पहिरोले कैना सडक अबरुद्ध

बद्री पन्त
जाजरकोट २७, असार ।
जाजरकोटको नलगाड नगरपालिका स्थित छेप्का कैना सडक अवरुद्ध भएको छ । लगातारको बर्षातसंगै सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैना लगाएत स्थानमा पहिरो खसेर तथा सिस्नेरी स्थित हम्काखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको वडा अध्यक्ष प्रचण्ड ओलीले बताउनु भयो ।
पहिरोका कारण छेप्का देखि कैनाका लागि छुट्ने यातायातको साधन कालिमाटी छेप्कामा थन्किएका छन् । छेप्का कैना सडकको पहिरो ब्यबस्थापन तथा सडकको स्तरोन्नति नहुदा यात्रुलाई सास्ती भएको छ ।

सडकमा यातायात अबरुद्ध भएपछि नगरका २, ३,४, ६ वडाका टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ, गर्छिना, कुशे गाउँपालिका तथा बारेकोट गाउँपालिका लगाएत दुर्गम गाउका स्थानीयलाई पैदल हिड्न समेत वाध्यता छ । दुर्गम गाउँमा दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको कैनाका व्यापारी वीरेन्द्र खडकाले बताउनु भयो ।
खोलामा सडक पुल नहुदा तथा तारजाली, ढल निकास, ग्राभेल लगाएत कार्यको उचित प्रबन्ध नहुदा कच्ची सडकमा यातायात सन्चालन बन्द भएका छन । सडक बन्द हुदा दुर्गमका वासिन्दा मर्कामा परेका छन् ।
सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु तथा विकास निर्माण सामाग्री लगाएतको ढुवानीमा समस्या भएको छ । सडकमा ६ महिना यातायात संचालन हुन बाँकी ६ महिना सडक बन्द हुने गरेको छ । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले गर्दा पनि समस्या बनाएको छ । बर्खामा हिलाम्मे र हिउदमा धुलाम्मे सडकले जनताले सास्ती खेप्नु परेको हो ।
जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात संचालन हुन सकेका छैनन् । सदरमुकाम खलंगा देखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया