दैलेखका ८३ वटा उप–आयोजना स्थानीय तहलाई हस्तान्तरण

दैलेख, १९ भदौ ।
उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका ८३ वटा उप–आयोजनाहरु दैलेखका सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको छ । मंगलबार दैलेख सदरमुकाममा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह/सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले दैलेखका १० वटा स्थानीय तहलाई विस्तृत विवरणसहित ८३ उप–आयोजनाहरु हस्तान्तरण गर्नु भएको छ । उहाँले आठवीस नगरपालिकालाई ७ वटा, भगवतीमाई गाउँपालिकालाई १४ वटा, भैरवी गाउँपालिकालाई ३ वटा, चामुण्डा बिन्द्रासैनी नगरपालिकालाई २ वटा, दुल्लु नगरपालिकालाई १० वटा उप–आयोजनाहरु हस्तान्तरण गर्नु भएको छ । यस्तै ढुंगेश्वर गाउँपालिकालाई ३ वटा, गुँरास गाउँपालिकालाई ३३ वटा, महावै गाउँपालिकालाई एउटा, नारायण नगरपालिकालाई ९ वटा र नौमुले गाउँपालिकालाई एउटा उप–आयोजना पनि हस्तान्तरण भएको छ । हस्तान्तरण गरिएका उप–आयोजनामा बेमौसमी तरकारीका ४१, खसीबोकाका ३४,बेसारका ६, अदुवा र तरकारी बीउको एक/एक वटा छन ।


गोष्ठीमा आयोजना प्रमुख भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले दैलेखका किसानलाई ७ करोड ५७ लाख रुपैया अनुदान सहयोग गरेको जानकारी दिनुभयो । उहाँले खसीबोवा, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, बेसार मुल्य श्रृंखलामा अनुदान पाएपछि लाभग्राही किसानहरुले पनि आफ्नो तर्फबाट २ करोड ७३ लाख रुपौया लगानी गरेको बताउँनु भयो । आयोजनाले सहकार्य गरेका ८३ वटा उप–आयोजनामा आवद्ध २ हजार ९७ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ । आयोजनाको सहयोगपछि किसानको आम्दानी सगसँगै कृषि जन्यवस्तुको उत्पादन र विक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको छ । आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानी प्रतिघरधुरी २९ हजार १३ रुपैया रहेकोमा आयोजना सम्पन्न हुँदा आम्दानी बढेर एक लाख २१ हजार ६ सय १३ रुपैया पुगेको उहाँले बताउनु भयो । आयोजनाको सहयोगपछि किसान आधार वर्षको तुलनामा ९२ हजार ६ सय ३७ रुपैया थप आम्दानी गर्न सफल भएका छन ।


मुल्य श्रृखलागत रुपमा भन्दा आधार वर्षको तुलनामा अदुवामा ११ हजार ४ सय ४८, बेसारमा १५ हजार ६ सय ३०, खसीबोकामा ४० हजार ३ सय ९१, बेमौसमी तरकारीमा १ लाख ४७ हजार ५ सय ७१ र तरकारी बीउमा ४७ हजार ४ सय १४ रुपैया थप आम्दानी गर्न किसान सफल भएको पाइएको छ । आयस्तर बृद्धिसगै किसानले उत्पादनमा पनि बढाएका छन । आधार वर्षमा १ हजार ४ सय ७३ मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ५ हजार ८ सय १२ मेट्रिक टन पुगेको छ । यस्तै उत्पादनसगै बिक्री परिमाण पनि बढेको छ । आधार वर्षमा प्रतिवर्ष १ हजार २ सय ८४ मेट्रिक टन रहेको विक्री परिमाण बढेर आयोजना सम्पन्न हुँदा ५ हजार ५ सय ६९ मेट्रिक टन पुगेको छ । आयोजनाले अनुदान सहयोग गरेका किसानमध्ये ६४ प्रतिशत महिला र ३६ प्रतिशत रहेका छन । यस्तै आयोजनाको अनुदान सहयोग पाउनेमा अतिगरिव २० प्रतिशत, मध्यम गरिव ३० प्रतिशत, सामान्य गरिव २० प्रतिशत र सम्पन्न १० प्रतिशत किसान रहेको आयोजना प्रमुख भारीले उल्लेख गर्नुभयो ।


आयोजनाले लाभग्राही किसानलाई संकलन केन्द्र, टनेल हाउस, सिंचाईक कुलो, पोखरीलगायत ७ सय ८१ वटा पूर्वाधार निर्माण गरेको छ भने २ हजार ७ सय ८५ जना किसानलाई व्यवसायमूलक तालिम दिएर उद्यमसिल क्षमता र सीपको विकासमा सहयोग गरेको जनाएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारमा पहुँच स्थापित गर्नको लागि आयोजनाले किसान र व्यापारीवीच व्यवसायिक सम्वन्ध जोड्न पनि सहयोग गरेको थियो ।


गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले आयोजनाले हासिल गरेका सिकाईलाई लागु गर्न दैलेखका सवै स्थानीय तहलाई आग्रह गर्नुभयो । गरिव जनताको जीवनस्तर उकास्नको लागि आयोजनाले खेलेको भूमिको प्रसंसा गदै उहाँले नयाँ आयोजनासँग सहकार्य र समन्वय गर्न जिल्ला समन्वय समिति तयार गरेको पनि उल्लेख गर्नुभयो ।


यस्तै चामुण्डा विन्द्रसैनी नगरपालिकाका उपप्रमुख तारा शाही, ढुंगेश्वर गाउँपालिकाका अध्यक्ष नरेन्द्र मल्ल र भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आयोजनाले सहयोग गरेका उप आयोजनालाई निरन्तरता दिन र किसानलाई व्यसायिकरणतर्फ उन्मुख गराउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्तिका नेता रामबहादुर थापा,उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख शीवप्रसाद अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष तेजबहादुर थापालगायतले दैलेखका किसानको आयस्तर बृद्धि गर्न र कृषिको व्यवसायिकरणको लागि आयोजनाले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो ।


गोष्ठीमा आमा बचत तथा ऋण सहकारी संस्थाका सीता रिजाल, त्रिदेवी बहृउदेशिय सहकारी संस्थाका काशीराम शर्मा, निजी सेवा प्रदायक जनकराज रेग्मी, पशुपति जैसी र धिरेन्द्र बहादुर कार्कीले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउनु भएको थियो भने आयोजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उपआयोजनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा आयोजनाले तयार पारेको खसीवोका र बेमौसमी तरकारी मूल्य श्रृंखला सम्वन्धी बृतचित्र पनि देखाइएको थियो ।


‘आयोजना सम्पन्न गोष्ठी’ को समापन गदै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह÷सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यमप्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग र साथको अपेक्षा व्यक्त गर्नुभयो ।आयोजनाका कृषि अधिकृत सुरशेकुमार थापाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन क्षमता विकास अधिकृत हरिमदन अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मितिः १९ भाद्र २०७५, मंगलवार १६:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *