सेवासुविधाका लागि अदालत धाउँदै पूर्व उपकूलपति पाण्डे

20160523_133652राराखवर संवाददाता
सुर्खेत, १० जेठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति कालीप्रसाद पाण्डेले सेवा निवृत्त भएपछि आफू पाउनुपर्ने सेवासुविधाहरु विश्वविद्यालयले नदिएका कारण अदालत गुहार्नु भएको छ । सेवा निवृत्त भएको आठ महिनासम्म पनि नियमानुसार पाउनुपर्ने सेवासुविधाहरु नपाएपछि उहाँँ पुनरावेदन अदालत सुर्खेतको शरणमा पुग्नुभएको हो ।
विश्वविद्यालयको नियमअनुसार सेवा निवृत्त हुनेवित्तिकै पाउनुपर्ने चाडपर्व विदा, संचित विदा, औषधि उपचार खर्च, विश्वविद्यालयमा रहँदा कुनै बिदा नलिएवापत पाउने विशेष सुविधा र उपदानजस्ता सेवासुविधा नपाएपछि अदालत गुहार्नु परेको उहाँले बताउनुभयो ।
सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पूर्व उपकूलपति पाण्डेले भन्नुभयो, सेवा निवृत्त भएको १५ दिनभित्र पाउनुपर्ने सेवासुविधाहरु आठ महिनासम्म पनि नपाएपछि अदालत गुहार्न बाध्य भएको हुँ । विश्वविद्यालयले सेवासुविधा दिनका लागि आनाकानी गरिरहेको बताउँदै उहाँले विश्वविद्यालयको नियमानुसार आफूले सहजरुपमा पाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले एक महिनाको चाडपर्व खर्च, ३५६ दिनको संचित विरामी विदा, १५ महिना र २० प्रतिशत थप गरेर औषधि उपचार खर्च, विश्वविद्यालयमा रहँदा अध्ययन विदा र स्वअध्ययन विदा नलिएपछि पाउने चार महिना बराबरको विशेष सुविधा र २८ बर्ष १० महिना १२ दिनको उपदान खर्च पाउनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार सो वापत करिव २५ लाख रुपैयाँ पाउनुपर्दछ ।
images२०७२ असोज ६ गते उमेर हदका कारण सेवा निवृत्त भएका पाण्डे विश्वविद्यालयमा करिव १४ महिना उपकूलपति भएर काम गर्नुभयो । सेवासुविधा पाउनका लागि उहाँले गत बैशाख २१ गते पुनरावेदन अदालत सुर्खेतमा परामादेश अभियोजन दर्ता गरेको र २२ गते सेवासुविधा किन नदिएको भन्दै विश्वविद्यालयका नाउँमा परमादेश जारी गरेको जनाउनुभयो ।
नियमानुसार पाउने सेवासुविधाका लागि विश्वविद्यालयका वर्तमान पदाधिकारीहरु समक्ष वारम्बार आग्रह गर्दापनि उनीहरुले कुनै सुनुवाई गरेको भन्दै उहाँले सेवासुविधाका लागि पूर्व उपकूलपतिजस्तो व्यक्तिलाई अदालत पुग्न बाध्य बनाउनु विडम्बना भएको बताउनुभयो । कठिन परिस्थितिमा उपकूलपति भएर मप विश्वविद्यालयलाई सही ट्रयाकमा ल्याउन आफूले भरमग्दुर कोशिस गरेको र सफल पनि भएको दावी गर्दै उहाँले तर सेवानिवृत्त भएपछि भने नियमानुसारको सेवासुविधा पाउन विश्वविद्यालयले झुल्याएकोमा दुःख प्रकट गर्नुभयो ।
यता विश्वविद्यालयले भने उपकूलपति भएवापतको पाउनुपर्ने पदीय सेवासुविधाहरु पाण्डेले लिइसकेको दावी गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले पाण्डेले पाउनु पर्ने भनिएको औषधि खर्च, विरामी विदा, संचित विदावापतको रकम स्वीकृत भइसकेको तर उपदानवापत पाउनुपर्ने सुविधाले गर्दा मात्रै रोकिएको जनाउनुभयो ।

प्रकाशित मितिः १० जेष्ठ २०७३, सोमबार १२:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *