मधेस र राष्ट्रियता

मेरो सम्पूर्ण बाल्यकाल पहाडी जिल्ला बाग्लुङमा बित्यो। बाग्लुङबाट हाईस्कुल सकिएपछि क्याम्पस पढ्न सिधै काठमाडौं लागेँ। त्यसैले मधेसको जनजीवनको अनूभूति गर्न पाइएन। बाल्यकालमा मधेसी मुलको मानिससँग भेट भएको पनि मलाई त्यति याद छैन। कतिपय पहाडका विद्यालयमा अंग्रेजी, गणित, विज्ञान पढाउने शिक्षक मधेस मुलका हुने गरे पनि मेरो विद्यालयमा कोही मधेसी थिएनन्। आठ कक्षामा पढ्दामात्र मधेस देख्ने अवसर मिल्यो। अनन्तसम्म फैलिएका तराईका फाँटहरु पहिलोपटक देख्दा म अचम्मित भएको थिएँ। डाँडाकाँडा र पहाडबिनाको पनि धर्ती हुँदो रहेछ, पानी पहाडबाट कल्लकाउँदो मात्र रहेनछ, धर्तीबाट फुटेर पनि निस्कदो रहेछ भन्ने परिरह्यो।

आईएसी पढ्दा एक दुई जनामात्र मधेसी साथीहरु भए पनि एमएस्सीमा भने बाक्लै थिए। म मधेससँग जति अनभिज्ञ थिएँ, उनीहरु पहाडसँग त्यति नै अनभिज्ञ थिए। शैक्षिक भ्रमणको क्रममा पोखरा, तानसेन, लुम्बिनी हुँदै काठमाडौं फर्किने योजना बन्यो। पोखरा हुँदै तानसेन पुग्दा थुप्रै चट्टाने भीरहरु काट्नुपर्छ जुन कुरा मेरा लागि खासै नौला थिएनन्। ती भीरहरुबाट बस हुइँकिँदा सडकबाट देखिने अत्यास लाग्दो भीरले मधेसी साथीहरुको होसहवास गुम्थ्यो। डरले आँखा चिम्लेर मुन्टो लुकाउँथे। तानसेनको श्रीनगर डाँडाबाट एकापट्टि देखिने तराईका फाँटहरु र अर्कोपट्टि देखिने पहाडका शृङ्खला नियाल्दै मधेसी साथीहरुले सोध्थे, ‘तिमीहरुले धान कहाँ फलाउँछौ हँ, धान नभएपछि खाना के खान्छौ?’ आखिर तराईको समथर मात्रै देखेकाहरुले पहाडै पहाडमा यस्ता प्रश्न गर्नु स्वाभाविक नै थियो।

हामीहरुबीच भौगोलिक रुपमा यतिधेरै भिन्नता हुँदा पनि हामी नजिकका साथी थियौं। सँगै उठबास गर्दा, एउटै थालमा खाँदा, पढ्दा, सिनेमा हेर्दा तँ मधेसको म पहाडको भन्ने कहिल्यै महसुस भएन। समय अगाडि बढ्दै गयो। एमएस्सी सकाएर म विदेशतिर लागेँ। कोही साथीहरु आफ्नो गाउँ पहाड लागे, कोही मधेस फर्के, त कोही काठमाडौंमै बस्ने निधो गरे। एमएस्सीपछि कलेजका ती साथीहरुसँगको संगत, सम्पर्क पातलो हुँदै गयो र लगभग सबै गायबजस्तै भइयो। अहिले फेरि सामाजिक सञ्जालको माध्यमबाट ती साथीहरुसँग सम्पर्क पुनर्स्थापना हुँदै गएको छ। तर मैले एमएस्सीमा छाडेका ती साथीहरु अहिले विचार र परिस्थितिका कारण होला धेरै फरक भएको अनुभूति गर्दैछु। नेपालको पछिल्लो चरणको राजनीतिले मलाई पहाडे बनाइदिएको छ भने मेरा ती साथीहरुलाई मधेसी बनाइदिएको छ। लाग्दैछ, त्यतिबेलाको जयराम अब जयराम रहेनन्, त्यतिबेलाको मनोज पनि अब मनोज रहेनछन्। राष्ट्रिय राजनीति हराउँदै गएर सुरु भएको जातीय, क्षेत्रीय, वर्गीय र मधेसी-पहाडी राजनीतिले भनौं वा परिस्थिति र दूषित बन्दै गएको राजनीतिले सबैलाई बदलिदिएछ। विश्व अनेकताबाट एकतामा जोडिँदै गर्दा हामी एकताबाट विस्तारै अनेकतामा विभक्त हुन पुगेछौं।

समय भनौं वा कर्म म जर्मन सरकारको पैसामा विद्यावारिधि सकाएर छोराछोरीको भविष्यका लागि भन्दै बेलायततिर थन्किएको छु। मेरो साथी मनोज घरखेत बेचेर भारतमा विद्यावारिधि सकाएर देशमै केही गरौं भनेर फर्केका छन्, तर बिडम्बना म पहाडे भएर छाती फुलाएर राष्ट्रवादी ठहरिएको छु, तर मेरो साथी मनोजको राष्ट्रियता भने यादव भएकै कारण कसीमा राखिएको छ। जर्मन सरकारको पैसाले गरेको मेरो विधावारिधि र बेलायत सरकारको दानापाना खाएको मलाई कसैले बेलायतपरस्त, जर्मनपरस्त भन्दैनन् तर मेरो साथी मनोजले आफ्नो सम्पति बेचेर भारत पढेकै कारणले भारतपरस्तको पगरी पाएका छन्।

मेरा पहाडे नेताहरु लाम लगाएर लैनचौरमा एउटा सह-सचिवस्तरको कर्मचारीलाई भेट्न तँछाडमछाड गर्दा मैले जवाफ दिनुपर्दैन, तर मधेसी नेताहरु लालुप्रसाद यादवको प्राङ्गणमा देखिँदा मेरो साथीलाई प्रश्न गरिन्छ। सीके राउतले देश फुटाउँछु भन्दा मेरो साथीले शिर निहुराउनुपर्छ। मेरा पहाडे नेताले अकुत सम्पत्ति कमाएर छोराछोरीलाई अमेरिका र युरोपमा पढाउँदा प्रश्न गरिँदैन। तर मेरो साथीको भतिज छात्रवृत्तिमा भारत पढ्न जाँदा दलालीको आरोप खेप्नुपर्दछ। म कुनै दल विशेषको विचारसँग सहमत भएकै कारणले राष्ट्रवादी ठहरिएको छु तर मेरोजस्तै विचार बोक्ने मेरो साथीलाई यति योग्यताले राष्ट्रवादी बनाउँदैन, किनकि ऊ मधेसी हो ।

मेरो पहिरनमा कुनै नेपाली पहिचान छैन र चाहिँदैन पनि किनकि म पहाडे हुँ र बेलायती पहिरनमा ठाँट्टिन्छु तर मेरो राष्ट्रियतामा कसैले प्रश्न गर्दैन, तर तराईको मौलिक धोतीमा सजिदा मेरो साथीको राष्ट्रियतमा प्रश्न गरिन्छ र भनिन्छ पारीको सिको गरेको। मेरा पहाडे नेताले अँग्रेजी टाई लगाएर देशको संविधानलाई साक्षी राखी सपथ खाँदा राष्ट्रियताको प्रश्न उठाइँदैन तर मेरो मधेसी साथीले ढाकाको टोपी लगाउँदा भनिन्छ, नयाँ जोगीले खरानी धेरै घस्छ।

मेरो साथीले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिबाट म घोरिन्छु, उसले आफ्नो राष्ट्रियता प्रमाणित गर्नुपर्ने के हो? आफैंले आफैंलाई प्रश्न गर्दछु। आखिर म सँग उत्तर हुँदैन। मधेसी नेताहरु र सीके राउतले गरेका गल्तीको भागी उसलाई किन बनाइन्छ। पहाडे नेताहरुको दोषको भागी किन म हुनुपर्दैन? आखिर मुलुकको शासनसत्तामा कसले कति दोहोलो काडे होलान् त्यसको कुनै लेखाजोखा हुनु पर्दैन र? दोस्रो जनआन्दोलनपछि आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न सबै दल मिलेर बग्रेल्ती गैरनेपालीलाई नागरिकता बाँडेको सिकार किन मेरो साथीमात्र हुनुपर्ने? भारतले नाकाबन्दी गर्दा, दसगजामा मधेसी नेताको गतिविधिले नेपाली जनताले दु:ख पाउँदा मेरो साथीलाई मात्र किन आँखा तर्ने?

फरक रङ्ग र वर्णको व्यथा मैले अहिले भोग्दैछु। म यतिखेर बेलायतको प्रख्यात युनिभर्सिटीमा प्राध्यापकजस्तो सम्मानित पेशामा छु। बेलायती र संसारभरका विद्यार्थीलाई विद्यावारिधि गराउँछु। गोराहरुलाई पढाउँदा म रमाउँछु। जब म विश्वविधालयको प्राङगण बाहिर आउँछु मेरो पहिचान केवल एउटा एसिएन गहुँगोरो वर्णको मान्छेमा सीमित भएको महसुस हुन्छ। बहुसंस्कृतिको सम्मान गर्ने बेलायतको सडकमा हिँड्दा मैले कुनै संकोच मान्नु नपर्ने हो, मलाई त्यो छुट पनि छ तर पनि मेरो वर्णले बेला-बेलामा आफूलाई झक्झकाउँछ। कथमकदाचित आफूलाई ठेस लाग्ने कुनै घटना भए भने पनि वास्ता गर्दिनँ किनभने यो मेरो देश होइन।

तर म सम्झिन्छु आफ्नै देशका गल्लीमा हिँड्दै गर्दा ‘मनु मखु मर्स्या खस’ जस्ता शब्दहरु सुन्दा मेरो साथीको मनमा के हुन्थ्यो होला। काठमाडौंको सडकमा फलफूल र तरकारी बेचेर श्रमजीवि गर्ने मेरो साथीको छिमेकी बृखलाललाई आफ्नै अगाडि काठमाडौंका भलाद्मी भनाउँदाहरुले गरेको अपमानबाट उसले कस्तो महसुस गर्थ्यो होला? तर पनि मेरो साथीले कहिल्यै पनि हार खाएन। पहिचान र आत्मसम्मानको लागि कुर्लीरह्यौ। तर अहिले ऊ आफ्नो दुनो सोझ्याउन मधेसको नाममा भारतसँगको सहयोगमा राजनीति गर्ने मधेसी नेताहरु र राष्ट्रियताको नाममा चिनको भरपर्ने पहाडे नेताको बीचमा मिचिएर थिलथिलो भएको छ।

राजनीतिमा देखिने हठले देशलाई बर्बादी गराएको हामीले बिर्सिसकेका छैनौं। २०४६ सालपछि कांग्रेसले देखाएको हठले देशलाई दस वर्षको जनयुद्धमा धकेल्यौं। यसले कांग्रेसलाई मात्र होइन, देशलाई कति घाटा पुर्यायो लेखा जोखा गरी साध्य छैन। ज्ञानेन्द्रको हठले उनीमात्रै होइन, राजसंस्था नै समाप्त हुनपुग्यो। आफ्नै हठले माओवादी दस टुक्रा भयो, अहिले उसको अस्तित्व खतरामा छ। अहिलेको राज्यसत्ताले लिएको हठ पहिलेका राजनीतिक हठभन्दा कयौं गुणा खतरा राष्ट्रियतासँग जोडिएको प्रश्न हो। यस्तो हठले दलहरु मात्रै होइन, हामी सबैको बर्बादी निम्त्याउन सक्छ। अनि कालु र बाघको कथामा जस्तो बाघ आयो बाघ आयो भनेर सधैं झुक्याउने सोझा गाउँलेले साँच्चिकै बाघले बाख्रा खाँदा कालुलाई साथ नदिएको स्थिति आउन सक्छ।

राजनीतिक स्वार्थको लागि राष्ट्रवाद, मधेसवाद, जातीवाद, समाजवाद, साम्यवाद, यो वाद ऊ वादका नाममा गरिबी, अशिक्षा र पिछडापनको फाइदा उठाएर झुट, गुट र फुटको राजनीति गर्ने मधेसी, पहाडे वा कुनै जाति विशेषका नेताका दिन अब धेरै दिन बाँकी छैनन्। किनभने सचेत नागरिकको संख्या दिनानुदिन बढ्दो छ र जनतालाई विभाजन गरेर राजनीतिक स्वार्थपूर्ति गर्नेहरु अबको राजनीतिक मियो बन्न सक्दैनन्। सधैं राजनीतिका नाममा जनतालाई फुटाएर राज गर्ने नेतृत्वपंक्तिको मनस्थिति नबदिलिएसम्म यस्तै अवस्थाको सिकार नेपाली जनता भइरहने छन्। त्यतिबेलासम्म विश्वास छ मेरो साथी मनोजको धैर्यको बाँध फुट्ने छैन।

(लेखक गैरआवासीय नेपाली संघका सल्लाहकार तथा पूर्वप्रवक्ता हुन्।)

प्रकाशित मितिः ३ जेष्ठ २०७३, सोमबार ०८:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *