फाल्गुन २६, २०७२- अहिलेसम्म न बस्तीमै पुगेर फिरन्ते राउटेको जनसंख्या गणना भएको छ न त आधिकारिक रूपमा उनीहरूले नै भनेका छन् । राष्ट्रिय जनगणनाका बेला गणकले अनुमानित संख्या पेस गर्थे । राउटेले अन्य जातिजस्तो टाउको गन्न दिँदैनन् । त्यसैले, वास्तविक संख्या पत्ता लाग्न नसकेको हो । विभिन्न अध्ययन र तथ्यांकलाई आधार मान्दा राउटेको संख्या करिब १ सय ५० देखि ६० को बीचमा छ । ४२ जति परिवार छन् ।
विभिन्न अनौपचारिक तथ्य/तथ्यांकबाट उनीहरूको संख्या बर्सेनि घटदै गएको पुष्टि हुन्छ । अध्येताहरूले यही अवस्थामा रहे आगामी ४०/५० वर्षभित्रै राउटेको अस्तित्व संसारबाटै लोप हुने खतरा रहेको बताएका छन् । ‘राउटेको संख्या बर्सेनि घटदो क्रममा छ,’ पटक–पटक राउटे बस्ती पुगेका दैलेखका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्नेले जाँड–रक्सी, सुर्ती, पुकारजस्ता हानिकारक वस्तु खान सिकाएर उनीहरूलाई बिगारे । राउटेलाई पैसामुखी बनाइयो ।’
उनले राउटे वंश, धर्म संस्कृति, भाषा भएको सानो मानव जाति पृथ्वीबाट लोप हुने अवस्थामा पुग्नु दुर्भाग्य भएको बताए । भत्ता वितरण गर्दा राउटेको संख्या कति छ ? भन्ने मोटामोटी पत्ता लाग्छ । सरकारले सम्बन्धित जिविसबाट लोपोन्मुख भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ । यही क्रमको अभिलेखलाई आधार मानेर स्थानीय विकास अधिकारी प्याकुरेलले राउटेको संख्या घटदै गएको दाबी गरे । फिरन्ता जीवन बिताउने राउटे नेपालको लोपोन्मुख जाति हो ।
राउटे महामुखिया महिनबहादुर शाहीले भविष्यमा आफ्नो वंशै समाप्त हुने त होइन भन्ने चिन्ता व्यक्त गरे । ‘हाम्रा जनतालाई बचाउन समस्या भएको छ । खानपिनको समस्या छ,’ महिनबहादुरले भने, न जंगलमा खानेकुरा पाइन्छ न त गाउँमै । किन्नलाई भत्ताको मात्र पैसाले पुग्दैन । सरकार हाम्रो समस्या बुझदैन ।’ आफूहरू दुनियाँ हुन नचाहेको र राउटे नै भएर बस्न चाहेको उनले बताए ।
‘राज्यले हामीलाई राउटे भएर बस्न देओस्,’ महामुखियाको भनाइ छ, ‘घर, जग्गाजमिन, धनसम्पत्ति चाहिएन । वनमा बस्न दिए पुग्छ ।’ केही महिनायता अछामको रानीवन जंगलमा बसिरहेका राउटेले आधुनिक जीवन शैलीप्रति कुनै मोह नभएको बताएका छन् । स्थायी बसोबास, पशुपालन, खेतीबाली, लेखपढ र जागिरसँग पनि मतलब छैन । अहिलेसम्म नागरिकता नलिएको नेपालको एक मात्र समुदाय हो यो ।
गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले राउटे लोप हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण भएको बताइन् । ‘बदलिँदो खानपिन शैली, सामाजिक परिवर्तनको प्रभावजस्ता कारणले स्वास्थ्यमा प्रत्यक्ष/अप्रत्यक्ष असर पारेको छ । पछिल्लो समय अधिकांश राउटे विभिन्न रोगको सिकार भएका छन्,’ उनले भनिन्, कन्दमूल पाइन छाडेपछि र जंगलसम्म विकासको प्रभाव पुगेपछि हावापानी, खानपिनमा फेरबदल आयो ।’ राउटे समुदायसँग परिचित स्थानीय पत्रकार भक्तबहादुर शाहीले पृथ्वीमा रहेका स–साना जीवदेखि पातपतिंगरसम्मको संरक्षण भइरहेका बेला मानव जाति राउटेको संरक्षणमा कतैबाट पहल नहुनु दुर्भाग्य भएको बताए । यसका लागि सरकार, आदिवासी संघ–संगठनले अग्रसरता लिनुपर्ने उनले सुझाव दिए । ‘हामीले सरकारलाई भत्ताका लागि लबिङमात्र गर्यौं । राउटेको चाहनाअनुरूपको कार्यक्रम ल्याउन पहल गरेनौं,’ शाहीले भने । राउटेलाई जिल्ला बोलाउने र कार्यालय, व्यवसायीबाट चन्दा उठाउने प्रवृत्तिको आलोचना हुने गरेको छ । पैसा जति रक्सीमै खर्च गरेर आफ्नै आयु छोट्याउन राउटे उद्यत रहेकाले आलोचना भएको हो ।
राउटे जातिको अस्तित्व रक्षाका लागि राज्यले विशेष कार्ययोजना बनाउनुपर्ने सरोकारवालाको सुझाव छ । ‘स्थायी बसोबास गर्ने वा फिरन्ता जीवन बिताउने भन्ने निर्णय गर्ने अधिकार राउटेकै हो । जबर्जस्ती कन्भिन्स गर्ने भन्दा पनि उनीहरूलाई संरक्षित मानव समुदायका रूपमा राज्यले विकास गर्नुपर्छ,’ पत्रकार शाहीले भने, ४ वर्ण ३६ जातको फूलबारी र ५८ आदिवासी जनजातिमध्ये राउटे पनि राष्ट्रका गहना हुन् ।
उनीहरूको कला, भाषा, संस्कृति, परम्परा, वेशभूषाको जगेर्ना गर्न राज्यले ढिलाइ गर्नु हुँदैन । भत्ता दिएर मात्र राउटेको संरक्षण नहुने कतिपयको तर्क छ । सबैले जातीय पहिचान खोजेका बेला राउटे पहिचान पनि जोगाउनुपर्ने स्थानीय आदिवासी जनजाति अगुवा इमानसिं रानाले बताए । ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेझैं राउटे आदिवासी जनजातिकै
नजरमा ओझेलमा परेको छ, रानाले भने, ‘सरकारले संरक्षित मानव जातिका रूपमा विकास गरोस् ।’
http://kantipur.ekantipur.com/printedition/news/2016-03-09/20160309093117.html