राजनीतिलाई स्वस्थ बनाउने ६ सूत्र

-660x330
विश्वप्रकाश शर्मा

राजनीति भनेको देशको मस्तिष्क हो । मान्छेका शरीरका अरू सबै अंग ठीक छन् तर मस्तिष्क ठीक छैन भने मानिस काम नलाग्ने बन्छ । उपयोगविहीन हुन्छ । राजनीति देशको मस्तिष्क रहेका कारण यसलाई स्वस्थ बनाउनैपर्छ । घरमा कन्या माग्न वर आइपुग्यो । ऊ सबै हिसाबले सुयोग्य छ । आयआर्जनका हिसाबले, शारीरिक हिसाबले र खानदानका हिसाबले पनि सबै ठीक छ । तर, एउटा पक्ष मस्तिष्क ठीक छैन भने ३२ होइन ६२ लक्षण भए पनि त्यो सुयोग्य वर मानिन्न । र, उसलाई कन्या दिइँदैन । त्यसरी नै राजनीतिलाई भरोसा गर्न र देशलाई समुन्नत बनाउन पनि मान्छेको शरीरको मस्तिष्कजस्तै देशकै मस्तिष्क राजनीति सही हुन जरुरी छ ।

१. स्वस्थ मनोविज्ञान
राजनीति स्वस्थ आफैँ बन्दैन । स्वस्थ राजनीतिज्ञका कारण राजनीति स्वस्थ बन्छ । राजनीतिको सुनाम वा दुर्नाम फैलिन बाहिरबाट होइन, भित्रैबाट सुधार हुनुपर्छ । राजनीतिक प्रणालीमा परिवर्तनले मात्र पुग्दैन । पञ्चायत ढाल्ने अनि पञ्चजस्तो मनोविज्ञान बनाउने, राजतन्त्र बिदा गर्ने तर आफू राजा बन्ने बाटो समात्ने हो भने राजनीतिले स्वस्थ बाटो लिन सक्दैन । त्यसैले आज राजनीतिमा राजतन्त्रबाट गणतन्त्रमा गएको यो अवस्थामा मनोविज्ञान पनि त्यही ढंगको बनाउनुपर्छ ।

संसदीय लोकतान्त्रिक अभ्यासको विषय हाम्रो हिँड्ने बाटो हो र यसलाई संस्कारमा ढाल्नका लागि लोकतान्त्रिक अभ्यासले मात्र पुग्दैन । अभ्यासबाट प्राप्त हुने परिणामलाई ग्रहण गर्ने लोकतान्त्रिक संस्कृति पनि जरुरी हुन्छ । त्यसैले राजनीतिमा म जित्न चाहन्छु भन्ने भावनाका साथसाथै जित्न चाहने आकांक्षासँगसँगै उपविजेता भएँ भने जित्नेलाई सहयोग गरेर जान्छु भन्ने मनोविज्ञानमा तयार हुनुपर्छ । लोकतान्त्रिक अभ्यासबाट प्राप्त भएको परिणामबमोजिम यसलाई ग्रहण गरेर जान सक्ने हृदय चाहिन्छ । विजेताले संसारै जितो भन्ने गर्नुु हुँदैन, उपविजेताले जीवनको अन्तिम चुनाव हारेँ भन्ने पनि सोच्नु हुँदैन । जित्नेले मन जित्नुपर्छ । हार्नेले मत जित्न मन जित्न नै बाँकी रहेछ भन्ने अनुभूत गर्न सक्यो भने यसले लोकतान्त्रिक पद्धतिलाई सौन्दर्य दिन सक्छ । र, राजनीतिलाई स्वस्थ बनाउने यात्रातिर अघि बढाउँछ ।

एउटा गीतमा भनिएको छ, ‘सबै भन्छन् उँभो बढ, आकाश छुनुपर्छ, म त भन्छु उँधो बग सागर पुग्नुपर्छ । तर, तिम्रा पाइला नरोकिने हुनुपर्छ खोलाजस्तै, नदीजस्तै बगिरहनुपर्छ, बगिरहनुपर्छ ।’ यहाँ भनिएझैँ हामीले माथि उठ्ने आकांक्षा बोकेर मात्र हुँदैन । माथि पुग्नका लागि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेर मात्र हुँदैन । बिपीले एक ठाउँमा भन्नुभएको छ, ‘जीवनको सफलता कुनै प्राप्तिमा मात्र होइन, निरन्तरको प्रयत्नमा हुन्छ ।’ त्यसैले राजनीतिलाई स्वस्थ बनाउने भनेको निरन्तरको प्रयत्नबाटै हो ।

२. प्रतिस्पर्धा प्रथमत: आफैँसँग
राजनीति गर्नका लागि कस्तो योग्यता चाहिन्छ भन्ने बडो अस्पष्ट छ, अमूर्त छ । धेरै पढेको चाहिन्छ, धेरै बलियो चाहिन्छ भन्ने होइन । धनी भएर, पद भएर सफल भइन्छ त्यो पनि होइन र माथि पुगेर सफल भइन्छ, त्यो पनि होइन । राजनीतिमा सफलताका निम्ति, परिचय र योग्यताका निम्ति एक होइन, अनेक कुरा गाँसिन्छन् । पढाइ प्रशस्त भएर मात्र पनि पुग्दैन । सँगै अनुभव र समन्वय गर्ने क्षमता पनि चाहिन्छ । क्षमता, दूरदृष्टि जस्ता पक्ष भएपछि नेता राजनीतिज्ञ बन्छ । राजनीतिमा सफलताको खोजी पद प्राप्तिले मात्र हो कि भन्ने देखिन्छ, यसलाई परिमार्जन गर्न जरुरी छ । लक्ष्मीप्रसादले लेखेजस्तो उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेजस्तोमा समाजमा सबैलाई डिस्टिङ्सन चाहिएको छ । सबैलाई छोराछोरी डाक्टर नै चाहिएको छ । रानजीतिमा सबैलाई प्रधानमन्त्री, मन्त्री नै चाहिएको छ । सबैलाई माथि पुग्नुपरेको छ । राजनीतिमा आकांक्षासँगै योग्यताको विकास र प्रतिस्पर्धासँगै अर्कोलाई स्विकार्ने संस्कृति आवश्यक छ । हामी अरूसँग प्रतिस्पर्धा गर्छौं तर आफैँसँग प्रतिस्पर्धा गर्न भने बिर्सन्छौँ । हिजोभन्दा आज म कति अब्बल भइरहेको छु, हिजोको मभन्दा आजको म कति परिष्कृत हुन सकेको छु भन्ने गम्भीर हेक्का राख्न जरुरी छ ।

३. ‘एज’ होइन ‘एजेन्डा’
एउटै मान्छे कतिपटक प्रधानमन्त्री, मन्त्री, सांसदसहितका पदमा बस्ने भन्ने विषयले पनि राजनीतिको स्वस्थतालाई बुझ्न मद्दत गर्छ । यस विषयको छलफललाई व्यवस्थापन गर्ने दिशामा हामी लागेनौ । ६० वर्षका पाकालाई हटाउने भन्छौा । तर, ‘एज’ले होइन, ‘एजेन्डा’ले राजनीति चल्नुपर्छ । पुस्ताले होइन, प्रवृत्तिले राजनीति चल्नुपर्छ । यस्तो गर्ने हो भने एक, दुई, तीन र चारको प्रणालीमा जान सकिन्छ । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक हुने व्यवस्था गर्नुपर्छ । यस्तो गर्न सकियो भने ६० मा रिटायर्ड हुनैपर्छ भन्नुपरेन । चारपटकभन्दा बढी सांसद बन्न पाइन्न, पहिलोपटक सांसद बन्दा मन्त्री बन्न पाइन्न भनेपछि राम्रो सांसद बन्नकै लागि व्यक्तिले पहल गर्छ । चारपटक सांसद बन्दासम्म मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति के बन्ने हो बनिसक्नुपर्छ । उमेरको यो परिकल्पना २० वर्षको हो । यस्तो हुँदा कोही ५० वर्षको उमेरमा प्रधानमन्त्री बन्छ भने कोही ६० वर्षको उमेरमा पनि बन्न सक्छ । कोही ७०/७५ मा पनि बन्न सक्छ । अमेरिकामा आउँदो नोभेम्बरपछि पद हस्तान्तरण गरेर बाराक ओबामा ५५ वर्षको उमेरमा घर फर्कंदै छन् । यो त्यहाँको सिस्टमले उनलाई बिदाई गर्दै छ भन्ने हो ।

राजनीति भनेको पाका जोन मक्केनलाई युवा बाराक ओबामाले हराउन सक्छन्, युवा देखिने प्रचण्ड पाका गिरिजाप्रसादको पछि लाग्न सक्छन् भन्ने पनि हो । यस्तो प्रणालीमा गयौँ भने अवसर पाएको छु, मैले सिर्जना देखाउनैपर्छ भन्ने बोध नेतालाई हुन्छ । त्यसैले हाम्रो राजनीतिलाई आगामी दिनमा स्वस्थ, सरल, सिर्जनात्मक र सहज बनाउन यो ‘थ्योरी’ अपनाउनु उचित हुन्छ ।

४. ३ दिन पार्टीका लागि, ४ दिन रोटीका लागि
म विद्यार्थी नेतालाई वेलावेला सोध्ने गर्छु, तपाईंहरू कोठाभाडा कसरी तिर्नुहुन्छ ? दालरोटी कसरी खानुहुन्छ ? आयआर्जनको बाटो के छ ? हाम्रो राजनीतिमा यस्तो सोध्ने र आर्जनको बाटो खोज्ने प्रचलन कम छ । कसरी कार्यकर्ता आफ्नै खुट्टामा टेक्दै छ भन्ने अभ्यास नै छैन । एउटा जमाना थियो, अग्रजहरूले जेल जानुपथ्र्यो । उहाँहरूले घरजम गर्न पाउनुभएन । दुई पैसा आयआर्जन गर्न पाउनुभएन । अहिले कसैले जेल जानुपर्दैन । राजनीतिलाई स्वस्थ र आफूलाई इमानदार बनाउने हो भने कार्यकर्ता व्यावसायिक बन्नैपर्छ । त्यसैले मैले भन्ने गरेको छु, ३ दिन पार्टीका लागि ४ दिन रोटीका लागि । पार्टीमा २४ घन्टे समय लगाइयो भने दिमाग क्रोनिक बन्छ । यस्तो दिमागले सिर्जना गर्न सक्दैन । रोटीका लागि आयआर्जन गर्नुपर्‍यो, आर्जनबाट गरिएको रोटी आमाबाबु, श्रीमान्–श्रीमती, छोराछोरीसँग बसेर खाइन्छ । परिवारलाई पनि समय दिने र पार्टीलाई पनि सहयोग गर्ने वातावरण यसरी बन्न सक्छ । तिमी के गर्छौ भन्दा राजनीति, तिम्रो कमाइ के भन्दा राजनीति । यो पक्ष भनेको डरलाग्दो र खतरनाक हो । यस्तो भए नेताले आफौ बिदा लिनुपर्छ कि पार्टीले बिदाई दिनुपर्छ । प्रेरित गरेर असल र आफ्नै खुट्टामा उभिने बनाउनुपर्छ । किराना दोकान होस् या कुखुरा पालन, तरकारी खेती होस् या कुनै सानो कुटिर उद्योग, राजीतिलाई स्वस्थ बनाउन राजनीतिक कार्यकर्ता यो वा त्यो व्यवसायमा गाँसिनैपर्छ ।

५. योगदानसँगै अब योग्यता
पार्टी निर्माणमा प्रयोग भइरहेको कार्यकर्ता राष्ट्र निर्माणमा काबिल हुन्छ कि हुँदैन भन्ने पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो । पार्टी निर्माण र राष्ट्र निर्माण अन्तर्संम्बन्धित छ, तर एउटै होइन । कुनै मान्छे शिक्षामन्त्री बन्नुपर्‍यो भने नेविसंघ वा अखिलमा राम्रो खटेको थिएँ भनेर पुग्दैन । ऊभित्र सीप, योग्यता र क्षमताको विकास हुनुपर्छ । म आफैँ नेविसंघको अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य भइसकेको छु । भोलि सांसद बनेर कुन मन्त्रालय चलाउन सक्छु भन्ने मेरो योगदानले होइन, योग्यताले निर्धारण गर्नुपर्छ । म या मजस्तै राजनीतिक कार्यकर्तामा मन्त्रालय हाँक्ने सुस्पष्ट भिजन र कमान्ड हुनुपर्छ । कि आफू योग्य हुनैपर्छ कि अर्को कुनै सुयोग्यका लागि बाटो छोडिदिनुपर्छ ।

कोही मन्त्री बन्दै गर्दा एक घन्टाअघि उसले थाहा पाउला, तर १०औँ वर्षदेखि उसले आफ्नो क्षमता र सीप तिखार्दै आउनुपर्छ । तयारी पहिलेदेखि नै गर्नुपर्छ । म मन्त्री बन्ने भएँ भने मसँग यो क्षमता छ, मलाई यो मन्त्रालय दिनुस् भनेर पार्टी सभापतिलाई भन्न सक्नुपर्छ । राजनीतिलाई स्वस्थ बनाउने नाममा विदेशमा जाने राजदूतलाई चाहिा संसदीय सुनुवाइ गर्नुपर्ने, तर राजदूत नियुक्तिको सिफारिस गर्ने मन्त्रीलाई चाहिा संसदीय सुनुवाइ गर्न नपर्ने ? राजदूतलाई योग्यता चाहिने, तर राजदूत छान्ने मन्त्रीको योग्यता नचाहिने ? उसको योग्यता पार्टीमा खटेको, गाउँमा गएको चुनाव जितेर आएको मात्र भए पुग्ने ? यो त एउटा प्रक्रिया मात्र हो, योग्यता होइन । योगदान हेरेर हिजो नेतृत्वको उत्पादन हुन्थ्यो, अब योग्यता हेर्नुपर्‍यो । अब योगदानको कदर त गरौँ, तर मुलुक हाँक्नका लागि योग्यताको खोजीलाई प्रधान विषय बनाऔँ । यति गरेपछि राष्ट्र निर्माणले गति लिनेछ, त्यो गतिसँगसँगै राजनीतिलाई स्वस्थ बनाउने मुद्दामा प्रगति हुनेछ

६. नागरिकको सचेत भूमिका
नागरिक पंक्तिको दुईखाले भूमिका हुनुपर्छ । एउटा, नागरिकले दुईतले घर बनाउन अनुमति लिन्छ । तर, चारतले घर ठड्याउँछ । अनि छतमा बसेर रानजीतिज्ञलाई गाली गर्छ– नेताहरू करप्ट छन् । एक दिन भूकम्प आउँछ र घर ढल्छ । दालचामल बेचिरहेको एउटा व्यापारी ती सामानमा मिसावट गर्छ र राजनीतिमा शुद्धताको खोजी गर्छ । गुदपाक बेचिरहेको व्यापारी अखाद्य पदार्थ मिसाउँछ र ‘पोलिटिक्स इज डर्टी गेम’ भन्दै राजनीतिलाई गाली गर्छ । त्यसकारण राजनीति गर्ने मान्छे यही भीडबाट आएको हुनाले जरैदेखि शुद्धता आवश्यक छ । समुद्रको पानी नुनिलो छ भने त्यहाँबाट नुहाएर निस्किएका सबै नुनिला हुन्छन् । त्यही समाजबाट आएको हुनाले कांग्रेस, एमाले र माओवादीमा एकैखालको समस्या देखिन्छ । त्यसकारण समाज नै शुद्ध गर्न नागरिक नै गम्भीर बन्नुपर्छ । नागरिकले मत दिादै गर्दा ख्याल गर्नुपर्छ कि हात मिलायो, नमस्कार फर्कायो, छोराको पास्नीमा आएको थियो भनेर मात्रै मतको निर्णय गर्नु हुन्न । जनताको प्रतिनिधि हुनका लागि उसको पृष्ठभूमि कस्तो छ ? घरमा बालश्रमिक पो राखेको छ कि ? श्रीमान्, श्रीमती, आमाबाबुलाई सम्मान र समय दिइरहेको छैन कि ? आफ्नै साँध जोडिएको गाउँको छिमेकीसित हार्दिकता छैन कि ? पढाइको हिसाबले योग्यता पुगेको छैन कि ? देश चलाउने योग्यता हासिल गरेको छैन कि ? चारित्रिक छैन कि ? खानपानको व्यवहार कस्तो छ ? पैसा गलत ढंगले कमाइरहेको छ कि ? आफ्नो एजेन्डाको कुरा गर्न छाडेर अरूलाई गाली गर्न पो मस्त छ कि ? यी सबै पक्ष जोखेर राजनीतिक नेतृत्व छान्नुपर्छ ।

अन्त्यमा,
नेपालको राजनीतिले बाटो लिने प्रयत्न गरेको छ । निराशा जरुरी देख्दिनँ । संसारका धेरै देश छन्, जहाँ विद्रोह जारी छन् । राज्य लडिरहेको छ । तर, नेपालमा बितेको एक दशकमा महत्त्वपूर्ण परिवर्तन भएका छन् । जुन परिवर्तन दुनियाँका लागि नमुना भएका छन् । हिंसाको ‘सेफ ल्यान्डिङ’ भएको छ । विद्रोही राज्यमा उपस्थित भएका छन् । बन्दुकको युद्ध सकिएको छ । निरंकुश राजतन्त्रबाट देश गणतन्त्रमा प्रवेश गरेको छ । काठमाडौंमा केन्द्रित एकात्मक राज्यप्रणालीको शक्ति संघीयतामार्फत बाहिर लिएर जाने प्रयत्न भइरहेको छ । राजनीतिक दलले सफलता हासिल गरिरहेका वेला अब राजनीति नै प्रधान एजेन्डा बन्न हुँदैन । संविधान कार्यान्वयनको काम सक्दै गर्दा देशलाई समृद्ध बनाउने, राजनीतिलाई स्वस्थ बनाउने एजेन्डामार्फत सामाजिक रूपान्तरण र आर्थिक विकासको एजेन्डा बन्नुपर्छ । राजनीति राम्रो बनाउन राजनीतिले राजनीतिलाई नै मुद्दा बनाउने विषय अब छोड्नुपर्छ ।
(शर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन्) नयाँ पत्रिकावाट सभार

प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०९:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *