यार्सागुम्बा टिप्न नपाएपछि ‘आम्दानी गुम्यो, अहिले छाक जुटाउनै गाह्रो’

प्रकाश पन्त 

बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत,UTTAM BABU SHRESTHA

विगत १२ वर्षदेखि डोल्पाका पाटनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्दै आएकी जाजरकोटकी निर्मला परियारले यार्साबाट बर्सेनि तीन–चार लाख रुपैयाँ कमाउने गर्थिन्।

तर यसपालि कोरोनाभाइरस महामारीका कारण यार्सा सङ्कलन रोकियो। त्यसबाट आफ्नो आम्दानी गुमेको उनको गुनासो छ।

उनको खेतबारीमा उब्जेको अन्नले तीन महिना पनि खान पुग्दैन।

वर्षभरि नै ऋण सापट गरेर साध्य नहुने भएकोले छ जनाको परिवार कसरी पालिने भन्ने चिन्ताले सताउने गरेको उनी बताउँछिन्।

कर्णाली प्रदेशमा यार्सागुम्बामा निर्भर ग्रामीण अर्थतन्त्रकी उनी प्रतिनिधिपात्र हुन्।

घरखर्च जुटाउन चुनौती

कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू र रोग सर्ने डरका कारण उनीजस्ता हजारौँ मानिसहरूले यस वर्ष आफ्नो आयस्रोत गुमाएका छन्।

यार्सागुम्बाको आम्दानीले वर्ष भरिको खर्च जुटाउँदै आएकी उनी भन्छिन्, “गाउँमा आम्दानी गर्ने अरू उपाय छैन। यो वर्ष कसरी घर खर्च जुटाउने?”

BBC
तस्बिर स्रोत,UTTAM BABU SHRESTHA

बर्सेनि यार्सागुम्बाकै आम्दानीमा भरपर्दै आएका जाजरकोटकै मानबहादुर विश्वकर्मा पनि आम्दानी गुम्दा यो घरव्यवहार चलाउन मुस्किल परेको गुनासो गर्छन्।

उनी भन्छन्, “ऋण गरे तिर्ने उपाय छैन। खाने लगाउने सबै किन्नुपर्छ, आम्दानी गुम्दा छाक जुटाउनै समस्या भएको छ।“

गुम्यो वर्ष दिनको कमाइ

यार्सागुम्बा सङ्कलन गर्न जान नपाउँदा अहिले हजारौँ परिवार आर्थिक समस्यामा परेका छन्। अरू आयस्रोत नभएकाले अहिले चुलो बाल्न र जीवन धान्न पनि कठिन भएको उनीहरूको भनाइ छ।

कमजोर आर्थिक अवस्था भएका कर्णालीसहित विभिन्न जिल्लाका मानिसहरू यार्सा सङ्कलन गर्ने र त्यसैबाट जीवन चलाउँदै आएका थिए।

लामो समयदेखि यार्सासम्बन्धी अध्ययन गरिरहेका डा. उत्तमबाबु श्रेष्ठ यार्सागुम्बा सङ्कलन गर्न बर्सेनि पाटन पुग्नेहरूको आम्दानीको ७७ प्रतिशतसम्म स्रोत यार्सागुम्बा रहेको बताउँछन् ।

श्रेष्ठका अनुसार त्यही आम्दानीले खाद्यान्न र लत्ताकपडा किन्ने, औषधोपचार गर्ने, छोराछोरीको पढाइ खर्च जुटाउने गरिन्थ्यो।

यार्सा संकलन नहुँदा सरकारलाई प्राप्त हुने राजस्व पनि घाटा लागेको छ ।

निर्मला र उनका पति यज्ञले यार्सा टिप्न पाटन गएर एक–डेढ महिनाको कमाइले वर्षभरि पुर्‍याउँथे।

छोराछोरी पढाउने लेखाउने, घरखर्च चलाउने, अन्नपात किन्ने, लत्ताकपडा फेर्ने सबै त्यही आम्दानीबाट गर्दै आएकोमा यसपालि उनीहरू समस्यामा परेको सुनाउँछन्।

यज्ञ परियार भन्छन्, “यार्साको आम्दानी नहुँदा गाउँलेले पनि पत्याउन छाडे, त्यसैले भोकभोकै बस्नु पर्ने अवस्था सिर्जना हुन थालेको छ।”

विसं २०५५ देखि यार्सा टिप्दै आएका मानबहादुर विश्वकर्माका परिवारका छ जना बर्सेनि यार्सा टिप्न जान्थे। त्यसबाट उनीहरू एक वर्षमा १० लाख रुपैयाँसम्म कमाउँथे।

“यार्साबाहेक गाउँमा रोजगारीका अवसर छैनन्,” उनी भन्छन्, “त्यसैले दिनहरू बित्दै जाँदा समस्याहरू झन् बल्झिँदै जाने देखिन्छ।”

तस्बिर स्रोत,UTTAM BABU SHRESTHA

डोल्पाका टोपबहादुर शाही पनि यो वर्ष यार्साको आम्दानी गुमेपछि कसरी एक वर्षको खर्च धान्ने भनेर चिन्ताले सताउन थालेको बताउँछन्।

उनी विगतमा यार्सागुम्बा बेचेर कमाएको पैसाले वर्षभरि चाहिने खाद्यान्नको जोहो गर्थे। “यसपालि चुलो बाल्न पनि गाह्रो छ,” उनी भन्छन्।

डोल्पा, जुम्ला, मुगु, हुम्ला, दार्चुला, म्याग्दी, रुकुम, मनाङ, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लाका पाटन पुगेर प्रत्येक वर्ष जेठदेखि असारसम्म हजारौँ मानिसले यार्सागुम्बा टिप्ने गर्छन्।

विगतका वर्षहरूमा जेठ १५ गतेदेखि यार्सा सङ्कलन गर्न खुला गरिन्थ्यो। तर यसपालि कोरोनाभाइरस फैलिने डरले ती जिल्लामा स्थानीय प्रशासनले यार्सागुम्बा टिप्न रोक लगाएपछि धेरै मानिस मर्कामा परेका छन्।

“आम्दानीको स्रोत रोकियो,” यसपालि यार्सा टिप्न नपाएकाहरू भन्छन्, “सरकारले दिएको राहत हप्ता दिन पनि पुगेन।”

नेपालमा प्रत्येक वर्ष झन्डै पाँच अर्ब रुपैयाँको कारोबार हुने यार्सागुम्बाबाट सरकारले दुई करोड रुपैयाँजति राजस्व सङ्कलन गर्ने गरेको डा. श्रेष्ठ बताउँछन्। बीबीसी नेपाली सेवाबाट

प्रकाशित मितिः २१ आश्विन २०७७, बुधबार १२:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *