
ईश्वर अधिकारी
जुम्ला, २५ भदौ ।
पटमारा– ९ उर्थुका मुनबहादुर विष्टलाई यतिबेला स्याउ टिप्न भ्याइनभ्याई छ । उनको बगैंचामा १२ सय स्याउका बोट छन् । प्रत्येक सिजनमा स्याउ बेचेरै १२ लाख रुपैयाँ कमाउँछन् । ‘स्याउ टिपिदिए पुग्यो । खरिद गर्ने व्यापारीहरु बोटमै आइपुग्छन्, मुनबहादुरले भने ।
यो बर्ष जुम्लामा स्याउ उत्पादन कम भएपछि व्यापारीले चलाखी गरे । स्याउ टिप्ने समय नहुँदै सुर्खेत, नेपालगन्ज र काठमाडौंबाट व्यापारीहरु किसानका बगैंचामा पुगे । बोटमै व्यापारी पुगेर किलोको ६० रुपैयाँ दिने भनेपछि किसानहरु लोभिए । किसानले टिप्न तयार नभएकै स्याउ विक्री गरिदिए । ‘पोहोर साल ३० रुपैयाँमा बेचेको हो, उर्थुकै रमा भण्डारीले भनिन्, ‘यसपाली ६० रुपैयाँ बोटमै पाएपछि सबै स्याउ बेचियो ।’
बेच्दा भ्याउ राम्रै पाइयो भन्ने सोचेका किसानहरु यतिबेला भने व्यापारीले चलाखी गरेको पत्तो पाउँदैछन् । कर्णाली अञ्चलका जिल्लाहरुमा कृषक समुहरुले उत्पादन गरेका कृषि वस्तुलाई मूल्य श्रृंखलामा आवद्ध गराउँन सहयोग गर्दै आएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका अनुगमन तथा मूल्याङ्कन विज्ञ कृष्ण थापा भन्छन्, ‘यो बर्ष स्याउ उत्पादन कम छ । ढिलो टिपेर बेच्दा स्याउले अझै राम्रो मूल्य पाउन्थ्यो । किसानलाई फाइदा हुन्थ्यो । तर, व्यापारीले चलाखि गर्दा किसान मर्कामा परे ।’ उनका अनुसार यसपटक किसानले ढिलो स्याउ बेच्दा बोटमै किलोको ८० देखि १ सय रुपैयाँसम्म पाउथे । जिल्ला कृषि विकास कार्यालयले भदौ दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानीका लागि अनुमति दिए पनि अधिकांश किसानले त्योभन्दा पहिले नै स्याउ बेचेर बगंैचा खाली गरिसकेका छन् ।
पूर्ण रूपमा पाकेको स्याउ स्वादिलो हुने, ग्राहकले रुचाउने र मूल्य राम्रो पाउने हुँदा काँचैमा नटिप्न भनिएको कृषि कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार गतवर्ष जिल्लाबाट १४ करोडको स्याउ निर्यात भएको थियो । यो वर्ष भने उत्पादनमा २५ प्रतिशतले कमी आए पनि राम्रो मूल्य पाएका कारण १६ करोडको निर्यात हुने अनुमान छ । जिल्लाका ३० वटै गाविसमा स्याउ फल्छ । ‘एक घर एक स्याउ बगैंचा अभियानले जुम्लाका सबै गाउँमा स्याउ किसान बढेका छन् । सुर्खेत नेपालगन्जबाट आएका मालवाहक गाडीमा यहाँको स्याउ ढुवानी हुन्छ । जिल्ला कृषि विकास कार्यालयले स्याउ ढुवानी गर्ने कार्टुनमा सहकारीलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।
जुम्लामा यो बर्ष ३ हजार १ सय हेक्टरमा खेती गरिएकोमा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ । ‘एक घर एक बगैंचा’ अभियानले स्याउ उत्पादनमा वृद्धि ल्याए पनि सहज यातायात सुविधा र उचित बजारीकरणको व्यवस्था हुन सकेको छैन ।
केही वर्ष अघिसम्म अर्गानिक स्याउ बिक्री नहुने र भइहाले पनि सस्तोमा बेच्नुपर्ने बाध्यता बेहोरेका यहाँका स्याउ किसानले यस वर्ष भने उचित मूल्य पाएका छन् । ५ वर्षअघि प्रतिकेजी ५ रुपैयाँमा बिक्री हुने स्याउ अहिले ६० रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्षसम्म व्यापारीले भनेकै ठाउँमा किसानले स्याउ पु¥याइदिनुपर्ने बाध्यता थियो ।
तर, यस बर्ष उत्पादन कम भएको र जुम्ली स्याउको माग बढेकाले व्यापारीहरू बोटमै खरिद गर्न पुगेका छन् । स्याउ उत्पादनमा गिरावट आएको र अहिले किलोको ६० रुपैयाँमा कारोवार भइरहेकोले पछि झनै महंगिने डरले व्यापारीले स्याउ निर्यात चाँडो गरेका हुन् ।
काँक्रेविहार दैनिकबाट साभार