खाँचो नयाँ मदनको, नयाँ राजनेताको

भनिन्छ, संसारमा तीन श्रेणीका मानिस हुन्छन् । पहिलो, व्यक्तिको बारेमा कुरा गर्ने, दोस्रो, घटनामा केन्द्रित हुने र तेस्रो, नयाँ विचार, खोज अर्थात् सृजनामा तल्लीन रहने । जो सानो घेरामा बाँच्न रमाउछ, जो परम्पराभन्दा माथि उठ्न सक्दैन, जसले परिस्थितिको ठोस विश्लेषण गर्न सक्दैन उ पहिलो र दोस्रोको गोलचक्करमा नै सीमित हुन्छ । यीनिहरुको संसारमा जनसंख्याको गणना भएपनि अन्य गणना हुँदैन । किनकी अरबौं मानिसहरु यसैमा रमाउँछन् ।

जसले प्रत्येक परिवर्तनको बिउ प्रश्न हो भन्ने ठान्दछ, जसले दुनियालाई बदल्ने कल्पना गर्दछ, जसले विश्वलाई नयाँ सृजना छोड्ने अठोट गर्दछ, जसले आफ्नालागि भन्दा पनि अरुका लागि आफूलाई समर्पित गर्दछ उनीहरु मात्रै तेस्रो श्रेणीमा पर्दछन् । अन्ततः उनीहरु मरेर पनि बाँचिरहन्छन् । कार्ल मार्क्स, अलवर्ट आइन्स्टाइन, महात्मा गान्धी, अब्राहम लिकन, नेल्सन मण्डेला त्यस्ता युगपुरुषहरु हुन् जो युगौं युगसम्म जिवित रहनेछन् । कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट स्थापित गर्न विश्व इतिहासमा त्यस्तै एउटा नाम हो-मदन भण्डारी ।

कम्युनिष्ट विचारधाराका नयाँ सूत्रधार

समुन्द्रको छाल र नदीको भेलसँगै जो पनि बग्छ तर छाल आइरहेको ठाउँमा उल्टो दिशाबाट यात्रा गर्ने आँट कमैमा हुन्छ । जतिबेला सोभियत रुसको समाजवादी सत्ता गर्ल्याम गुर्लुम ढल्यो । विश्वबाट कम्युनिष्ट बिचार समाप्त भयो भनेर हौवा पिटियो । त्यसैबेला नेपालका कम्युनिष्टहरु मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न मदन भण्डारीको नेतृत्वमा नयाँ मौलिक कार्यक्रम अगाडि सार्दै थिए । तत् समय कम्युनिष्ट आन्दोलन भित्र लोकतान्त्रिकरणको एजेन्डासहितको बाटो अँगाल्नु छाल आइरहेको विपरित दिशाबाट यात्रा गर्नु जस्तै थियो ।

Rashmi-Acharya

रश्मि आचार्य

जुन विचारलाई एकातर्फ अन्य कम्युनिष्ट घटकहरु (मूलतः आजको एमाओवादी) वर्ग समन्वयवादी, पूँजीवाद परस्त विसर्जनको बाटो भनेर आरोप लगाइरहेका थिए भने अर्को तर्फ पूँजीवादपंन्थीहरुबाट यी स्टालिनका पुच्छरहरु, एकदलीयताका पक्षधरहरु नक्कली कुरा गरिरहेका छन्, यिनीहरु लोकतन्त्रवादी हुनै सक्दैनन् भनेर गोयवल्स शैलीमा ढ्वाङ फुकिरहेका थिए । त्यस्ता कुप्रचारबाट मदन भण्डारी रत्तिभर बिचलित र उत्तेजित हुनु भएन । दुबै कोणबाट फैलाइएका अफवाहलाई जवाफ दिँदै नेकपा एमालेलाई जबज (जनताको बहुदलीय जनवाद)को बाटोमा हिँडाउने कठिन यात्रा उहाँले दृढतापूर्वक अगाडि बढाउनुभयो ।

पाँचौ महाधिबेशनमा झिनो मत पाएको जनताको जबज पछिल्लो महाधिवेशनबाट भारी मतले पारित भयो । केहि समय पछि सोहि जगमा जनताको अभिमतबाट निर्वाचित पहिलो कम्युनिष्ट सरकार नेकपा एमालेले नौ महिना चलायो । ‘आफ्नो गाउँ आफै बनाऔं’, वृद्ध भत्ता, नौ ‘स’ अभियान जस्ता लोकप्रीय कार्यक्रम मार्फत् विपक्षीहरुले फैलाएका आरोप गलत थिए भनि प्रमाणित गर्‍यो ।

यसरी एउटा कम्युनिष्ट घटक नेकपा एमालेले जनताबाट निर्वाचित भएर वैधानिक तवरले जनपक्षीय सरकार चलाएको एक बर्ष नपुग्दै अर्को कम्युनिष्ट घटक नेकपा माओवादी हिंसाको बाटो समातेर जंगल पस्यो । जनताको तागतलाई केन्द्रभागमा राखेको जबजलाई बिभिन्न लान्छना लगाउँदै ‘सेना नभएको पार्टी कम्युनिष्ट हुन सक्दैन’ भन्ने सूत्र घोकाएर उसले उठाएका बन्दुकहरुमा अन्ततः ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिले सदाका लागि ताला लगाइदियो । हजुरआमाको कोखबाट नाती जन्माउने माओवादी दृष्टिकोण पूर्णतः असफल सावित भयो । एमाओवादीले जतिसुकै अस्वीकार गरे पनि आज उनीहरुले हिँडिरहेको यात्रा जबजको वरिपरि नै छ । यसरी नेपालका कम्युनिष्टहरुलाई लोकतान्त्रिक मार्गमा हिँडाउने श्रेय मदन भण्डारीलाई नै जान्छ ।

जनआन्दोलनको जगः जबज

क्रान्ति पूर्व पनि कम्युनिष्टहरुले सत्ताको नेतृत्व गर्ने अवधारणा जबजले अंगालेको एउटा नयाँ अवधारणा हो । जसमा पहिलो, श्रमजिवी जनताको पक्षमा सदैव वकालत गर्ने कम्युनिष्टहरु सत्तामा पुग्न प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै जनताको मतद्वारा अनुमोदित हुनुपर्दछ । त्यो अनुमोदन आवधिक निर्वाचनको माध्यमद्वारा हुनुपर्दछ । दोस्रो, निर्वाचित भएपछि जनताको हित अनुकुल अधिकतम् प्रगतिशिल सुधारका कामद्वारा शक्ति सञ्चय गर्दै त्यसैको बलमा फड्को मार्नुपर्दछ । तेस्रो, शान्तिपूर्ण संघर्षबाट क्रान्ति सम्भव छ, यो विकल्प सम्पूर्णरुपले बन्द भएमा मात्र बलपूर्वक हस्तक्षेपको नीति अँगाल्नु पर्दछ ।

०६२/६३ को जनआन्दोलन सोहि विचारद्वारा निर्देशित थियो । आन्दोलनको सफलता पछिको यात्रा मदन भण्डारीले देखेको बाटो हुँदै अगाडि बढ्यो

विश्व कम्युनिष्ट आन्दोलनबाट सिकेको पाठ, अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रो मौलिक धरातलीय यथार्थतालाई केन्द्रभागमा राखेर मदन भण्डारीकै अगुवाइमा नेपालमा नयाँ बहस प्रारम्भ भएको थियो । अधिनायकवादी रुझानबाट आरोपित बिचारधारालाई जनताको बहुदलीय जनवादतर्फ मोड्ने यात्रा असाध्यै जोखिमपूर्ण थियो । मदन भण्डारीले साहस गरेर त्यो यात्रा प्रारम्भ गर्नुभयो । जडसुत्रवादमा अल्झिएर उहाँले त्यो यात्रा थालनी नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलन यतिबेला मृत्यु शैयामा छटपटाइरहेको हुने थियो । साइनिङपाथको दोश्रो संस्करण हाम्रै धर्ती बन्न पुग्दथ्यो ।

जडसुत्रवाद र विसर्जनवाद दुबैको खतराबाट बचाएर मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्न उहाँले देखाउनुभएको जबजरुपी बाटो ठोस परिस्थितिको ठोस विश्लेषण थियो । यस विचारले कम्युनिष्ट आन्दोलनलाई मात्रै जोगाएन लोकतान्त्रिक आन्दोलनलाई समेत ऊर्जा दियो । ०६२/६३ को जनआन्दोलन सोहि विचारद्वारा निर्देशित थियो । आन्दोलनको सफलता पछिको यात्रा मदन भण्डारीले देखेको बाटो हुँदै अगाडि बढ्यो । ०४७ को संविधानमा उहाँले राखेका आलोचनाका २७ बुँदा र ०६३ जेष्ठ ४ को संसदीय घोषणामा खासै फरक छैन ।

यसरी हेर्दा भन्न सकिन्छ- नेपाली म्याग्नाकार्टाको सुत्रपात मदन भण्डारीबाटै भयो । अन्ततः त्यहि जगमा टेकेर देशमा गणतन्त्र घोषणा भयो । जुन तथ्य घटनाक्रमले पुष्टि गरेको छ ।

खोजी नयाँ मदनको

नयाँ राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशबाट नयाँ बिचार र नेतृत्व जन्मन्छ । यो क्रम अगाडि बढेन भने समाजको गति अबरुद्ध हुन्छ । उत्कृष्ट बिचार छ तर सो अनुरुपको नेतृत्व भएन भने क्रान्ति अलपत्र पर्छ । हाम्रो परिवेश ठ्याक्कै यस्तै छ । हामीसँग मदन भण्डारीको बिचार छ तर मदन जस्तो नेतृत्व पुनः जन्मन सकेको छैन । संसारलाई दिशावोध गर्ने बिचार छ तर देश हाँक्ने कुशल अगुवाको अभाव छ । गुटका नेता दर्जनौं छन् तर सर्वस्वीकार्य राजनेताको ठूलो खडेरी छ । २१ औं शताव्दीको पहिलो क्रान्तिको गौरवगाथा छ तर शताव्दी सुहाउँदो राजनीतिक संस्कार विकास हुन सकेको छैन । त्यसैले राष्ट्रिय संकटको यस घडीमा स्पष्ट दिशावोधको लागि जन-जनले हरपल मदन भण्डारीलाई सम्झेका छन् ।

जनतालाई छिट्टै विश्वासमा लिन सक्नु, दुनियाँले मच्चाएका स्याल हुइयाँलाई मुखभरिको जवाफ दिनसक्ने उहाँको अदभुत क्षमता थियो । तर्कशिल, दुरदर्शी, निखर र जनउत्तरदायी शैली उहाँमा रहेको चुम्बकत्व हो । संसारलाई यसरी नयाँ विचार दिन सक्ने क्रान्तिदृष्टा मदनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दोस्रो कार्लमार्क्सको उपमा दया भावले प्रदान गरेका होइनन् । बिचारको ओझ नै त्यसको मूल कारण हो ।

नयाँ संविधान बनेर सम्वृद्धिको यात्रा प्रारम्भ भएको यस युगीन महत्वको घडीमा दृढ इच्छा शक्ति सहितको नयाँ मदन चाहिएको छ

यदि मदन भण्डारीको जन्म सिद्धान्तकारहरुको खानी युरोपमा भएको भए अथवा जबज युरोपबाट विकास भएको भए यो बिचार संसार हल्लाउने तहमा पुग्दथ्यो । सानो देशमा जन्मेपनि जबजको सौर्य दुनियाका कुनै बिचारभन्दा कम छैन । निष्कर्षमा भन्न सकिन्छ, हामी बिचारले निमुखा छैनौं र होइनौं पनि ।

हो, अहिलेको राजनीतिक संकटमोचनका लागि मदनको जस्तै आँट चाहिएको छ । भीडले लतार्नेभन्दा बस्तुनिष्ठ विश्लेषण गर्ने साहस चाहिएको छ । दुरदृष्टि चाहिएको छ । जनताको मनोभाव बुझ्न सक्ने फराकिलो सोचाइ भएको अगुवा चाहिएको छ । पक्कै हो, हामीलाई आ-आफ्नो पार्टी र गुटको डम्फु बजाउने नेताहरुको कमी छैन । बिहान, दिउँसो र साँझ धून फेर्ने राजनीतिक संगीतकारहरुको पनि कमी छैन यहाँ । खाँचो छ, सम्वृद्ध नेपालको खाका बोकेको नयाँ राजनेताको ।

भनिन्छ, प्रत्येक नयाँ संकटले नयाँ नेतृत्व जन्माउछ । नयाँ संविधान बनेर सम्वृद्धिको यात्रा प्रारम्भ भएको यस युगीन महत्वको घडीमा दृढ इच्छा शक्ति सहितको नयाँ मदन चाहिएको छ । उहाँका सपनाहरुलाई राष्ट्र तथा जनताको जीबनमा उतार्ने कामकाजी नेता चाहिएको छ । उहाँका परिकल्पनाहरुलाई जनताको जीबनसँग जोड्दा मात्रै जबजको सान्दर्भिकता पुष्टि हुनेछ र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने छ ।

२३ औं स्मृति दिवसको सन्दर्भमा जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन !

प्रकाशित मितिः ३ जेष्ठ २०७३, सोमबार ०८:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *