शिक्षाका लागि आएको १ अर्ब ८ करोड ४८ लाख रुपैया कहाँ गयो ?

सुर्खेत, १४ साउन ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतले गएको आर्थिक वर्ष विद्यालयस्तरको शिक्षाका लागि १ अर्ब ८ करोड ४७ लाख ३६ हजार रूपैयाँभन्दा बढी खर्च गरेपनि सामुदायिक विद्यालयहरुमा देखिएको कमजोर नतिजा र सिकाइ उपलब्धी हेर्दा लगानी सवै वालुवामा पानी भएको छ ।
प्राथमिक, निमावि र माविका शिक्षकको लागि मात्रै तलब भत्ता बापत ६५ करोड ४९ लाख १ हजार २ सय रुपैयाँ खर्च भएको छ ।
शिक्षा कार्यालयले गत आवमा ९४ प्रतिशत वित्तिय प्रगति भएको जनाएपनि सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धी औषतमा ४५ प्रतिशत पनि नहुनुले शिक्षामा खर्च गरे अनुसार उपलब्धी नभएको प्रष्ट हुन्छ ।
निम्न माध्यामिक विद्यालयमा ४३ दशमलव २७ र माध्यामिकमा ३५ दशमलव ७७ प्रतिशत मात्रै सिकाइ उपलब्धी रहेको बताइएको छ ।
जिल्ला शिक्षा अधिकारी दिपा हमालले विद्यार्थीको सिकाइ उपलब्धी सोचे अनुरुप हुन नसकेकाले ‘सामुदायिक विद्यालयको शैक्षिकस्तरको बारेमा समीक्षा गर्नु आवश्यक रहेको वताउनु भयो ।
लगानीको तुलनामा सामुदायिक विद्यालयको परीक्षाको नतिजामा सुधार नआएको स्वीकार गदै उहाँले एसएलसी परीक्षाको नतिजामात्रै शिक्षाको गुणस्तर मापन गर्न नहुने उल्लेख गर्नुभयो ।
विद्यालयहरुमा हुने राजनैतिक हस्तक्षेप, शिक्षकहरुमा देखिएको राजनैतिक पूर्वाग्रह नै सामुदायिक विद्यालयहरुको नतिजा खस्कनुको प्रमुख कारण भएको बताएको छ ।
आव ०७२÷७३ मा कार्यालय संचालनमा ८३ लाख ७१ हजार ८ सय ५९ रुपैयाँ, शिशु विकास कार्यक्रममा ८० हजार, विद्यालय भौतिक सुधार कार्यक्रममा ५९ लाख, पढाई सीप प्रवद्र्धनमा २२ लाख १३ हजार ५ सय ८८ रुपैयाँ खर्च भएको छ ।
यस्तै सामुदायिक विद्यालय क्षमता अभिवृद्धिमा ७ लाख ८५ हजार ३ सय २५, विद्यालय क्षेत्र सुधारमा ३६ करोड २७ लाख ६६ हजार ९ सय ५१ रुपैयाँ खर्च भएको छ ।
शैक्षिक स्तर खस्किएका विद्यालयहरुको स्तर सुधारका लागि राम्रा विद्यालयहरुको अनुभव साटासाट गराउने कार्यको सुरूवात् गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
समयमा कार्यक्रम र अख्तियारी प्राप्त नहुँदा बजेटको तालमेल नहुनु, भौतिक सुविधा विस्तारमा भवनको नक्सा ढिलो प्राप्त हुँदा समयमै काम सम्पन्न नहुने समस्या रहेको कार्यालयले बताएको छ ।
यस्तै अनुमति प्राप्त गरी लामो समयदेखि निजी स्रोतमा सञ्चालित विद्यालयमा दरवन्दी दिन नसकिएको र न्युनतम दरवन्दी नपुगेका विद्यालयमा पनि दरवन्दी दिन नसकिएको जिल्ला शिक्षा अधिकारी हमालले वताउनु भयो ।

प्रकाशित मितिः १७ श्रावण २०७३, सोमबार १२:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *