निर्डर स्वास्थ्य सिपाहीको गोल्छे सार्कीसगँको त्यो विवाद

राजेशकुमार बुढा स्वास्थ्य क्षेत्रकै चर्चित व्यक्तित्व हुनुहुन्छ । सिनियर अहेव बुढा निर्डर स्वास्थ्यकर्मीको रुपमा परिचित हुनुहुन्छ । विगत ८ वर्षदेखि नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको अध्यक्ष समेत रहेको बुढा अहिले स्वास्थ्य चौकी नेटमा कार्यरत हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रसगै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । बुढाकै सक्रियतामा सुर्खेतका धेरै ठाउँमा निशुल्क स्वास्थ्य शिविरहरु पनि भएका छन । सधै गाउँका जनताको स्वास्थ्य समस्याप्रति चिन्तित बुढा सरकारले गाउँका स्वास्थ्य संस्थालाई स्रोत साधनले सम्पन्न बनाउनु पर्नेमा जोड दिनुहुन्छ ।
शिक्षकदेखि स्वास्थ्यकर्मीसम्मको यात्रा

२० वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल सिनियर अहेव बुढाले सानैदेखि स्वास्थ्यकर्मी भएर बिरामीको सेवा गर्ने सपना देख्नु भएको थियो । उहाँको त्यो सपना २०५३ सालमा आएर पुरा भयो । त्यसपछि उहाँ अहिलेसम्म निरन्तर रुपमा जनताको उपचारमै सक्रिय हुदै आउनु भएको छ । दैलेखको बाँसी गाविस –२ मा जन्मिनु भएका बुढाले २०४३ सालमा एसएलसी पास गर्नु भएको थियो । एसएलसी पास गर्न वित्तिकै उहाँले शिक्षकको जागिर खानु भएको थियो । त्यसपछि उहाँले २ वर्ष अथायी र ८ वर्ष स्थायी गरी १० वर्ष शिक्षक भएर काम गर्नुभयो । सानैदेखि पढाईमा अव्वल वुढाले त्रिभुवन माध्यामिक विद्यालय दैलेखवाट एसएलसी पास गर्नु भएको थियो । उहाँ परिक्षामा सधै पहिलो वा दोस्रो भैइरहनु हुन्थ्यो । स्थायी शिक्षकको लागि भएको परिक्षामा एकैपल्ट उहाँले सुर्खेत र दैलेख जिल्लावाट नाम निकाल्नु भएको थियो । गाउँकै मालिका निम्न माध्यामिक विद्यालयमा पढाउदै गर्दा गर्दा २०४६ सालमा बेतलवी विदा लिएर उहाँले अहेव पढनु भएको थियो । अहेवसगसगै २०४८ सालमा आइए पनि पास गर्नुभयो ।
यसरी स्वास्थ्यकर्मी बन्ने प्रेरणा मिल्यो
उहाँ भन्नुहुन्छ अहेवको पढाई पुरा गरेपछि घरमै औषधी पसल राखेर शिक्षक भएपनि विरामीको उपचार गरे । २०५३ सालमा अहेवमा स्थायी नाम निकालेपछि शिक्षक पेशा छाडेर पूर्ण रुपमा स्वास्थ्य सेवामा होमिए । त्यतिवेला एउटा जिल्लामा ८÷१० जना मात्रै स्वास्थ्यकर्मी हुन्थे । विरामीलाई गाउँमै धामी झाक्री गर्ने चलन थियो । झाडापखाला लागेको मान्छेलाई स्वास्थ्य संस्थामा उपचारको लागि लिनुको साटो डोरी बाँधेर झारफुक गर्ने चलन थियो ।
यस्तै चलनका कारण फुपुको पनि झाडापखालावाट मृत्यु भयो । झाडापखालावाट फुपुको निधन भएपछि डाक्टर बनेको विरामीको ज्यान बचाउने प्रेरणा जागिृत भयो । त्यही घटनाले गर्दा स्वास्थ्यकर्मीको यात्रा सुरु भयो । त्यतिवेला जीवनजल मात्र खुवाएको भए फुपु बाँच्नु हुन्थ्यो । त्यो घटना सम्झदै बुढा भन्नुहुन्छ जीवन जल नै खुवाउन सकिएन, फुपु वित्नु भयो । त्यसपछि स्वास्थ्यकर्मी बनेर गाउँलेको सेवा गर्ने योजना बनाएर अघि बढे । सफल पनि भए ।
त्यतिवेला लिखित परिक्षा हुदैन्थ्यो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले मौखिक परिक्षा मात्र लिन्थ्यो । पहिलो पटक नै स्थायीमा नाम निकाल्न सफल भए । पहिलो पोष्टिङ्ग भने आफनै जिल्ला दैलेखमा भयो । दैलेखको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा भयो । हाजिर भएको ३ दिनमै दैलेखकै भैरव गाविसमा रहेको स्वास्थ्य चौकीमा सरुवा भयो । त्यहाँ १ वर्ष काम गरे । जागिरको सिलसिलामा धेरै ठाउँ पुगियो । ति केही रहर त केही वाध्यता थिए । लकान्द्रा स्वास्थ्य केन्द्रवाट सुरु भएको स्वास्थ्यको जागिरको यात्रा २०५४ सालदेखि दैलेखको वडाखोली, बासी, सुर्खेतको मेहलकुना, दैलेखको सल्लेरी, सुर्खेतको अवलचिङ्ग, गोरखा, हुम्ला, प्युठान, सुर्खेतको दशरथपु, आग्रीगाउँ हुदै अहिले नेटा स्वास्थ्य चौकीमा आइपुगेको छ ।
३ महिनामै ३ जिल्ला सरुवा


जागिरको दौडान उहाँले धेरै तितामिठा अनुभव संलाग्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा काँग्रेसको पक्षमा कडा रुपमा लागेको आरोपमा उहाँको ३ महिनाभित्रै ३ जिल्लामा सरुवा भयो । स्थानीय निकायको चुनावको प्रचार प्रसारको लागि तत्कालिन राष्ट्रिय सभा सदस्य तथा एमालेका नेता गोल्छे सार्की दैलेख जानु भएको थियो । उहाँसग केही साथीहरुको विवाद भयो । त्यसमा राजेश बुढा पनि मुछिनु भयो । अनि कर्मचारीले राजनीति गर्ने भन्दै २४ घण्टा भित्रै उहाँलाई गोरखा जिल्ला सरुवा गरियो । त्यतिवेला लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले सरकारमा थियो । त्यसपछि एकमहिना भित्रै हुम्ला अनि अर्को महिना प्युठान सरुवा गरियो । प्युठानमा भने २ वर्ष बसियो । उहाँ भन्नुहुन्छ राजनीतिक पूर्वाग्रह साध्न दुख दिने नियतले सरुवा गरिएको थियो । सधै जनताको स्वास्थ्य सेवामा समर्पित व्यक्ति भएको हुनाले जहाँ खटायो त्यही गएर जनताको सेवा गरे । त्यसलाई खासै ठुलो कुरा ठानिन ।
स्वास्थ्य पेशामा जस पाउन कठिन, शिक्षक नै मर्यादित पेशा


स्वास्थ्य क्षेत्रमा माथिल्ला निकायको चाकडी गर्नु पर्ने, स्वतन्त्र भएर काम गर्ने वातावरण नहुने, राम्रो काम गर्छु भन्दा भन्दै सरुवाको मार खेप्नु पर्ने, जनतालाई घर दैलोमै स्वास्थ्य सेवा दिनको लागि शिविर आयोजना गर्दा विभिन्न आरोपहरु झेल्नु पर्ने अवस्था छ । जसले गर्दा मलाई शिक्षक जस्तो मर्यादित पेशा अरु अनुभव भएन । शिक्षक पेशा वुद्धि बेचेर खाने पेशा हो । स्वास्थ्यमा जति सेवा गरेपनि गुण जस पाइदैन । यस्तै अनुभुति भयो । हजारैको ज्यान वचाउँदा पनि एउटा गल्ती हुँदा त्यो नै सवै भन्दा ठुलो गल्ती संझेर स्वास्थ्यकर्मीलाई सवैले पेल्न खोज्छन । समस्या पर्दा स्वास्थ्यकर्मीको सहारा न राज्य हुन्छ । नत जनता नै ।
उपचार गर्दाको उपहार उजुरी
२०५५ सालतिरको एउटा घटना सिनियर अहेव राजेशकुमार बुढाको स्मरणमा सधै आउछ । घटनाको वोलीविस्तार गदै उहाँ भन्नुहुन्छ साउन महिनातिरको कुरा हो । एकजना महिला जंगलमा सुत्केरी भएको छ भन्ने खवर आयो । हामी २ जना स्वास्थ्यकर्मी स्टेचरसहित गयौ । बच्चा जन्मेर मरि सकेको थियो । अस्पताल ल्याएर आमाको ज्यान बचायौ । ८÷१० दिनसम्म लालनपालन पनि गरयो । तर उसको आमाले हामीलाई प्रहरीमा उजुरी दिइन । कुरा अकै रहेछ पछि पो हामीलाई थाहाँ भयो । पछि उनै महिलाले हामीलाई अनावश्यक रुपमा दुख पाउनबाट जोगाइ । यस्तै २०६६ सालतिरको पनि एउटा घटना उहाँको सम्ंझनामा सधै आइरहन्छ । प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा कार्यरत हँुदा विषालु सर्पले टोकेका एकजना मान्छे उपचारको लागि आए । उपचार गदै गर्दा म एक्कासी बीरेन्द्रनगर आउनु पर्ने भयो । उपचार नै नगरी बीरेन्द्रगर आउँदा विरामीको ज्यान जाने, बीरेन्द्रनगर नआउदा आफुलाई समस्या हुने भएपनि बीचको बाटो निकाले । एम्वुलेन्समा बिरामीको उपचार गदै क्षेत्रीय अस्पतालमा ल्याए । कहिलेकाँही यस्तो संकटपूर्ण अवस्थामा पनि काम गर्नु पर्ने हुन्छ । तर सरकार र जनतालो यो सवै कुरा बुझदैनन् । यो सवै स्वास्थ्यकर्मीले भोग्नु परेको तीतो अनुभव पनि हो ।
जनताको घरदैलोमै स्वास्थ्य शिविर
नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष बुढाले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा दिने उदेश्यले विभिन्न ठाउँमा स्वास्थ्य शिविर पनि संचालन गर्नुभयो । नेपाल स्वास्थ्यकर्मी संघको अगुवाईमा विभिन्न निकायसगँ समुन्वयमा जनरल क्याम्पदेखि महिलाको पाठेघरको क्यान्सर जाँच, आँखाको मोतिया बिन्दुको अप्रेसन, स्त्री रोग, दन्त रोग, कान लगायत सवै खाले रोगको उपचार सम्वन्धी शिविरहरु भए । सुर्खेतको गुटु, सहारे, कल्यान, नेटा, रझेना, राकम, मालारानी, मेहलकुना, मैनतडा, कुनाथरीको चेपाङ, घाटगाँउ, तातापानी, मटेला, दशरथपुर, विद्यापुर, बावियाचौर लगायतका ठाउँमा भएका निशुल्क शिविरमा करिव २ हजार जनाको हाइड्रोसिल, हर्निया र सिस्टको अप्रेसन गरिएको थियो । ५ सय जनताको आँखाको अप्रेसन भयो भने करिव १० हजार जनाले उपचार पाए । आर्थिक लगायत विभिन्न कारणले उपचार पाउन नसकेका सर्वसधारणलाई यस्ता शिविरबाट ठुलो राहात भएको थियो ।
गाउँकै स्वास्थ्य संस्थावाट विशेषज्ञ सेवा दिने व्यवस्था गर्नुपर्छ
२० वर्षको स्वास्थ्य सेवाको अनुभव संलाग्नु भएका वुढाको नजरमा जनताले विशेषज्ञ सेवा पाउँन सकेका छैनन् । हजारै हजार आमाहरु पाठेघर खस्ने समस्यावाट पीडित छन । उनीहरुको खोजतलास हुन सकेको छैन । सरकारले यस्ता महिलाहरुको पहिचान गरी उपाचार गर्नुपर्छ । पछिल्लो समयमा एचआइभी एड्स भन्दा पनि म्यानेजाइटिस, एन्सेफलाइटिस लगायत विभिन्न खालका सरुवा रोगहरुको कारण धेरै मान्छेले अकालमा ज्यान गुमाएका छन । राज्यले यसतर्फ वड्ता ध्यान दिनुपर्छ । गाउँका स्वास्थ्य संस्थामा उपकरण छैनन् । सर्वसाधारण सहरका महंगा स्वास्थ्य संस्थामा उपचारको लागि जान वाध्य छन । त्यसैले प्रत्येक स्वास्थ्य संस्थामा एक्सरे मेसिन लगायतका आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्नुपर्छ । नाडी छामेकै भरमा विरामीको उपचार गर्नुपर्ने अवस्था अन्त्य गदै स्रोत साधन र दक्ष जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ ।
पारस्परिक सरुवा हुनुपर्छ
स्वास्थ्य संस्थालाई भौतिक र उपकरणले सम्पन्न बनाउनु पर्छ । समयमै भौतिक संरचना निर्माण गर्नुपर्छ । प्रयाप्त उपकरणको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य संस्थामा पानीको व्यवस्था, औषधीको प्रयाप्तता, बत्ति नपुगेको ठाउँमा सोलर बत्तिको व्यवस्था गर्नुपर्छ । अहिले एक क्षेत्रवाट अर्को क्षेत्रमा सरुवा गर्दा ५ वर्षे सेवा अवधिको प्रावधान छ । त्यो वास्तवमा अव्यवहारिक छ । त्यो प्रावधान हटाउदै पारस्परिक सरुवा गर्ने व्यवस्था गर्नुपर्छ । ५ वर्षे सेवा अवधिले गर्दा धेरै स्वास्थ्यकर्मीहरु समस्यामा पर्नु भएको छ । हरेक स्वास्थ्यकर्मीलाई जागिरको अवधिमा कम्तिमा पनि ३ वर्षजति दुर्गम ठाउँमा अनिवार्य रुपमा सेवा गर्ने अवसर दिनुपर्छ ।
सामाजिक काममा उत्तिकै सक्रिय
नेपाल स्वास्थ्यकर्मी संघको नेतृत्व समालेपछि बुढाले थुप्रै सामाजिक काम पनि गर्नु भएको छ । विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्नेदेखि एम्वुलेन्स ल्याउनेसम्मका काम उहाँले गर्नु भएको छ । उहाँले स्वास्थ्यकर्मी संघको लागि एम्वुलेन्स, जिल्ला स्वास्थ्य कार्यालय नजिकै प्रतिक्षालय निर्माण, राकम क्याम्पस, सहारे बहुमुखी क्याम्पस कुनाथरी कृषि क्याम्पसलाई आर्थिक सहयोगको व्यवस्था गर्नुयभो । क्यान्सर पीडित स्वास्थ्यकर्मीलाई २ लाख रुपैया आर्थिक सहयोग गर्नेदेखि पूर्व गृहमन्त्री तथा काँग्रेस नेता पूर्णबहादुर खड्काको सहयोगमा क्षेत्र न १ मा ३ सय ४२ वटा स्टेचर बाँडनेसम्मका कामहरु बुढाको अगुवाई भए । अव क्षेत्र न २ र ३ मा पनि स्टेचर बाँडने योजनामा बुढा हुनुहुन्छ ।
जीवन चलायमान यात्रा
४७ वर्षे वुढाले जीवनलाई चलायमान यात्राको संज्ञा दिनुहुन्छ । मेरो अनुभवमा जीवन चलायमान यात्रा हो । उहाँ भन्नुहुन्छ जन्मेपछि एकदिन मनै पर्छ । त्यसैले बाँचुन्जेल निस्वार्थ रुपमा काम गर्नुर्छ । लोभलालच गर्नु हुदैन । समाजप्रति उत्तरदायी र जिम्मेवार भएर राम्रो काम गर्नुपर्छ । स्वास्थ्य सेवा दिने व्यक्तिमा सेवा भाव हुनैपर्छ । सेवा भावले प्रेरित हुन सकेमात्र जनतालाई स्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भने उहाँको ठम्याई छ ।
राजनीति गर्ने भावि योजना
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघवाट राजनीति थाल्नु भएका बुढाको भावि योजना भने राजनीतिवाट समाज सेवा गर्ने छ । शिक्षक हँुदा होस, कर्मचारी युनियन होस वा स्वास्थ्यकर्मी हँुदा पार्टीलाई सक्दो सहयोग गदै आएको उहाँ बताउनु हुन्छ । प्रकाश पन्तसँगको कुराकानीमा आधारित ।

प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १५:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *