७० रुपैयाँको कामका लागि ७ सय खर्च

आकाश तारा बयक
सुर्खेत, १८ मंसिर ।
यातायात व्यवस्था सेवा केन्द्र सुर्खेतले सेवा विस्तार गर्न नसक्दा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । सुर्खेत आसपास जिल्लाका सेवाग्राहीले नयाँ गाडी दर्ता, रोड परमिट, नामसारी, लाईसेन्स जारी तथा नविकरण र सवारी अञ्चलीकरण दर्ता जस्ता कार्यका लागि नेपालगञ्ज र जुम्ला जानु पर्ने बाध्यताका कारणले सास्ती व्यहोर्नु परेको हो ।
Lincnse-Queराष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले यातायात व्यवस्था सेवा कार्यालयले तत्काल सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर सेवा विस्तार गर्न माग गरेको छ । सवारी नामसारी गर्न लाग्ने ७० रुपैयाँको दस्तुर बुझाउन सात सय रुपैयाँ खर्चेर नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले बताईन् । उनले यातायात व्यवस्था सेवा केन्द्रले सेवा विस्तार नगर्दा सवारी साधानका सानातिना कामका लागि नेपालगञ्ज र जुम्ला जानुपर्दा समयसँगै अनावश्यक आर्थिक भार हुने गरेको दुःखेसो पोखिन् ।
यातायात व्यवस्थापन भेरी अञ्चल कार्यालय नेपालगञ्ज मातहत रहेको सेवा कार्यालय स्थापना भएको तीन वर्ष वितिसक्दा समेत सेवा विस्तार हुन सकेको छैन् । सेवा कार्यालयले विलबुक नविकरण, कर असुली, जाँच पास, पट्के परमिट, परमिट नविकरणसँगै अस्थाई परमिटमै सीमित राखेको सेवाग्राही बताउँछन् । यातायात सेवा केन्द्रले सेवा विस्तार नगर्दा सुर्खेत आसपासका जिल्लाका सेवाग्राहीलाई अहिले सवारी अनुमति पत्र लिन नेपालगञ्ज र जुम्ला जानुपर्ने बाध्यता रहेको छ ।
सेवा कार्यालयका सूचना अधिकृत घनश्याम बोगटीले थप सेवा विस्तार गर्न विभागबाट अनुमति मिलेपछि मात्र सेवाग्राहीको मागलाई सम्बोधन गर्न सकिने बताए । उनले मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम तथा ६ नम्बर प्रदेशको सम्भावित राजधानी सुर्खेतमा थप सेवा सुविधा विस्तार गर्न विभागसँग पहल भईरहेको जनाए । ‘यातायात व्यवस्था विभागले सेवा विस्तारको अनुमति दिएमा हालकै कर्मचारीबाट सेवाग्राहीका ती मागहरु पुरा गर्न सकिन्छ,’ उनले भने, ‘तर, कर्मचारी स्तरबाट पर्याप्त हुन नसक्ने भएकाले विभागसम्म माग पु¥याउन जनप्रतिनिधिको आवाज आवश्यक हुन्छ ।’ सेवा कार्यालयबाट थप सेवा विस्तार गर्न नसक्दा अहिले यस क्षेत्रका सेवाग्राहीलाई कठिनाई भईरहेको उनले स्वीकार गरे
यातायात सेवा केन्द्रमा अहिले आठ जना निजामति कर्मचारीको दरबन्दी रहेको छ । जसमा एक जना कार्यालय प्रमुख शाखा अधिकृत, दुई जना नायव सुब्बा, एक जना मेकॉनिकल सुपरवाईजर, एक जना खरिदार, एक जना सह–लेखापाल र दुई जना कार्यालय सहयोगी रहेका छन् । सो मध्ये एक जना मेकॉनिकल सुपरवाईजरको पद रिक्त रहेको छ । यातायात सेवा केन्द्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको बताएको छ । गत आवमा केन्द्रले चार करोड ५५ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १०:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *