सुर्खेत, १० असार ।
पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक कार्यालयमा लागेको ताला सरोकारवालावीचको सहमतिवाट मात्र खोल्न अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता रत्नबहादुर भण्डारीले विश्वविद्यालय तालावन्दी, वन्द हड्ताल आदि नपाउने गरी आदेश जारी गर्न माग गदै दायर गरेको रिटमाथी सुनुवाई गदै अदालतले यस्तो आदेश जारी गरेको हो ।
अदालतका मुख्य न्यायधिश तेजबहादुर केसी र न्यायधिश गुणराज ढंगानाको संयुक्त इजलासले विश्वविद्यालय र अखिल क्रान्तिकारी एकाई समितिवीच छलफलको माध्यमवाट आपसी सहमति र संझौता गरेर मात्र तालावन्दी खुलाउन अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले विश्वविद्यालयमा वन्द, हडताल हुनु अस्वभाविक नभएको ठहर समेत गरेको वताएको छ ।
अदालतले विश्वविद्यालयमा नियमति शैक्षिक, प्राज्ञिक गतिविधी अवरुद्ध नगर्न÷नगराउन पनि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेका पुनरावेदन अदालत सुर्खेतका उपरजिष्ट्रार डिल्लीराम अर्यालले बताए ।
रिट निवेदकका तर्फवाट अधिवक्ता प्रेमध्वज शाही, विपक्षी विश्वविद्यालयका तर्फवाट अधिवक्ता विवशकुमार वस्नेत र जिल्ला प्रशासन र प्रहरी कार्यालयको तर्फवाट पुनरावेदन सरकारी वकिल कार्यालयका उपन्याधिवक्ता लक्ष्मीनारायण दाहालले वहस गरेका थिए ।
अधिवक्ता भण्डारीले विश्वविद्यालयमा तालावन्दी, वन्द हड्ताल आदि नपाउने गरी आदेश जारी गर्न माग गदै विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी संगठन, शिक्षक कर्मचारी संगठनका साथै प्रहरी प्रशासनलाई विपक्षी बनाएर गत जेठ ३१ गते रिट दायर गरेका थिए ।
रिटमाथी पनुरावेदन अदालतले शुक्रवार सुनुवाई गरेको हो ।