धामीले नै पठाउँछन् अस्पताल

कालिकोट : पलाँता–१ का गोरख बुढा स्थानीय मष्टो देवताका मुख्य धामी हुन्। रुघाखोकीदेखि अन्य रोग लाग्दा छरछिमेकी झारफुक गर्न उनीकहाँ आउँथे। तर, उनीकहाँ ‘हेराउन’ आउनेहरू अस्पताल जान थालेका छन्। धामीले नै ‘अस्पताल जानू’ भन्न थालेपछि स्थानीय अचम्ममा पर्दै आएका छन्।

आफूलाई विश्वास गरेर आउने बिरामीको मन–शान्तिका लागि ‘हेर्ने’ गरेको उनको भनाइ छ। तर, अस्पताल नगई सञ्चो नहुने भन्दै उनले स्वास्थ्य संस्था पठाउँछन्। उनी पनि बिरामी हुँदा उपचारका लागि स्वास्थ्य संस्था जान थालेका छन्। ‘पहिले मकहाँ आउने सबै बिरामीलाई काँपेर हेराउने गर्थें’, उनले भने, ‘कतिलाई सञ्चो भएको आभास हुन्थ्यो तर कतिपय सञ्चो हुन्थेनन्। अहिले हेराउन आउनेलाई झारफुक त गर्छु। तर, छिट्टै सञ्चो भो भने खर्च नगर्नू, सुधार आउने लक्षण नदेखिए अस्पताल जानू भन्ने गरेको छु।’ सामान्य बिरामी भए मात्र केही समय कुर्न लगाउने र जटिल देखिए अस्पताल पठाउने गरेको उनको भनाइ छ।

पलाँता–९, थिर्पुमा आयोजित एकीकृत घुम्ती शिविरमा उनी पनि उपचार गर्न आए। पहिलो पटक धामी नै उपचार गर्न शिविरमा देखेपछि अन्य स्थानीयले पनि स्वास्थ्य परीक्षण गराए। प्रहरी अस्पताल महाराजगन्जबाट आएको विशेषज्ञ सम्मिलित टोलीले सेवा दिएको छ। ‘देवताले रोग निको पार्न नसक्ने रहेछन्’, बुढाले भने, ‘हिजो अरूका रोग निको हुन्छ भन्थें तर बुझेको रहेनछु। आज आफ्नै समस्या लिएर डाक्टरकहाँ आएको छु, निको हुन्छ भन्ने विश्वास पनि छ।’

कर्णालीका विकट क्षेत्रका नागरिक बिरामी हुँदा धामीको शरणमै जाने गरेका छन्। केही धामीले आफैं सञ्चो हुन्छ भन्ने गरे पनि केहीले भने सञ्चो हुने आश्वासन दिएर अस्पताल पठाउँछन्। बाजुरा गोत्रीका नरेन्द्रबहादुर शाहीले देउताको भर पर्दा धेरैले ज्यान गुमाउनुपरेको देखेर अस्पतालको उपचार सेवाप्रति लागेको बताए। कालिका माईका पुजारी उनी पनि शिविरमा उपचारका लागि आएका थिए।

‘धेरैलाई काँपेरै निको पारेको अनुभूति हुन्थ्यो तर आफूलाई रोगले च्याप्दा भने निको पार्न सकिएन’, उनले भने, ‘बुझ्दै जाँदा रोगले धामी नभन्ने रहेछ।’ केही वर्षदेखि अस्पतालकै सेवा लिइरहँदा आफूलाई कुनै समस्या नभएको उनले सुनाए। आँखा नदेख्ने, शरीर दुख्ने समस्या लिएर उनी छिमेकी जिल्लाको शिविरमा आइपुगेका हुन्।

धामीमार्फत बिरामीलाई अस्पतालको पहुँचमा ल्याउन चेतनामूलक कार्यक्रम गरिँदै आएको छ। त्यस्ता कार्यक्रममा सहभागी धामीको मन्त्र नै ‘रोग लागे अस्पताल जानू’ बनेको छ। शाही र बुढा यस्तै कार्यक्रममा सहभागी भएपछि नै बिरामीलाई अस्पताल पठाउने गरेको उनीहरूको भनाइ छ।

शनिबारदेखि दुई दिनसम्म भएको शिविर सदरमुकाम पुग्न नसक्ने बिरामीका लागि अवसर बनेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। ‘यो शिविरबाट यहाँका नागरिक लाभान्वित भएका छन्’, उनले भने, ‘अधिकांश धामी नै उपचारका लागि आएको हुँदा अन्य नागरिक पनि बिरामी परेको खण्डमा अस्पताल आउने प्रवृत्ति स्थापित हुने देखिन्छ।’

शिविरमा १० सरकारी कार्यालयले एकैसाथ सेवाप्रवाह गरेका छन्। प्रहरीका अनुसार शिविरमा ३ सय ३७ जनालाई नागरिकता वितरण गरिएको, १ सय ९७ जनाको फोटोसहितको मतदाता नामावली दर्ता भएको र ५ सयसभन्दा बढीले उपचार सेवा लिए।अन्नपूर्ण पोष्टबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया