विद्यार्थीले कम्प्युटर देख्नै पाएनन्

बद्री पन्त
जाजरकोट १२, पुस
त्रिभुवन माध्यामिक विद्यालय खलंगामा ८ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्प्युटर विषय पढ्न थालेको ३ बर्ष  वित्न थाल्यो तर अहिले सम्म उनले कम्प्युटर छुन त परको कुरा देख्न सम्म पाएकी छैनन् । ‘पाठ पढ्छौ त्यसकै आधारमा परीक्षा गछौ प्रयाक्टिकल अंक सित्तैमा सरले दिनु हुन्छ ’आशाले भनिन अहिले सम्म कम्प्युटर छुन पाएकी छैन । आशा जस्तै त्यस विद्यालयमा ६ कक्षा देखी ८ कक्षामा अध्ययनरत करीव तीन सय विद्यार्थी मध्य कुनैले पनि कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गर्न पाउँदैनन् ।IMG_20161121_113428
शैक्षिक बर्ष २०६९ साल देखि सरकारले विद्यालय तह अन्र्तगत ६ देखी ८ कक्षा सम्म कम्प्युटर विषयलाई ऐच्छिक विषयको रुपमा राखेको भएपनि अनिवार्य विषय जस्तै गरी जिल्लाका सवै विद्यालयमा यो विषय पढाई हुन्छ । तर कुनै पनि विद्यालयले कम्प्युटरको प्रयोगात्मक अभ्यास गराउँदैनन् । ‘सरहरुले पाठ पढाउँनुहुन्छ तर कसरी कम्प्युटर चलाउने भन्ने सिकाउनु हुन्न’ कक्षा ६ मा अध्ययनरत छात्रा चन्द्रमा डाँगीले भनिन—‘ हामीले कम्प्युटर देख्न समेत पाएका छैनौं । ’ प्रत्येक पाठमा कम्प्युटर कसरी चलाउने भन्ने विषयबस्तु राखिएको छ तर विद्यालयमा कम्प्युटर नहुँदा विद्यार्थीहरु सैद्धान्तिक ज्ञानमै चित्त बुझाउन बाध्य छन् ।  कम्प्युटर शिक्षक पवन शर्मा पनि विद्यालयमा कम्प्युटर नहुँदा सो विषय अध्यापनमा निकै समस्या परेको बताउँछन् । विद्यार्थीले दिनहुँ कम्प्युटर चाहियो भनेर हैरान पारिरहन्छन् विद्यालय प्रशासन आर्थिक अभाव देखाउँदै पन्छिन्छ शिक्षक शर्माले भने यो विषयको पाठ्यक्रममा ५० प्रतिशत प्रयोगात्मक अभ्यासको लागी छुट्याईएको छ तर कुनैपनि विद्यार्थीले उक्त अवसर पाएका छैनन् । जिल्ला सदरमुकामकै विद्यालयको त यस्तो हालत छ भने ग्रामिण भेगका विद्यालयको हालत कस्तो होला ? अर्का शिक्षक हरीबहादुर बस्नेतले प्रतिप्रश्न गदै भने ‘सरकारले आवश्यक पुर्वाधारको ब्यवस्था नगरेरै हचुवाको भरमा पाठ्यक्रम निर्माण गरेकोले समस्या आएको हो । ’
जिल्लाका एकाध बाहेकका कुनै पनि विद्यालयले कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउँदैनन् । विद्यालयहरुमा न त कम्प्युटर छन् न त कम्प्युटर चलाउने विजुली बत्ती नै छ । धेरै जसो विद्यालयमा कम्प्युटर सम्बन्धि ज्ञान भएका शिक्षक समेत छैनन । निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले सरकारले आवश्यक पुर्वाधार , दक्ष जनशक्ति र ठोस योजना विनै कम्प्युटर विषयको अध्यापन गराउन थालेकोले समस्या आएको बताए । जिल्लाका अधिकांश शिक्षकलाई नै कम्प्युटर विषयको ज्ञान नहुँदा कम्प्युटर र पावरको ब्यवस्था भएपनि सदुपयोग गर्न नसकेको उनको भनाई छ ।  सरकारले जिल्ला शिक्षा मार्फत विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको विकास गरि शिक्षण गर्ने भन्दै आवश्यक बजेट पनि प्रत्येक बर्ष पठाईरहेको कार्यालयले जनाएको छ तर उक्त रकम कतै पनि सदुपयोग गरेको पाईदैन । निमित्त जिल्ला शिक्षा अधिकारी गिरीले जिल्लाका एक सय सात विद्यालयमा दुई बर्ष अघि नै एक लाखका दरले कम्प्युटर खरीदका लागी बजेटको ब्यवस्था गरिएको बताए । सवै विद्यालयमा कम्प्युटरको ब्यवस्था गरि विद्यार्थीलाई प्रयोगात्मक अध्यास गराउन र सुचना प्रविधिको प्रयोग गरेर अध्यापन गराउन निर्देशन दिईएको उनले दावी गरेपनि धेरैजसो  विद्यालयमा न कम्प्युटरको ब्यवस्था गरिएको छ न सूचना प्रविधीको प्रयोग नै । जाजरकोटका ६ देखी ८ कक्षा सम्म संचालित एक सय ५३ ओटै विद्यालयमा कम्प्युटर विषयको अध्यापन गराईन्छ । तर जिल्लाका करीव २० हजार विद्यार्थी कम्प्युटरको मुखै नदेखेर परीक्षा दिन बाध्य छन् । जाजरकोटमा मात्र होईन देशभरका दुर्गम जिल्लाहरुको अवस्था यस्तै रहेको सरोकारवालाहरुको भनाई छ ।

प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार १६:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *