बद्री पन्त
जाजरकोट १८, भदौं ।
जाजरकोट जिल्लामा पछेल्लो समय भैंसीपालन व्यवसाय लोप हुदै गएको छ । भैंसी पालक कृषकको संख्या घट्दै गएपछि व्यवसाय लोप हुदै गएको हो ।
जिल्लामा बढ्ढै गैरहेको बन अतिक्रमणले पनि भैंसी पालन व्यवसायमा समस्या पारेको छ । दिन प्रतिदिन बन जंगल मासिदै गएपछि भैंसीलाई खुवाउने घाँसको अभाव तथा चरिचण क्षेत्र नहुदा भैंसी पालन व्यवसाय घटेको हो । जिल्लाको १ नगरपालिका तथा २६ गाउँ विकास समितिमा भैंसीपालन व्यवसाय पछेल्लो समयमा हराउदै गएको छ । भैंसीका लागि चरण क्षेत्रको अभाव भएको भैंसी पालक कृषकको दरिवान रावलको भनाई छ ।
१०÷१५ बर्ष अगाडीसम्म भैंसी पालनको सम्भावना राम्रो थियो । एक जना कृषकका घरमा १५ वटा भन्दा बढी भैसी पालन गरेका हुन्थे । तर आजभोली १÷२ वटा मात्र भैसी पालेको देखिन्छ, उनले भने । अहिले आएर हराउन थालेको छ । भैंसी पालन व्यवसाय ढिला गरी फस्टाउँदै जाने गरेका कारण भैंसी प्रतिको कृषकको आकर्षण घटेको पाइन्छ । अन्य व्यवसाय भन्दा भैंसीलाई धेरै मेहनत गर्नु पर्ने र आम्दानी कमै हुने कृषकको, उनको भनाइ छ । भैंसी पालनको लागि पकेट मानिएको लहँ, डाडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्ला लगाएत गाविसमा भैंसीको संख्या घट्दै गएको छ ।
नयाँ पुस्ताका युवाहरुको विदेश पलाइन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले जाजरकोटमा भैंसी पालन व्यवसाय लोप हुने अबस्थामा पुगेको कृषक गोविन्द आलीको भनाइ छ । भैंसी पालक कृषकका जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सन्चालन नहुदा यो पेशा संकटमा परेको हो, उनले भने ।
जिल्ला पशु सेवा कार्यालयबाट दुर्गमका बास्तवीक भेंसी पालक कृषकसम्म पुग्न नसकेको पशु प्राविधिक धनबहादुर विकले बताए । पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायीक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशा लोप हुदै गएको हो, उनले भने । भैंसी पालन व्यवसाय लोप हुदा जिल्लामा दुध, दहि तथा घिउको अभाव खट्कीदै गएको छ, उनले भने ।
पशु कार्यालय सदरमुकाममै केन्द्रित छ, दुर्गम गाउमा पुगेको छैन । पशु चौपायहरुमा विभिन्न रोगको संक्रमण हुदा समेत कार्यालयबाट कृषकले सेवा पाउन नसकेको कृषक तेजबहादुर शाहीले बताए । भैंसीपालक कृषकले पशु कार्यालयबाट कुनै पनि सहयोग नपाउने गरेको भन्दै शाहीले गाउघरमा पनि सेवा पुर्याउन माग गरेका छन् । जाजरकोटमा ५ सय बढी भैंसीपालक कृषकले यो व्यवसाय गरेका छन ।