संविधानसभाको पहिलो दिन प्रचण्डको सिटमा बसें

exअर्काको घरमा आठ वर्षको कलिलो उमेरदेखि दासी जीवन बिताएको अहिले पनि याद आउँछ मलाई। हिजोआज त आठ वर्षका बच्चालाई अभिभावकले नै पछि पछि लागेर खुवाइरहेको देख्छु। म जमिन्दारकहाँ कम्लरी बस्दा त्यही उमेरमा थिएँ।सबैभन्दा बढी यादचाहिँ जाडोका दिनहरुको आउँछ। मेरा जमिन्दारका छोराछोरी अगेनाको छेउमा बसेर लेखपढ गर्ने, चिया र खाजा खाने गर्थे। अनि खान्न भनेछन् भने केटाकेटीलाई कहिले कहानी सुनाउने त कहिले गाना गाएर खुवाउने। त्यो सबै दृश्य म परैबाट कहिले भाँडा माझ्दै त कहिले कुँडो पकाउँदै हेर्थें। कहिले घर पोत्दै हेर्थें त कहिले घाँस काट्दै हेर्थें।

‘त्यो खाँदै नखाने बच्चालाई किन जबर्जस्ती गरेका होलान् ? त्यही चिज मलाई खान दिए कति मिठो गरी खान्थेँ होला’ भनेर कल्पिन्थेँ। त्यस्ता दृश्य म हेरिरहन्थे र यस्तै सोचिरहन्थे। कहिल्यै खान पाउँदिन थिएँ।स्कुल जाने बेलामा सधँै ब्याग बोकेर उनीहरूलाई पुर्याउन जानु पथ्र्यो। मलाई पनि स्कुल जान मन लाग्थ्यो। तर, के गर्ने ?स्कुल जान उनीहरुलाई ढिलो भइदियो भने मैले उनीहरुलाई बोकेर कुद्नु पथ्र्यो। नत्र पिट्थे। कहिलेकाहीँ त्यो पछाडि बोक्ने ब्यागमा मेरो रहर यस्तरी जाग्थ्यो, अरु दिन बोकेर कुदाकुद गर्नुपर्ने त्यही ब्याग शनिबारको दिन बच्चाहरु खेल्न वा नुहाउन गएका बेला यसो बोकेर रहर मार्थें।

त्यतिबेला अहिलेजस्तो सबै कुरा त कहाँ मेरो दिमागमा थियो। के गर्दा मेरा जमिन्दार र जमिन्दारनी खुसी हुन्छन् भन्ने कुरा मात्र सोच्ने गर्थें।अहिले पनि एक दिनको याद छ। मलाई असाध्यै धेरै ज्वरो आएको थियो। टाउको असाध्यै दुखिरहेको थियो। एकदमै आमाको याद आयो। मेरो आमा आएर एकैछिन टाउकोमा हात राखिदिए पनि मलाई सन्चो हुन्थ्यो होला जस्तो लागिरहेको थियो। अनि डाँको छोडेर रुन मन लाग्यो। हामी कम्लरीलाई आमासँग सुत्ने अनुमति हुँदैन थियो। नुहाउन, राम्रो लुगा लगाउन पनि बर्जित थियो। ‘जुम्री’ र ‘झुत्री’ भनिन्थ्यो र सुत्नका निम्ति पनि सिँढीको मुनि वा सामान थन्क्याउने कोठामा मात्र पाइन्थ्यो।यस्तोमा ज्वरो आएको छ भने पनि रुन पाइँदैन थियो। ज्वरो आएको रात म सिरकलाई मुखभरि कोचेर हुँक्कहुँक्क गर्थें। त्यसरी मेरा बालापन जमिन्दारको घरमा बितेको थियो।अहिले चाहिँ त्यसरी बिताएकोमा केही केही कुराले मलाई खुसी पनि लागेको छ। किनभने थारुकै घरमा बसेको भए मैले यत्तिको नेपाली बोलेर तपाईँहरुसँग कुरा गर्न सक्दिन थिएँ।

मेरो १८ वर्ष यसरी निकै कहाली लाग्दो गरी बित्यो।मेरा बालापनका साथीहरु जमिनदारको पेट बोकेर कतिले आत्महत्या गरे। कतिले अहिले पनि त्यत्तिकै बिनाबाउका बच्चाहरु जन्माएर बसेका छन्। मेरो दिदीमाथि त्यस्तै घटना घट्यो। मेरो नन्दमाथि त्यस्तै घटना घट्यो। मेरा थुप्रै साथीहरुमा त्यस्ता घटना भए। र, ती घटनालाई चिर्दै, पन्छ्याउँदै विभिन्न खालका अवरोधहरु पार गर्दै आज म यस ठाउँमा तपाईँहरु सामु यो रुपमा उभिन सफल भएको छु। यो अनुभवमै पनि कहिले गर्व पनि महशुस हुन्छ कहिले दिक्क पनि लाग्छ। सभासद् भएर जब आएँ त्यो सभासद् भएर आउन पनि म कुनै कुलो फड्केजस्तो फ्याट्ट फड्को मारेर त पक्कै पनि आएको थिइनँ होला। त्यसमा पनि निकै मेहनत गरेकी छु। कमलरी आन्दोलनमा लागें। कमलरी आन्दोलनमा लाग्दा गाउँ निकालामा परेकी छु। थुप्रैपटक मेरा हात खुट्टा भाँचिदिए। कमलरी आन्दोलनमा लागुन्जेल जहिले पनि कतै न कतै मेरो जिउ निलो हुन्थ्यो। कतै कोतरेको हुन्थ्यो। कतै के हुन्थ्यो। सबैबाट गाली र पिटाइ खान्थेँ। मेरो गाउँको मलाई हेर्ने दृष्टिकोण नै फरक थियो। मसँग साथ लागेर हिँड्ने महिलाले त अब पिटाइ खाएँ भनेर जाने हुन्थ्यो। कसैले मसँग हिँड्न दिँदैन थिए। ‘त्यसले त आफ्नो श्रीमानलाई पनि जिती।यस्तासँग तिमीहरु हिँड्ने ?’ भनेर मलाई देखाइ देखाइ उनका बाबु आमाले उनका श्रीमानहरुले मेरै अगाडि पिट्नुहुन्थ्यो। अनि मलाई कतै देखे पनि बोल्नु हुँदैन थियो। देख्नासाथ मुन्टो बटार्नुहुन्थ्यो। ‘हेर नेताइनी आइ, नेताइनी आइ’ भनेर खिसी गर्नुहुन्थ्यो।

अहिले त्यो सम्झदा अचम्म लाग्छ। मलाई कुनै कुराको विश्वास गर्नुहुदैन थियो। अनि मचाहिँ कसरी विश्वास दिलाउन सक्छु भनेर निरन्तर प्रयास गरिरहन्थेँ। म त्यस मामलामाचाहिँ कमजोर भइनँ। ‘मैले यो गाउँको निम्ति के गरेपछि तपाईँहरू मसँग खुसी हुनुहुन्छ’ भनेर सोधेँ। एकजना दाइले ‘ल यो गाउँमा विजुलीबत्ती ल्या त अनि तेरो कुरा विश्वास गरौंला’ भन्नु भयो।अब त्यो विजुलीबत्ती कहाँबाट ल्याउने, कसलाई भन्ने हो केही पनि थाहा छैन। अनि एकजना वनको अध्यक्षलाई ‘मलाई यो गाउँमा विजुलीबत्ती ल्या भन्नुभएको छ। विजुलीबत्ती ल्याइस भने मात्र मेरी श्रीमतीलाई तँसँग हिँड्न दिन्छु भन्नुभएको छ। ल यसमा मलाई सहयोग गर्नुप¥यो’ भनेपछि उहाँले मलाई ‘समस्या छ तै पनि यसरी प्रयास गर्नुहोस्’ भन्नुभयो।

सुरुमा गाविसबाट सिफारिस चाहिँदो रहेछ। त्यसपछि विद्युतमा जाने… यस्तै यस्तै प्रकृया बताउनुभएको थियो। म निरन्तर हिँडिरहेँ। छ महिनापछि मैले मेरो गाउँमा पोल खसालेँ। अब पोल खसालेर मात्र त हुँदोरहेनछ। लाइनको निम्ति त तार पनि आउनु पर्दोरहेछ। उता गाउँलेहरुले त्यतिन्जेल ‘पोल खसालेर अब यसले नाटक गरी’ भन्न थालिसकेका थिए। मैले फेरि पनि तारको निम्ति निरन्तर प्रयास गरेँ। एक वर्षपछि मेरो गाउँमा बत्ती बल्न थाल्यो। त्यसपछि अलिकति विश्वास गर्न थाल्नुभयो। १८ जना कम्लरी बहिनीलाई कम्लरीबाट हटाएर ‘कम्लरी मुक्त गाउँ’ भनेर घोषणा गरेँ। फेरि समस्या के आयो भने मेरो गाउँका अधिकांश थारुहरु कमैया थिए। उहाँहरुसँग बस्ने बास पनि थिएन खाने गास पनि थिएन। उहाँहरुले पहिलेदेखि गर्दै आएको र जानेको भनेकै जमीनमा काम गर्ने हो। र, त्यो जमीन फेरि सबै अर्काको छ। अर्काको जमीन जोतेबापत् बल्ल त्यो जमिन्दारले उसलाई त्यो घरमा बस्न दिने। अनि छोरीलाई कम्लरी र छोरालाई कमैया दिएन भनेचाहिँ जमिनदारको जग्गामा श्रम गर्न नपाइने। त्यो भएको कारणले जब कम्लरी मुक्त भए त्यसपछि जमिन्दारहरु ‘बरु बाँझो रहे पनि रहन्छ तिमीहरुलाई हामीले हाम्रो जमिन जोत्न दिँदैनौं’ भन्न थाल्नुभयो। म त जमीन नभएपछि जंगलको छेउमा ऐलानी जग्गामा आएर बसेको थिएँ। त्यसैलाइ देखाउँदै जमिन्दारहरुले ‘अब सबैजना त्यही शान्ताको घर छेउमा गएर बस’ भन्न थाल्नुभयो। अनि स्वयं कम्लरीकै बाबुआमा राती राती रक्सी खाएर, खुकुरी देखाउँदै मलाई काट्न आउनु हुन्थ्यो। अनि त्यति भएपछि मेरो श्रीमान्ले ‘तैँले गर्दा नै यो सब भएको’ भन्नुहुन्थ्यो। त्यसपछि मलाई श्रीमान्को पिटाइ सुरु हुन्थ्यो। घरका मान्छेले पनि ‘तेरै कारणले हामीलाइ राम्रोसँग बस्न दिएनस्’ भनेर भन्नुहुन्थ्यो।

त्यसै क्रममा एकजना आसमानी चौधरी भन्ने हुनुहुन्थ्यो। उहाँले ग्रामीण महिला भन्ने संस्था चलाउनुभएको थियो। मैले धेरै अनुरोध गरेपछि उहाँले १८ जना बहिनीहरुलाई स्कुल जाने ड्रेस, कपी कलम दिनुभयो र ती बहिनीहरु स्कुल जान थाले। त्यसपछि अलि अलि मप्रति विश्वास पलायो।म निरन्तर भूमिहीनहरूको आन्दोलन जान्थेँ। त्यसै क्रममा दाङ जिल्लाको भूमिहीन मञ्चको अध्यक्ष भएँ। त्यसपछि राष्ट्रिय भूमिसुधार मञ्चको केन्द्रीय उपाध्यक्ष पनि भएँ। त्यसपछि विस्तारै विस्तारै विश्वासको वातावरण जाग्न थाल्यो।मेरो गाउँमा पानीको असाध्यै दुःख थियो। त्योबेला बलदेव मजगैयाँ सांसद हुनुहुन्थ्यो। अनुरोध गरेपछि उहाँको सांसद विकास कोषको पैसाले इनार खनिदिनुभयो। त्यसपछि फेरि गाउँलेबीच अर्को राहत भयो। यसरी नै विश्वास जुटाउँदै गएँ। यसरी थुप्रो काम गरिसकेपछि भूमिहीन, सुकुम्बासी, कमैया, कम्लरीको क्षेत्रमा काम गरिसकेपछि राजनीतिक दलका नेताहरुका बीच ‘शान्तालाइ हाम्रो पार्टीमा ल्याउन पाए कमैया कम्लरीहरुको भोट बैंक सुरक्षित हुन्थ्यो’ भनेर चर्चा चल्न थाल्यो। त्यतिखेर पहिलो संविधानसभाको चुनाव पनि आउँदै थियो। सबैजनाले तपाईँ हाम्रो पार्टीमा आइदिनु प¥यो तपाईँलाई सांसद पक्का बनाउँछौं भन्न थाल्नुभयो।

अब यो सांसद भनेको के हो ? सभासद भनेको के हो ? मलाई त्यतिखेर थाहै थिएन। मलाई त कतै पनि जान मन लागेन। धेरै दिनसम्म गइँन पनि। अनि फेरि सबैजनाले ‘तपाईँजस्तो प्रतिनिधि जानुपर्छ। नगइदिए तपाईँहरुको अधिकारको बारेमा अरु कसले बोलिदिन्छ ?’ भनेपछि सोच्न बाध्य भएँ। तर, कुन पार्टीमा जाने ? यो प्रश्न थियो।म थुप्रो वर्ष, १८ वर्षसम्म जुन घरमा कम्लरी बसेकी थिएँ त्यो घरले नेपाली कांग्रेस पार्टीप्रति आस्था राख्थ्यो। त्यो भएको हुनाले मलाई कांग्रेस पार्टीमा जान मन लागेन। माओवादी पार्टीलाई थुप्रो पालेँ। यति धेरै पालेँ। कहिलेकाहिँ त उहाँहरुसँगै बन्दुक बोकेर हिँडौं कि जस्तो पनि लाग्थ्यो।उहाँहरुको बोली यति धेरै मिठो थियो। यति धेरै मिठा कुरा गर्ने उहाँहरु। तर, उहाँहरुले मान्छेको घाँटी नै रेटेर मार्न थालिसकेपछि मन मर्दै गयो। मेरो जेठाजुलाई नै मारिदिएपछि मलाई माओवादीदेखि घृणा लाग्न थाल्यो।

त्यस्तो अवस्थामा मलाई अलिकति मन परेको पार्टी एउटा थियो। मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा सुकुम्वासीलाई जग्गा वितरण गर्ने जिम्मेवारी पाएका हाम्रै गाउँले भुवन देवकोटा हुनुहुन्थ्यो। त्यो बेला कस्तो थियो भने त्यहाँका प्रायः सबै बाहुनहरुले थारुहरुलाई बेग्लै व्यवहार गर्नुहुन्थ्यो। यसलाई अन्यथा नलिइदिनु होला। त्यतिबेलाको चित्रण गरेकी हुँ मैले। त्यो बेला थारुको बुढाबुढी उमेर पुगेकाहरुले पनि बाहुनका बच्चालाइ ‘बाबु’ र ‘हजुर’ भनेर बोल्ने प्रचलन थियो। तर, उहाँहरुलेचाहिँ हाम्रा हजुरआमालाई पनि ‘ओइ बढ्की’ अनि हजुरबालाई ‘ओइ बढ्का’ भन्दै ‘कहाँ जान लागिस् ?’ भनेर सोध्नुहुन्थ्यो। उहाँहरुले प्रयोग गर्ने शब्दहरुले मुटु चिसो हुन्थ्यो। अनि यस्तो बेलामा एमाले पार्टीसँग नजिकका दाइले हाम्रा आमा बुवालाई पनि आमा बुवा भन्नुहुन्थ्यो। ‘तपाईँ’ भनेरै सम्बोधन गर्नुहुन्थ्यो। सुन्दा रमाइलो लाग्थ्यो। उहाँबाट प्रभावित भएको हुनाले एमालेमा समानुपातिकको निम्ति नाम दिएँ।

त्यसपछि सभासद् भइ नै हालेँ। सभासद् भइसकेपछि मेरो गाउँका सबै जमिन्दारहरुले मलाई अविर लगाइदिनुभयो। हिजोसम्म पनि ‘ओइ शान्ति ओइ शान्ति’ भन्नेहरुले मलाई त नमस्कार पो गर्न थाल्नुभयो। सुरुमा त लाज लागेर भुतुक्कै भएँ। बेला बेलामा घोराही जानुपर्ने, बाटोमा सबैले नमस्कार गर्छन्। कस्तो अप्ठेरो …। म त लुकेर जंगलको बाटो भएर ओहोर दोहोर गर्न थालेँ।अनि यो सबै देखेर मेरी आमाले एकदिन ‘यो सभासद् भनेको के हो ?’ भनेर सोध्नुभयो। मलाई पनि के थाहा ? अब मलाई नै थाहा नभएको कुरा के भनेर बताउने ?‘अब काठमान्डु बस्नु पर्छ रे आमा। पुलिस पनि हुन्छ रे’ भनेर सुनाएँ। आमाले अलि अलि बुझेजस्तो गर्दै फेरि सोध्नुभयो, ‘पैसाचाहिँ पाउँछस् कि नाइँ ?’‘त्यो त खै थाहा छैन’ भनेर जवाफ दिएँ।सबैले मलाई अविर र माला लगाइदिएको देख्दा आमा रुनु हुन्थ्यो। मलाई आन्दोलनका बेलाभरि अगाडि बढ्न आमाले धेरै सहयोग गर्नुभएको थियो।यसरी संविधानसभाको सदस्य भएपछि म काठमाडौं आएँ। काठमाडौं आइसकेपछि संविधानसभा भित्र प्रवेश गर्दा मलाई ‘शान्ता’ लेख्न पाँच मिनेट लाग्थ्यो।

संविधानसभामा पहिलो दिन प्रवेश गर्दाको घटना अहिले पनि झल्झली सम्झन्छु म। त्यत्रो भीडमा चिनेको कोही छैन। मान्छे छैन भनौं भने त्यत्रा छ सय जना छन्। छ भनौं भने एउटैसँग बोलचाल छैन। अनि भएभरका सबैलाइ सलोट ठोक्दै पुलिसले भित्र पठाइरहेका थिए। म त गुन्यु र बुलोस (ब्लाउज) लगाएको। चप्पल पनि एउटा टालो च्यातेर बाँधेको थिएँ। त्यो पुलिसले सबैलाइ सलोट ठोक्छ, मलाईचाहिँ खानतलाशी पो गर्छ।यो सबै छिचोलेर भित्र गएँ। भित्र गएपछि एउटा कुनामा बसेँ।भित्र गइसकेपछि अब म त कसैलाई पनि चिन्दिनँ। कोसँग बोल्नु ? अनि धुइँ धुइँ घुमे। कहाँ बस्ने थाहा पनि छैन। त्यो सपथ ग्रहण गर्ने दिन थियो। कहाँ बसुँ कहाँ बसुँ भयो। त्यसपछि सबैभन्दा अगाडि गएर बस्छु भनेर मनमा आयो। गएर बसेँ पनि। तर, कहाँ बस्न गएछु भनेँ, त्यो त प्रचण्ड जी बस्नको निम्ति छुट्याइएको सिट पो रहेछ।

अनि त्यसपछि एकजना एमालेको सभासदले मलाई तान्दै, ‘हत्तेरी यहाँ त प्रचण्ड जी बस्नु हुन्छ। कहाँ यो माओवादीको रो मा बस्न आएको ? एमालेको त उता छ’ भन्नुभयो। अब मलाई को कहाँ बस्छ भन्ने के थाहा ? त्यहाँ त एमालेको एकातिर, कांग्रेसको अर्कोतिर, माओवादीको अर्कोतिर गरेर सबै पार्टीका बेग्लाबेग्लै लहर हुँदारहेछन्। मलाई त ती सभासदले घिसार्दै अर्कोतिर लैजानु भयो।त्यसको भोलिपल्ट मिडियामा समाचार आयो। यहाँ मिडियाका साथीहरु पनि देख्दैछु। अन्यथा नमान्नु होला। जति पनि अखवार छन् सबैको हेडलाइन एकै खालका। ‘चुरा बेच्दाबेच्दै सभासद्’, ‘भाँडा माँझ्दा माँझ्दै सभासद्’, ‘झाडु लगाउँदा लगाउँदै सभासद्…’त्यो त मलाई नै भनेको हो भन्ने लाग्न थाल्यो। किनभने भाँडा माँझ्दा माँझ्दै नै आफू साँच्चै सभासद भएकी छु। यो मलाई नै भनेको हो जस्तो लाग्यो।अनि कतिपय साथीहरुले औंला देखाउँदै भन्नु पनि हुन्थ्यो, ‘यस्ता त छन् सभासद्हरु अनि किन मिडियाले पनि नभनोस् भाँडा माँझ्दा माँझ्दै सभासद् भनेर…हेर त यस्तो मर्यादित ठाउँमा अलिक लुगा त गतिलो लगाएर आउनु पर्छ नि।’ स्वयं सभासदहरुले यसरी मेरा पार्टीका सभासदलाई टिप्पणी गर्नुभएपछि एमालेका सभासदले मलाई सम्झाउनु भयो, ‘भोलिबाट यहाँ साडी लगाएर आउनुहोला।’त्यसपछि राष्ट्रपतिको चुनाव आयो। त्यो राष्ट्रपतिको चुनाव अहिले पनि मलाई याद छ। मनमोहन अधिकारीको बुहारी शान्ति अधिकारी हुनुहुन्छ। उहाँले नै मेरो हात समातेर हस्ताक्षर गर्न लैजानुभएको थियो।फेरि भोलिपल्ट मिडियाको हेडलाइनमा ‘राष्ट्रपतिको चुनावमा जाबो भोट हाल्न नजान्ने पनि सभासद्’ र ‘यस्ता पनि सभासद’ भनेर समाचार आयो। अझ कसैकसैले त ‘यस्ता सभासद्ले के संविधान बनाउँछन् ?’ भनेर टिप्पणी पनि गरे।

अब यो पनि मलाई नै भनेको होला जस्तो लाग्यो। मलाई मिडियामा आउने एकपछि अर्को यस्ता हेडलाइन मेरै बारेमा लेखिएका हुन् जस्तो लाग्न थालेको थियो। किनभने कुरो त सही नै हो, मलाई अरुले हात समातेर भोट हाल्न लगेको सत्य नै थियो। त्यो बीचको लामो कालखण्ड मैले त्यसरी नै ग्लानीका बीच बिताएँ। झेलेँ।त्यसपछि फेरि मलाई मेरो पार्टीले समितिको सभापति बनायो। सुरुमा त म बन्दिनँ भनेकी थिएँ। ‘यो सभापति भनेको थाहा पनि छैन मलाई नबनाउनुस्’ भनेँ। ‘हामी सहयोग गर्छौं बन्नुस्’ भन्नुभयो।अब प्राकृतिक श्रोत तथा साधन समितिको सभापति बनाउनु भयो। अनि सदस्यचाहिँ हाम्रै पार्टीको अध्यक्ष झलनाथ खनाल। गगन थापा, आरजु देउवा,लक्ष्मण घिमिरेदेखि दिग्गज दिग्गज नेताहरु मेरो समितिका सदस्यहरु। अब त्यो चेयरमा अगाडि बस्न मलाई त मरेजस्तो लाग्ने। के गरेर जाने होला ? यति गाह्रो भयो, यति गाह्रो भयो, अहिले यहाँ भनेर साध्य छैन। अनि यतिले नपुगेर गाडी पनि दिँदोरहेछ। अब त्यो गाडी पनि भिराइदियो। मलाई त्यो गाडीमा चढेर संविधानसभा भवनभित्र पस्नै अप्ठेरो लाग्ने। त्यसैले यो गाडी म चढ्दिनँ भनेर सबैलाइ भन्न थालेँ। हाम्रो पार्टीका साथीहरुले ‘पाएको सुविधा लिनै पर्छ खुरुक्क प्रयोग गर्नुस्, यस्ता वाहियात कुरा गर्नु हुँदैन’ भन्न थाल्नुभयो।

सुरुमा त सिंहदरबार भित्र त्यसरी गाडीमा जानै अप्ठेरो लाग्यो। त्यसैले भेटेजति सबैलाई ‘आउनुस् यसमा बस्नुस्’ भन्दै धमाधम हाल्न थालेँ। गाडीमा मान्छे भरिएपछि अलिकता सहज लाग्यो। यसैगरि सबैलाइ बसालेरै संविधानसभा भित्र पनि जान्थेँ।गाडी मात्र होइन त्यसमा चलाउने चालक पनि हुनुहुन्थ्यो। अब उहाँलाई के भनेर बोलाउने ? मैले ‘सर’ भन्न थालेँ। अनि मेरो गाडीमा बस्ने साथीहरु गलल्ल हाँस्नुहुन्थ्यो। पछि पछि झ्याम्मिँदै गएपछि मलाई सहज लाग्न थाल्यो र मभन्दा कम उमेरको हुनुभएकोले ‘भाइ’ भन्न थालेँ। यसरी संविधानसभा भित्र मेरो यात्रा सुरु हुन थाल्यो।

समितिको सभापति भएपछि बैठक चलाउन पनि सुरु गरेँ। तर, समस्या के आयो भने आफ्नै समितिले गरेको निर्णय आफैँले पढेर सुनाउन पनि नसक्ने। अनि फेरि पत्रकार साथीहरु… उहाँहरु भन्नुहुन्थ्यो ‘तपाइ आफैँले पढेर सुनाउनुस् न।’यस्तो बेलामा असाध्यै ग्लानी महशुस हुन्थ्यो। कहिले मेरो समितिको सचिवले पढेर सुनाउनु हुन्थ्यो अनि धेरैजसो चाहिँ लक्ष्मण घिमिरेले। उहाँ नेपाली कांग्रेसको सचेतक हुनुहुन्थ्यो। अनि यसरी घिमिरेले पढेर सुनाउन थाल्नुभएकै बेलामा माननीय सदस्यहरुले ‘हैन, यो समितिको सभापति शान्ता चौधरी हो कि लक्ष्मण घिमिरे ?’ भनेर सोधिदिँदा म भुतुक्कै हुन्थेँ।यस्तो परिस्थितीहरुबाट गुज्रेको थियो मेरो संविधानसभाको कार्यकाल। अहिले म संसदमा छैन। त्यसैले यो समयको सदुपयोग गर्दै स्कुलमा गएर पढ्न सुरु गरेकी छु। अब फेरि मलार्ई आफ्ना कुराहरु राख्ने बेलामा पढेलेखेको नहुनु नै बाधक नबनिदिओस् भनेर सचेत भएकी छु।यस्तो अवस्थामा म तपाईँहरुको बीचमा आएर बोलिरहेकी छु। तपाईँहरु सबै यस देसशका भाग्यमानी विद्यार्थी हुनुहुन्छ। त्योभन्दा पनि अझ बढी डाक्टरी पढ्ने अवसर पाउनुभएको छ। म शुभकामना दिन चाहन्छु। साथसाथै मेरो एउटा अनुरोध पनि छ। केटाकेटी समयमा हाम्रानिम्ति डाक्टर भनेको दुर्लभ कुरा हुन्थ्यो। जँचाउने अवसर पाइहाले पनि राम्रो व्यवहार भेटिदैन थियो।म तपाईँहरुलाई अनुरोध गर्छु, भोलिपर्सी तपाईँहरु डाक्टर भएर काम गरिरहेका बेला कुनै बिरामी झुत्रे लुगा लगाएको छ वा बोल्न पनि राम्ररी जान्दैन भन्ने आधारमा उनीहरुलाई नहेपिदिनुस्। ती मजस्तै ठगिएकी केटाकेटी हुन्। उनीहरुका बुढाबुढी आमा गन्हाउन पनि सक्छन्। त्यस्तो अवस्थामा दुव्र्यवहार नगरिदिनु होला। तपाइहरुलाई यही नै मेरो अनुरोध छ।

प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ०८:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *