विश्व वातावरण दिवस २०१६ को सान्दर्भिकता र हाम्रो दायित्व

Hemraj copy
हेमराज बिष्ट

विश्वव्यापी रुपमा हाम्रो विग्रदो वातावरण संरक्षणका लागि विश्वव्यापी जागरण फैलाउने र यसको संरक्षणका लागी केही कार्य गर्न उत्प्रेरणा जगाउने मूल उद्देश्यका साथसन् १९७३ देखी हरेक वर्ष अंग्रेजी महिना जून ५ गते विभिन्न नाराका साथ संसारभर विश्व वातावरण दिवश मनाइदै आएकोछ । विश्वको विग्रदो वातावरण संरक्षणमा व्यक्ति, संस्था वा समाजले स्थानिय स्तरमा, राष्ट्रिय स्तरमा वा विश्व स्तरमै केही योगदान गरौं भन्ने सन्देश फैलाएर सोही कार्यमा सहभागी हुन अभिप्रेरित गर्ने यो दिवशको मुख्य उद्देश्य हो । यस बर्षको विश्व वातावरण दिवशको मूल नारा “Go Wild for Life” अर्थात वन्यजन्तुको अवैध शिकार र व्यापार नियन्त्रणमा केन्द्रित रहेको छ । यो नारालाई आत्मसाथ गर्दै वन्यजन्तुको अवैध व्यापार विरुद्धको लडाइ ( Fight against the Illegal Trade in Wild Life) लाई टेवा पुग्ने गरी “हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन”भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवश २०१६ मनाइदैछ ।
वन्यजन्तु संरक्षणमा राज्यले आफ्नो ठुलो लगानी गरेको हुन्छ । यसको अलावा वन्यजन्तुहरुको अवैध व्यापार नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतका संगठनहरु जस्तै बसाईसराई गर्ने प्रजाति संरक्षण (Conservation of Migratory Species-CMS) र दुर्लभ प्रजातिका वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार सम्बन्धी अभिसन्धी (Convension on International Trade in Endangered Species: CITES ) जस्ता संस्थाहरु कार्यरत छन । यी संस्थाहरुले अवैध शिकार रोक्न सम्बन्धित राष्ट्रहरुको क्षमता विकास गर्ने, कानूनी कारवाहीका लागि तालिम दिने, कानूनको पालना गराउन र जनचेतना बढाउनसहयोग गर्दै आइरहेका छन । तथापि वन्यजन्तुको अवैध शिकार र व्यापार नियन्त्रणमा अपेक्षा गरे जतिको प्रगति हुन सकेको छैन ।

batabaranमानिसहरुले परापूर्वकालदेखी नै वन्यजन्तुको शिकार गर्दै आइरहेका छन् । प्रारम्भमा यो कार्य आफ्नो परिवारको लालन पोषणका लागि गरिन्थ्यो भने वन्यजन्तुको शिकार गर्न घरमा वनाइएका सामान्य प्रकृतिका भाला, धनुष जस्ता हतियारहरुको प्रयोग हुन्थ्यो,जसकाकारण वन्यजन्तुको संख्या लोप नै हुने गरि घटेको थिएन । तर आधुनिक समाजको कथा भने वेग्लै छ ।
वन्यजन्तुको अस्तित्व संकटमा पार्ने कारणहरुः जलवायु परिवर्तन, वासस्थानको लोप, एक्कासी देखापर्ने रोगहरु बाहेकको मुख्य समस्या हो यिनीहरुको अवैध शिकार । लागु पदार्थको अवैध व्यापार र हात हतियारको अवैध निर्यात जस्तै वन्यजन्तुको अवैध व्यापार पनि विश्वमा अवैध धन आय आर्जनको एक महत्वपूर्ण क्षेत्र मानिन्छ । विश्वमा कतिपय आपराधिक र शसस्त्र आतंककारी समूहहरुले आफ्ना क्रियाकलापहरु वन्यजन्तुको चोरी निकासीबाट प्राप्त आम्दानीबाटसंचालन गरिराखेका छन । हात्तीको दाह्रा र गैंडाको खागको तश्करी अवैध हातहतियार र लागु पदार्थको व्यापार जत्तिकै प्रचुर आयआर्जनको क्षेत्रमानिन्छ ।
विश्वमा वन्यजन्तुको अवैध शिकार र यसको व्यापार कहालीलाग्दो छ । चराहरुको संरक्षणका लागि स्थापना भएको Bird Life International ले आंकलन गरे अनुसार बाल्कन क्षेत्र (अल्बानिया, बोस्निया/हर्जगोभिना, बुल्गेरिया,ग्रीस,रोमानिया,सर्भिया आदी देशहरु) बाट मात्र पछिल्लो समयमा २ करोड ५० लाख चराहरुको अवैध शिकार गरि Mediterranean क्षेत्र (अल्जेरिया, इजिप्ट, साइप्रस, इजरायल, लेवनान, फ्रान्स, इटाली, स्पेन, टर्की आदी देशहरु) मा लगिएको छ, जहाँ यिनीहरुलाई केहि शिकारीहरुले उपभोग गर्दछन भने बाँकी होटेल÷रेष्टुरेन्टहरुमा विक्री गरिन्छ । इटालियन भन्सारले केही समय अगाडि एउटा ठुलो ट्रकको खान तलासी गर्दा सर्वियाबाट मारेर ल्याइएका एक लाख मृत चराहरु बरामद गरेबाट समेत यो कुराको पुष्टी हुन्छ । आफ्ना घर पालुवा जनावरलाई नोक्सानी पु¥याएको वदलामा मरेको सिनोमा बिष मिसाई लायन (सिंह) र हायनालाई मार्ने कार्यका कारण अनाहकमा अफ्रिकामा गिद्दको संख्या लोप हुने अवस्थामा पुगेको छ । यसलेगर्दा अफ्रिकाले आफ्ना महत्वपूर्ण वन्यजन्तु र प्रकृतिलाई नष्ट गर्दै गएकोछ । गत बर्षमात्र उत्तरी गोलार्धमा पाइने सैगा (Saiga) नामक एन्टिलोप यसको सिंहका लागि हजारौंको संख्यामा मारिएका थिए ।वन्यजन्तुकोतश्करी जमिनमा मात्र सिमित नभई समुद्र अर्थात पानीमा समेत हुने रहेको छ । विश्वका विभिन्न समुन्द्रहरुबाट बार्षिक लाखौं टन माछाहरु अवैध रुपमा मारेर विश्व बजारमा पु¥याइन्छ, जसले गर्दा कयौं जलचर लोपोन्मुख अवस्थामा पुगेको बताईन्छ ।
नेपालले वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा पछिल्लो समय गैंडा संरक्षणमा उल्लेखनीय सफलताका साथ शून्य अवैध शिकार बर्ष (zero poaching year) मनाएको भएतापनि यसको दीर्घकालीन सुरक्षाको ग्यारेन्टी गर्न कयौं चुनौतीहरु रहेका छन् । बर्षेनी बरामद हुने दर्जनौ बाघ र चितुवाका छाला र हड्डी,विभिन्न प्रजातीका खपटा, कस्तुरीको विना, भालुको पित्त लगायतका आखेटोपहारहरुका कारण नेपालमा वन्यजन्तुको चोरी शिकारी प्रचुर मात्रामा रहेको भन्न सकिने अवस्था छ । सुर्खेत जिल्लाको मात्र विगत डेढ बर्षको तथ्याङ्क हेर्ने हो भने सो अवधिमा बाघको छाला थान–२, चितुवाको छाला थान–६, कस्तुरीको विना थान–४, र काँक्रेबिहारको जरायोको शिकार लगायतका जानकारीमा आएका घटनाहरुले यो जिल्लामा पनि वन्यजन्तुको अवैध शिकार गर्ने गिरोह सक्रिय रहेको प्रष्ट हुन्छ । सोही समयमा यस जिल्लामा मात्र एक दर्जन भन्दा बढी जरायो, रतुवा लगायतका वन्यजन्तु घाइते वनाई उपचारको क्रममा मरेका छन । वन्यजन्तुको चोरी शिकारी सम्बन्धीजानकारीमा नआएका अन्यकयौं अपराधहरु हुन सक्दछन् । स्थानिय गाउँलेहरु तथा सामुदायिक वनका उपभोक्ताहरुमा समेत वन्यजन्तु संरक्षण प्रतिको चासो जगाउन नसकिएको अवस्था पनि छ । वन्यजन्तुको शिकार गर्ने अपराधीहरुले वन जंगललाई अन्य किसिमले सकेत क्षति गर्ने गर्दछन । पछिल्लो समयमा सुर्खेत लगायतका जिल्लाहरुमा यत्रतत्र फैलिएको वन डढेलोमा पनि यस्ता अपराधीहरुको हात रहेको कुरा नकार्न सकिदैन ।

सुर्खेत जिल्लाको दक्षिणी भागमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भई सो सँग जोडिएका मध्यवर्ती क्षेत्रमा पर्ने गा.वि.स.हरुमा चोरी शिकारी बढी हुने गर्दछ । वन्यजन्तुको अवैध शिकार रोक्न समुदाय आफ्नै सक्रिय हुनु पर्दछ । चोरी शिकारीको वास्तविक पहिचान समुदायले समयमै गर्न सक्दछ र सो को गोप्य सूचना सम्बन्धीत निकायहरु जस्तै जिल्ला वन कार्यालय, प्रहरी वा प्रशासनलाई दिई सहयोग गर्ने हो भने त्यस्ता शिकारीहरुलाई र तिनीहरुले प्रयोग गर्ने वन्दुक लगायतका हातहतियार कब्जामा लिई अवैध चोरी शिकारी कार्य नियन्त्रण गर्न सकिन्छ । नजिकको समुदाय सचेत र सक्रिय हुने हो भने वन्यजन्तुको शिकार शून्यमा झार्न सकिन्छ । आजैका दिनबाट हाम्रो वन सम्पदा (वन र वन्यजन्तु) संरक्षणमा हामीहरु दृढताकासाथ जुटौ । यसो गर्न सकेमा मात्र हाम्रो वातावरण, हाम्रो विश्वको शुरक्षा गर्न सक्छौ र मात्र हामी र हाम्रा भावी पुस्ताहरु सुरक्षित रहनेछौ । यसो गर्न सकेमा मात्र यो दिवश मनाउनुको सार्थकता पूरा हुनेछ ।

लेखक जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख हुनुहुन्छ ।

प्रकाशित मितिः २२ जेष्ठ २०७३, शनिबार १४:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *