सुर्खेत, १ जेठ ।
एसओएस बालग्राम नेपालका बाल क्लवहरुको प्रथम राष्ट्रिय भेला बुधवारदेखि सुर्खेतको बीरेन्द्रनगरमा सुरु भएको छ । तीन दिनसम्म संचालन हुने भेलामा मुख्य गरी बाल सहभागीता, बालअधिकार र दायित्व, नेतृत्व विकासलगायतका विषयमा छलफल हुने एसओएस बालग्राम नेपाल बाल संरक्षण विभागका फोकल पर्सन रेश्मा श्रेष्ठले बताइन् ।
प्रथम भेलाबाट एसओएस बालग्रामको राष्ट्रिय नेटवर्क गठन गर्ने समेत उनले जानकारी दिइन् । भेलामा इटहरी, काभ्र्रे, सानोठिमी, जोरपाटी, लुम्विनी, गण्डकी, पोखरा, भरतपुर, सुर्खेत र धनगडीमा रहेका एसओएस वालग्रामका बाल क्लवहरुको सहभागीता रहेको छ ।
दश वटा क्लबका ३० जना बालबालिकाको सहभागीता रहको भेलाबाट आएका निश्कर्षलाई एसओएस बालग्राम नेपालको वोर्डमा राखिनेछ ।
बुधवार एसओएस वालग्राम सुर्खेतमा भएको भेलाको उद्घाटन गदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बालबालिकाले भोग्दै आएका समस्या र समाधानका उपायहरु पहिचान गर्न भेला सफल हुने विश्वास व्यक्त गरे । उनले बालअधिकारको सुनिश्चित गदै समस्यामा परेका बालबालिकालाई संरक्षण दिन प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
मुख्यमन्त्री शाहीले जीवन व्यवहारमा लागु गर्ने शिक्षा आवश्यक रहकोले प्राविधिक शिक्षामा जोड दिन एसओएसलाई आग्रह गरे ।
एसओएस वालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले तीन दिनसम्म संचालन हुने बाल भेलाले बालबालिकाको सुरक्षा र अधिकारको लागि ठोस रणनीति बनाउने दावी गरे । उनले समस्यामा परेका बालबालिकाको हकअधिकार सुनिश्चित गर्न सवैको सहयोग र समन्वय आवश्यक रहेको पनि बताए ।
एसओएस बालग्राम सुर्खेत वाल क्लवका अध्यक्ष अनिता शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेतका सहायक प्रमुम जिल्ला अधिकारी कृष्णबहादुर खड्का, वडाध्यक्ष निलकण्ठ खनाल, शिक्षाविद गेहेन्द्रप्रसाद दाहाल लगायतको सहभागीता रहेको थियो ।