जाजरकोटका खारेज भएका १६ सहकारीहरु नामसहित

बद्री पन्त
जाजरकोट ३१, भदौ
जाजरकोटका १६ वटा सकारी संस्था खारेजीमा परेका छन् । निष्क्रिय अवस्थामा रहेका १६ वटा सहकारीलाई डिभिजन सहकारी कार्यालय सुर्खेतले खारेज गरेको हो ।
डिभिजन कार्यालयमा बार्षिक प्रतिवेदन नबुझाउने, लेखापरीक्षण नगराउने र साधारण सभा नगर्ने सहकारी संस्था खारेजीमा परेका हुन । खारेजीका परेका सहकारीहरुमा बचत तथा ऋण, सहकारी, बहुउद्देश्यीय सहकारी, जनस्वास्थ्य सहकारी र जडिबुटी सहकारी रहेका छन् भने कतिपय संस्था नामै नसुनिएका छन् ।
डिभिजन कार्यालयले शैक्षिक समाज बचत तथा ऋण सहकारी संस्था खलंगा–१, युवा बचत तथा ऋण सहकारी संस्था झाप्रा–२, जनजागरण बचत तथा ऋण सहकारी संस्था पजारु–८, मौरीडाँडा महिला बचत तथा ऋण सहकारी संस्था सुवानाउली–५ तथा जनसेवा बचत तथा ऋण सहकारी संस्था दशेरा–७ लाई खारेज गरेको हो ।
imagesयस्तै भगवती बचत तथा ऋण सहकारी दशेरा–१, जलजला बचत तथा ऋण सहकारी संस्था पुन्मा–८, नहकुली बहुउद्देश्यीय सहकारी संस्था खलंगा–२, नवजागरण बहुउद्देश्यीय सहकारी संस्था कोर्ताङ–४, तिलेन बहुउद्देश्यीय सहकारी संस्था डाँडागाउँ–४, धुपीगैरा बहुउद्देश्यीय सहकारी संस्था खगेनकोट–६, थाई बहुउद्देश्यीय सहकारी संस्था दह–७, मासीखन्न बहुउद्देश्यीय सहकारी संस्था भगवती–८ समेत खारेजीमा परेको जिल्ला सहकारी संघ जाजरकोटका सचिव राजु केसीले जानकारी दिनुभयो ।
त्यसैगरी नवजीवन जनस्वास्थ्य सहकारी संस्था पुन्मा–३, लेकबेसी जडिबुटी सहकारी संस्था ढिमे–१, र महिला बालबालिका तथा ग्रामीण जनस्वास्थ्य सहकारी संस्था लिमिटेडलाई डिभिजन कार्यालय सुर्खेतले खारेज गरेको सचिव केसीले बताउनुभयो । सचिव केसीका अनुसार सहकारीको मर्म र भावना नबुझेरै स्थापना हुँदा सहकारी संस्थाहरुमा समस्या सिर्जना भएको छ । ‘सहकारीको अवधारणा र सहकारी शिक्षाको कमीले गर्दा हाम्रा केही सहकारीहरुमा समस्या आएको छ’, सचिव केसीले भन्नुभयो, ‘यसको उदाहरणका रुपमा डिभिजनले गरेको खारेजीलाई लिन सकिन्छ ।
खारेजीमा परेका अधिकांश सहकारी जिल्ला सहकारी संघमा आवद्ध नभएको केसीले बताउनुभयो । आफ्नै स्रोत र साधनभन्दा पनि कतैबाट केही कार्यक्रम पाउनका लागि गठन गरिएका सहकारीले जिल्लाको सहकारी क्षेत्रमा समस्या र चुनौती दुवै थपिएको छ । ‘कतैबाट केही कार्यक्रम पाउन्जेल सक्रिय रहने र त्यसपछि पूर्णतया निस्क्रिय रहने सहकारीहरु धेरै छन् । मुख्य समस्या भनेको परनिर्भर हुनु नै हो’ केसीले भन्नुभयो । खारेज गर्नुपूर्व डिभिजन सहकारीले सहकारी संस्थाहरुलाई जानकारी गराउने गरेको छ ।
जानकारी गराउने, सार्वजनिक सूचना गर्ने र तोकिएको समयमा सम्पर्कमा नआए पुनः ३५ दिन सूचना जारी गर्ने गरिएको डिभिजन कार्यालय सुर्खेतका अधिकृत देवीप्रसाद पौड्यालले जानकारी दिनुभयो । त्यति गर्दा पनि सम्पर्कमा नआएका सहकारीलाई खारेज गर्ने प्रावधान रहेको अधिकृत पौड्यालले बताउनुभयो । गत आर्थिक बर्षमा मात्र जाजरकोटमा २६ वटा नयाँ सहकारी दर्ता भएका थिए भने आव २०७२÷०७३ सम्म सहकारी संस्थाको संख्या एक ६९ रहेको छ ।

प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०९:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *