सुर्खेत २७ असार ।
सरकारले सुर्खेतमा संचालन गरेको वाढी पहिरो पुर्न विकास विशेष कार्यक्रम अलपत्र परेको छ ।
मन्त्रिपरिषदवाट पास भएर २ वर्षदेखि संचालन हुदै आएको विशेष कार्यक्रम रकम अभावको कारण अलपत्र परेको हो ।
वाढी पहिरोवाट प्रभावित क्षेत्रको पुर्न निर्माणको लागि बनेको ३ वर्षे कार्य योजना अन्तर्गत अहिलेसम्म जम्मा १५ प्रतिशत मात्रै काम भएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ ।
२०७१ साल साउन २८, २९ र ३० गते सुर्खेतमा आएको वाढी प्रभावित क्षेत्रको पुर्न निर्माणको लागि वाढी पहिरो पुर्न निर्माण विशेष कार्यक्रम संचालन भएको थियो ।
३ वर्षे कार्ययोजना अन्तर्गत रहेका ७० वटा योजना निर्माण गर्नको लागि २ अर्व ३६ करोड रुपैया खर्च लाग्ने भएपनि २ वर्षको अवधिमा ३७ करोड रुपैया मात्र आएको कार्यालयले जनाएको छ ।
गतवर्ष १३ करोड र यो वर्ष २४ करोड रुपैयामा मात्र आएकोले सवै योजना पुरा गर्न नसकेको कार्यालयका प्रमुख प्रेम घिमिरेले बताउनु भयो ।
कार्ययोजना अनुसार काम गर्नको लागि चालु आर्थिक वर्षमा १ अर्व ५० करोड रुपैया माग गरेपनि जम्मा २४ करोड रुपैया मात्रै आएको उहाँले वताउनु भयो ।
७० वटा योजना अन्तर्गत तटवन्ध निर्माण गर्ने, चेक ड्यामहरु वनाउने, नदि र खोला किनारमा ग्याविन पर्खाल लगाउने, स्पर लगाउने लगायतका काम रहेका छन ।
योजनाभित्र सिम्ताखोला, भेरी नदि, सोतखोला, तोलीखोला, छिन्चुखोला, इत्रामखोला, खोर्के खोला लगायतका नियन्त्रणको लागि तटवन्ध निर्माण गर्ने लगायतका कामहरु रहेका छन ।
७० वटा योजना मध्ये अहिलेसम्म ३५ वटा योजनामा कामै सुरु नभएको र वाकी ३५ वटा पनि अधुरै रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
विशेष कार्यक्रम अन्तर्गतको रकम पनि ढिला गरी आउने र छोटो समय भएकोले काम हुन नसक्दा त्यही रकम पनि फिर्ता भएर जाने गरेको कार्यालयले जनाएको छ ।
अन्तिम चौमासिक तिर बजेट आउने भएकोले कामदार र सामाग्री समेत नपाइने समस्याले गर्दा रकम फिर्ता हुने गरेको वताएको छ ।
पहिलो चौमासिकतिरै बजेटसहितको काम गर्ने अख्तियार आए समयमै योजनाहरु निर्माण गर्न सजिलो हुने कार्यालयले जनाएको छ ।
जिल्ला दैविक उद्धार प्रकोप समिति सुर्खेतले २०७१ सालमा आएको वाढी पहिरोवाट प्रभावित भएको क्षेत्रको पुर्ननिर्माणको लागि २ अर्व ३६ करोड खर्च लाग्ने कार्ययोजना वनाएर पठाएको थियो ।
२ अर्व ३६ करोड रकमसहितको कार्ययोजना मन्त्रिपरिष्दले पारित गरेपनि अर्थमन्त्रालयले बजेट दिन कन्जुस्याइ गदै आएको बताएको छ ।