
बद्री पन्त
जाजरकोट ३० साउन ।
केही बर्ष अघि सम्म जिल्ला बाहिरबाट करोडौ मुल्यको तरकारी आयात गर्नु पर्ने जाजरकोटमा पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालय र अन्य संघ संस्थाले तरकारी खेतीको लागी किसानहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम संचालन गरेपछि मौषमी तथा बेमौषमी तरकारी खेतीबाट जिल्ला आत्मनिर्भर बनेको हो ।
आर्थिक वर्ष ०७२÷०७३ मा जिल्लामा ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ ।
जिल्लाको ८ सय २५ हेक्टर क्षेत्रपmलमा ११ हजार ५ सय ५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
त्यस मध्य २ हजार ८ सय ८७ मेट्रिक टन तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।
जिल्ला बाहिर निर्यात भएको तरकारीबाट ८ करोड ६६ लाख रुपैया जिल्लामा भित्रिएको बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताउनुभयो ।
जिल्लामा ९२ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न रहेकोमा तरकारी खेतीमा १० प्रतिशत जनसंख्या सलंग्न रहेको बरिष्ठ कृषि विकास अधिकृत रोकायले जानकारी दिनु भएको छ ।
जिल्लामा बर्षे तरकारी, मौसमी तरकारी तथा वेमौसमी तरकारी खेती हुने गरेको छ ।
थोरै लगानीबाट छोटो समयमै राम्रो आम्दानी तथा उत्पादन हुने भएपछि तरकारी खेतीमा कृषकको आर्कषण बढ्दै गएको हो ।
कार्यालयले जिल्लाको खलंगा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क,पाँचकाटिया, तिमिले, किटेनी, झाप्रा,सीमा क्षेत्रलाई तरकारी खेतीको लागी पकेट क्षेत्र घोषणा गरेको छ ।
उत्पादित तरकारी जिल्ला बाहिर सुर्खेत, दैलेख, नेपालगञ्जमा निर्यात हुदै आएको छ भने सदरमुकाम खलंगा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडिज्यूला, चौरजहारी, सल्लीबजार लगाएतका क्षेत्रहरुमा आपूति तथा खपत हुने गरेको रोकायले जानकारी दिनु भएको छ । ब्यबसायिक तरकारी खेतीले गाउँको मुहार फेरेको छ ।
कृषिमा आधुनिकीकरण गर्न कार्यालयले विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।प्लाष्टीक घर वितरण, ५० प्रतिशत अनुदानमा हाइव्रिट विउ वितरण, स्थानीय स्थरमा हाटबजारको व्यवस्थापन तथा संकलन केन्द्रको व्यवस्थापन सन्चालन, साना तथा सिमान्तक्रित कृषकलाइ तरकारीको कम्पोजिट किट वितरण, कृषकको क्षमता बृद्धि गर्न तालिम गोष्ठी प्राविधिक सहयोग उपलब्ध गराउदै बरिष्ठ कृषि विकास अधिकृत रोकायले जानकारी दिनुभयो ।
जाजरकोटका किसानले काउली, बन्दा, टमाटर, गोलभेडा, काँक्रा, फर्सि, लौका, घिरौला, आलु प्याज लगाएत मौषमी तथा बेमौसमी तरकारीको खेती उत्पादन गदै आएका छन ।
जिल्लामा पाँच सय बढी व्यवसायीक तरकारी खेती कृषकले व्यवसायिक रुपमा खेती गर्दै आएका छन । एक कृषकले बार्षिक २ लाख देखि ५ लाख सम्म आम्दानी गर्ने गरेका छन । परम्परागत खेति गर्दै आएका कृषकहरु छोटो समयमा धेरै आम्दानी हुने भएपछि तरकारी खेतीमा आर्कषण बढेको देखिन्छ ।
परम्परागत खेती बालीले जीवन निर्वाह गर्न मुस्किल भएपछि कृषकहरुले तरकारी खेतीमा जोड दिदै आएको छन ।
ब्यबसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आम्दानी राम्रो भएको कृषक मनबीर रोकायले बताउनु भयो ।
प्ररम्परागत रुपमा धान, मकै, गहुँ, जौं, कोदो, फापर खेती गर्दै आएका जिल्लाका कृषकहरु आजभोली १२ महिना तरकारी खेतीमा जुटेको पाइन्छ । तरकारीले घर व्यवहार चलाउन सहज हुदै आएको बताइएको छ ।
तरकारी खेति थालेपछि यहाँका कृषकको जीवन स्तरमा समेत परिवर्तन आएको छ । जिल्लामा सडक विस्थार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ । दुर्गम गाउँ वस्तिमा तरकारी खेतीको माग बढेको छ ।
त्यसैगरी जाजरकोटमा ४१ करोड ६४ लाखको आलु उत्पादन भएको छ । ९ सय ८० हेक्टर क्षेत्रफल जमिनमा १६ हजार ६ सय ३६ दशमलव ४ मेट्रिकटन आलु उत्पादन भएको कार्यालयले जनाएको छ ।