सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा संयुक्त विद्यार्थी आन्दोलन संघर्ष समिति र प्रजातन्त्रवादी प्राध्यापक संघले झन् आन्दोलन चर्काएका छन् । आन्दोलनरत विद्यार्थीले प्रशासनमा साढे दुई महिनादेखि लागेको ताला अझै खुलेको छैन ।
बिहीबार रजिष्ट्रार डा. महेन्द्रबहादुर मल्ललाई निलम्बनको प्रक्रिया थालिएपछि विद्यार्थीले आन्दोलन चक्राएका हुन्।उनीहरुले आइतबारदेखि विश्वविद्यालयको पठनपाठन पनि ठप्प पार्ने घोषणा गरेका छन्।
उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले विधि मिचेर कार्यकारी परिषद बैठक गरेको भन्दै असोज ८ गतेखि विश्वविद्यालय केन्द्रीय कार्यालय र डीन कार्यालयमा ताला लगाइएको छ। ‘दुई तिहाइ राजनीतिक दम्भका आधारमा ठाडो हस्तक्षेप गरी विधि विधान मिचेर रजिष्ट्रारलाई निलम्बन गरिएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय स्थापनाका अभियन्ता र विश्वविद्यालयको विकासमा जनतादेखि सरकारसम्म जोडिएका व्यक्तिलाई राजनीतिक खोल ओढेर बर्खास्त गर्न खोज्नुले हामीलाई आक्रोशित बनाएको छ।’
शुक्रबार स्ववियुसहित संयुक्त विद्यार्थी संघर्ष समितिले पनि प्रदर्शन गरेको छ। स्ववियु अध्यक्ष झक्कबहादुर शाहीले उपकुलपतिले समस्या समाधान गर्नुको साटो झन् बल्झाउन खोजेपछि आन्दोलन कडा गर्नु परेको बताए।कान्तिपुरबाट