्ठपोषणमा लागेको जिकिर गर्नुभयो ।
एशोसियशन जुम्लाका अध्यक्ष डा. मंगल रावलले चिकित्सा क्षेत्रको सुधार सरकारले नै गर्नुपर्नेमा उल्टै डा. केसीलाई सरकारले यातना दिइरहेको आरोप लगाउनुभयो । मप क्षेत्रीय अस्पतालका मेसु डा. डम्बर खड्काले नेताहरु उपचार गर्न विदेश जाने, तर जनता उपचार गर्ने कलेज मोफसलमा खोल्नुपर्छ, सस्तो हुनुपर्छ भन्ने आवाज उठाउने डा. केसीको मागलाई सरकारले किन बेवास्ता गरेको भनी आक्रोश पोख्नुभयो । उहाँले चिकित्सा क्षेत्रको सुधारको माग उठाउने डा. केसीलाई सरकार र सांसदहरुले हाँसोको पात्र बनाएर अपमान गरेको उल्लेख गर्नुभयो ।
यसैवीच नेपाल मेडिकल एशोसियशन सुर्खेतले डा. केसीको अवस्था चिन्ताजनक भएकोले अविलम्ब सरकारलाई मागहरु सुनुवाई गर्न आग्रह गर्दै यदि सुनुवाई नभएमा डाक्टरहरु कठोररुपमा उत्रने चेतावनी दिएको छ । संघ सुर्खेतका अध्यक्ष डा. नवराज केसीले एक विज्ञप्ति जारी गरी अझैपनि सरकारले माग सम्बोधन नगरेमा कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले आकस्मिक बाहेक अन्य सवै सेवा वन्द गराउने चेतावनी दिएका छन् ।
राराखबर । २०७५, ३१ असार आईतवार