समाजवादः क्रान्तिपछि मात्रै कि अघि नै ?

 सन् १९४८ मा कार्ल मार्क्स एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र जारी गरेपछि समाजवादको बहस, छलफल, विस्तार र प्रयोगले व्यापकता पाउँदै गयो ।

त्यसो त कार्ल मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र लेख्नु भन्दा पचासौं वर्ष पहिलेदेखि नै यो ब्रहृमाण्डमा समाजवादको बारे बहस छलफल र केही प्रयोग गरिएको थियो । जुन काल्पनिक थियो । तिनै बहस छलफलहरुको जगबाट नै कार्ल मार्क्स एङ्गेल्सले वैज्ञानिक समाजवादको अवधारणा प्रस्तुत गरे ।

कुनै पनि सत्य-तथ्य पत्ता लगाउन त्यसको गहिराइसम्म पुग्ने बाटो अथवा अनुसन्धान पद्दति वा विधि अवलम्वन गरिएको हुन्छ । जसको माध्यमबाट सत्य हाम्रो अगाडि प्रकट भएको हुन्छ । आज हामीले स्वीकार गरेका सबै सत्यहरु र सबै ठीकहरु कुनै न कुनै अनुसन्धान पद्दतिबाट निकालिएका निष्कर्षहरु नै हुन् ।

त्यस्तै समाजवाद समाजमा हुने परिवर्तनका घटनाहरुलाई ऐतिहासिक भौतिकवादी पद्दतिबाट नापजाच गर्दा प्रकट भएको सत्य हो । समाजवाद पुँजिवादी सामाजिक व्यवस्थाको विकल्पमा प्रस्तुत गरिएको सामाजिक व्यवस्था हो ।

जहाँ मानवीय जीवनका आधारभूत आवश्यकता सहजै पूरा हुन्छन् । मानिसलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम सुनिश्चित गरिएको हुन्छ ।

नेपालमा समाजवादबारे सपना देख्न थालेको ६ दशकभन्दा धेरै भयो । पहिलो सपना राणाहरुको जहानियाँ शासन विरुद्ध लड्दै राजनीतिक पार्टी स्थापना गर्दा पुष्पलाल श्रेष्ठ र वीपी कोइरालाले देखेका थिए । वीपीको देवहासनसँगै नेपाली कांग्रेसले समाजवाद आˆनो पार्टीबाट झिकेर बागमती नदीमा बगाइदियो ।

संसारका पूजिँवादी देशहरुले गरेको भौतिक विकासबाट प्रवाहित हुँदै विपी को समाजवादलाई बिर्सेर खुला आर्थिक नीति अवलम्वन गर्दै नेपाली कांग्रेसले पुँजीवादी व्यवस्था अवलम्वन गर्‍यो । यतिबेला कांग्रेसलाई वीपीको समाजवाद नखाउँ भने दिनभरिको शिकार, खाउ“m भने कान्छो बाको अनुहार भन्ने उखानजस्तो भएको छ ।

माओवादीको जीवन मरणको लडाई र एमालेको तटष्टताका कारण नेपालको संविधानले  अन्ततः समाजवाद निर्माणको प्रतिवद्धता गरेको छ

नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा अटाएको एउटा शब्द समाजबादप्रति सुझाव संकलनका बेला नेपाली कांग्रेसका नेता कार्यकर्ताले ठूलो आपत्ति प्रकट गरे । कतिपय ठाउँहरुमा कांग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताहरु बीचमा त्यही शब्दलाई लिएर हात हालाहालको अवस्था समेत सिर्जना भयो ।

माओवादीको जीवन मरणको लडाई र एमालेको तटष्टताका कारण नेपालको संविधानले  अन्ततः समाजवाद निर्माणको प्रतिवद्धता गरेको छ । नेपाली कांग्रेसलाई समाजवाद कवाफको हड्डी भएको यो एउटा सानो घटना नै पर्याप्त छ ।

एकीकृत नेकपा माओवादीले पार्टीको अबको कार्यदिशा समाजवाद निर्माणको बनाएता पनि प्रष्टसँग कार्यक्रमहरु आएका छैनन् । बैठक, भेला, छलफल आदि इत्यादि सबैमा माथिबाट आउने नेता र तल सुनेर बस्ने कार्यकर्ता सबैको मुखबाट सजिलै फुत्त निष्कन्छ, समाजवाद ।

बैठकसँगै समापन हुन्छ समाजवाद र पुँजिवादी रेसमा दौडन्छ बैठकमा सहभागी सबैको जिन्दगी । के समाजवाद बैठकहरुमा वाकपटुताका लागि र बुद्धिविलासिताको विषय हो ? जवाफ हुन सक्ला, समाजवादी क्रान्ति सम्पन्न भएपछि आउने व्यवस्था हो कमरेड । त्यसोभए समाजवादी क्रान्ति सम्पन्न भएपछि मात्र अनुभूति गर्न सकिन्छ ? क्रान्ति सम्पन्न नहुँदासम्म जिन्दगी पुँजिवादी बाँच्नु पर्ने कुराचाँहि समाजवादी गर्नुपर्ने ? त्यस्तो भूल गर्नु हुँदैन ।

यो पुँजिवादी व्यवस्थाको विरुद्वमा समानान्तर समाजवादी कार्यक्रमको अभ्यास गर्नैपर्छ । समाजवादको अभ्यास गर्दैजाँदा आउने झडपलाई क्रान्तिमा बदल्ने सचेत पहलमदमी लिनुपर्दछ ।

क्रान्तिपछि समाजवादको नारा होइन, क्रान्तिका लागि समाजवादको अभ्यास गर्दै जाने योजना र कार्यक्रम बनाउन आवश्यक छ । सुरुवात केन्द्रबाट गरे पनि हुन्छ, कुनै एउटा गाउँबाट, जहाँ सम्भव हुन्छ, त्यहीँबाट आज नै अभ्यासको प्रकृया थाल्नुपर्छ ।

समाजवाद मानिसका जीवनका आधारभूत आवश्यकता सजिलै पूरा हुने सामाजिक व्यवस्था भएकाले आवश्यकता अनुसारको उत्पादन समाजवादको पहिलो शर्त हो । यसका लागि पहिलो कुरा  उत्पादन शक्तिमा फेरबदल र विकास गर्नु अनिवार्य छ ।

हरेक सम्वन्धहरुको फैसला आर्थिक सम्वन्धले गर्दछ भनेझै हरेक समाजको अवस्था उत्पादान समाजको आर्थिक अवस्थाले निर्धारण गर्छ ।

सबै प्रकारका समाजको आफ्नो उत्पादन  हुने गर्छ । र, सोही अनुसार सामाजिक सांस्कृतिक, संरचना र ब्यवस्थाको निर्माण हुन पुग्दछ । जस्तै आदिम समाजमा मानिस जगंलमा बस्थ्यो, प्रकृतिमाथि निर्भर थियो । प्रकृति उत्पादन शक्ति थियो । सोही अनुसारको आदिम समाज थियो ।

दास युगमा मानव श्रम उत्पादन शक्ति थियो र सोही अनुसारको समाज व्यावस्था थियो । सामन्तवादी समाजमा जमिन उत्पादन शक्ति थियो र सोही अनुसारको समाजिक व्यवस्था थियो । पुँजीवादमा पुँजी उत्पादन शक्ति हुने गर्दछ र सोही अनुसारको समाज निर्माण हुन्छ । त्यस्तै समाजवादी समाज निर्माण गर्ने प्रकृयामा उत्पादनको आधार के बनाइनेछ र कसरी प्रयोग गरिने छ । यो समाजवाद निर्माणको मुख्य सवाल हो ।

आज विज्ञान र प्रविधिको चमत्कारिक विकासले मानव जातिका लागी नयाँ नयाँ अवसरहरु प्रदान गरेको छ । विज्ञान र प्रविधिको विकासले मानव मष्तिक र मानव निर्मित यन्त्रहरुले एकाकार भएर काम गर्न थालेका छन् । हजारौ पानामा नअटाएका श्रव्य र दृश्य सामाग्रीहरु एउटा चिप्समा कैद भएको छ । मानव जातिका लागि आवश्यक सम्पूर्ण वस्तु सजिलै र छिटो उत्पादन हुन थालेका छन् । यी र यस्ता धेरै आविश्कार विज्ञान प्रविधिमा भएका छन् । यो समाजवाद निर्माणका लागि सुनौलो अवसर हो ।

समाजवादको अर्को विशेषता सुखी संसार निर्माण गर्नु हो । मानिसहरु धनी छन् र पनि खुशी छैनन् । गरीव त झन खुसी हुने कुरै भएन । त्यसो भए खुसी कहाँ छ ? समाजवादले त्यही खुसीको उत्तर दिएको छ । खुसी त जोड्दा वा घटाउँदा संभव छैन । खुसी त बराबरी वितरणमा छ ।

 सन् २०१५ मा वल्र्ड बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संसारको साढे ७ अर्व मानिसहरुमध्ये ९९ प्रतिशत मानिसहरुको हातमा जति सम्पत्ति छ । त्यसको बराबर १ प्रतिशत मानिसका हातमा सम्पत्ति छ

त्यसकारण के माओवादी पार्टीले आफ्नो सापेक्षतामा गाउँगाउँबाट सामुहिकतामा आधारित आवश्यकता अनुसारको उत्पादन र समानतामा आधारित वितरण प्रक्रियाको सुरुवात गर्दै समाजवादको अभ्यास गर्दै जाँदा के बिग्रेला ? जुन संविधान कार्यान्वयनको विषय पनि हो । सम्बृद्व नेपाल निर्माणको अवको प्रकृया पनि हो ।

सन् २०१५ मा वल्र्ड बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संसारको साढे ७ अर्व मानिसहरुमध्ये ९९ प्रतिशत मानिसहरुको हातमा जति सम्पत्ति छ । त्यसको बराबर १ प्रतिशत मानिसका हातमा सम्पत्ति छ ।

वल्र्ड बैंककै सन् २०१४ को तथ्याङ्क अनुसार यो ब्रहृमाण्डको साढे ३ अर्ब मानिसहरुको जति सम्पत्ति छ त्यो भन्दा धेरै सम्पत्ति केबल ८५ जनासँग मात्रै छ । यो वल्र्ड बैंकको तथ्याङ्कले पनि मुठ्ठीभरका मानिसहरुले बहुसंख्या मानिसहरुको शोषण गरेको स्रोत पुष्टि गरेको छ ।

शोषणमा आधारित यही पुँजिवादी व्यवस्थाको खिलाफमा समाजवाद सम्भव छ र अनिवार्य पनि छ । त्यसकारण समाजवादी समाजको मर्मअनुसार अभ्यास र गतिविधि गर्दै जाँदा आइपर्ने पुँजिवादीहरुसँगको अनिवार्य लडाइँ स्वीकार गर्नुपर्दछ ।

पुँजीवादको विरुद्धमा समाजवादको अभ्यास गरेका जनता समाजवादको रक्षा, प्रयोग र विस्तारका लागि स्वतःस्फूर्त आउनेछन्, समाजवाद अमर छ ।

प्रकाशित मितिः ३ जेष्ठ २०७३, सोमबार ०८:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *