कुशल नेतृत्वकर्ता, टीकाराम

समाज जागरण केन्द्र, (स्याक नेपाल) का निर्देशक टीकाराम आचार्य कुशल नेतृत्व कर्ता हुनुहुन्छ । गैरसरकारी क्षेत्रको हस्ती उहाँले लामो समयदेखि यो क्षेत्रको नेतृत्व गदै आउनु भएको छ । उहाँले गैरसरकारी संस्था मार्फत समाज परिवर्तनमा अहंम भुमिका निर्वाह गर्नु भएको छ । आचार्य, सुरेशकुमार तिवारी लगायत केही साथीहरु मिलेर २०५२ सालमा समाज जागरण केन्द्र स्याक स्थापना गर्नु भएको थियो । सुरेशकुमार तिवारी संस्थापक अध्यक्ष र आचार्य सचिव हुनु भएको थियो । समाजको लागि केही गर्नुपर्छ भनेर स्याक स्थापना गरियो, उहँले भन्नुभयो, अहिलेसम्म यसमै क्रियाशिल छु ।
सुरुमा सचिव हुनु भएका आचार्य २०५३ सालमा स्याकको कर्मचारी हुनु भयो । लेखापाल, लेखाअधिकृत, प्रशासकिय अधिकृत हुदै आचार्य २०५९ सालमा स्याकको निर्देशक हुनु भएको थियो । १५ वर्षदेखि स्याकलाई हाक्दै आउनु भएका आचार्य कुशल नेतृत्वकर्ताको रुपमा पनि परिचित हुनुहुन्छ । समाज परिवर्तनमा अहंम भुमिका
२०५३ सालमा नारी दिवसकै अवसार पारेर स्याक स्थापना भएको थियो । सुर्खेतको ग्रामिण क्षेत्रमा स्याकलाई चिनाउन २०५३ सालको नारी दिवसमा उहाँहरुले महिलाको बृहद रयाली गर्नु भएको थियो । झुप्रा खानेपानीको मुहानबाट सुरु भएको महिलाहरुको र्याली बडिपाटी, दशरथपुर हुदै वीरेन्द्रनगर आएको थियो । र्यालीमा स्वर्तस्फूर्त रुपमा १० हजार महिलाहरु सहभागी भएका थिए ।
स्याकले सुरुका वर्षमा महिला अधिकार, वालअधिकार, शिक्षा, सुशासनको क्षेत्रमा काम गरेको थियो । त्यसपछि एचआइभी एड्स, सुरक्षित मातृत्व जस्ता क्षेत्रमा पनि काम थाल्यौ, निर्देशक आचार्यले भन्नुभयो, अहिले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, किशोरी शसक्तिकरण, जलवायु परिवर्तन, विपद व्यवस्थापनमा काम गरिरहेका छौ । आचार्यले नेतृत्व गरेको स्याकसंग जोडिएका २ सय भन्दा बढी व्यक्तिहरु २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन चुनाव लडेका थिए । त्यसमध्ये ७० ÷८० जनाले चुनाव जिते । सिम्ता गाउँ पालिकाका अध्यक्ष कविन्द्र केसी, लोकवेसी नगरपालिकाकी उपप्रमुख शान्ति छन्तेल र गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक पनि कुनै वेला स्याकसँग जोडिनु भएको थियो । यो पनि स्याकको उपलव्धी हो । स्याकले गरेको कामको वोलिविस्तार लगाउदै आचार्य भन्नुहुन्छ, सुर्खेतको समाजमा जुन परिवर्तन आएको छ, यसमा स्याकको महत्वपूर्ण योगदान छ ।
सधै नयाँ काम
सधै नयाँ काम गर्न रुचाउने आचार्यले पछिल्लो समय एकीकृत वस्ती विकास गर्ने उदेश्यले सुर्खेतमा नमुना समुदाय स्थापनाको अभियान चलाउनु भएको छ । अहिले वीरेन्द्रनगर –१३ को आफर, साटाखानीको लामटाँडी, रामघाटको ठुलो करेलीमा नमुना समुदायको काम सुरु भएको छ । अव ५ वटा गाउँलाई नमुना समुदाय वनाउने योजनामा छौ, आचार्यले उल्लेख गर्नुभयो ।
सुर्खेतको विकासमा साझेदारी गर्ने उदेश्यले स्थापना भएको स्याकले २० वर्षमा २ हजार भन्दा बढीलाई रोजागारी दिएको छ । लाखै मानिसमा चेतनाको दियो बालेको छ । महिला समुह, बाल समुह गठन गरेर उनीहरुको हक अधिकारको पैरवी गरेको छ । सुर्खेतमा भएका अधिकाश नौला कामको नेतृत्व पनि स्याकले नै गरेको छ ।
जस्तो बालमैत्री कक्षा कोठा, कक्षा शिक्षणमा कार्पेटको बसाई व्यवस्था, विद्यालय वाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने अर्थात निशुल्क तथा अनिवार्य शिक्षा घोषणा जस्ता कार्यक्रम हामीले नै सुरु गरेका हौं, अहिले त्यसलाई सरकारले नीतिको रुपमा अघि बढाएको छ, आचार्य भन्नुहुन्छ । सुर्खेतमा अरु पनि नयाँ कुराको सुरुवात गर्ने श्रेय पनि आचार्य नेतृत्वको स्याकलाई जान्छ । गाउँ गाउँमा बालक्लव स्थापना गर्ने, आन्तरिक सुशासन र पारदर्शिताको लागि सामाजिक लेखा परिक्षण सुरुवात काम पनि स्याकले नै गरेको थियो ।
कुशल नेतृत्वकर्ता
कुशल नेतृत्वकर्ता आचार्यले धेरै संस्थाको नेतृत्व गर्नु भएको छ । जति संस्थाको नेतृत्व गर्नु भयो उहाँले त्यसलाई नमुना वनाउनु भयो । अहिले पनि उहाँ दर्जन बढी सामाजिक संस्थामा जोडिनु भएको छ । अहिले उहाँ अमरज्योति नमुना माविको अध्यक्ष, अमरदीप क्याम्पसको अध्यक्ष, शिक्षाको लागि राष्ट्रिय अभियान नेपालको संयोजक पनि हुनुहुन्छ । २०६३ सालवाट विद्यालयको अध्यक्ष र २०६७ सालवाट क्याम्पसको नेतृत्व गदै आउनु भएको छ । उहाँ जागरण एफएमको संस्थापक अध्यक्ष, मानवअधिकार एरलाइन्सका संस्थापक अध्यक्ष, रेइकाइ नेपाल सुर्खेत शाखाको सचिव, पनि हुनु भएको थियो । बिद्यालय शान्ति क्षेत्रका प्रमुख अभियान्ता पनि आचार्य हुनुहुन्छ । उहाँले अमरज्याति नमुना माविलाई शान्ति क्षेत्र घोषणा गर्ने नेपालकै पहिलो विद्यालय बनाउनु भएको थियो । कुनै पनि वहानामा विद्यार्थीको पढाई अवरुद्ध हुनुहुदैन भन्ने शान्ति क्षेत्रको मर्म हो, त्यसको कार्यान्वयनको सुरुवात उहाँले नै गर्नु भएको थियो । अहिलेसम्म धेरै विद्यालयले यसलाई फलो गरेका छन ।
खास प्रेरणाका स्रोत वालवालिका
आचार्यले आफनो रोडमोडल आमावुवालाई र प्रेरणाका स्रोतचाँही समाजलाई मान्नुहुन्छ । उहाँका खास प्रेरणाका स्रोत भने वालवालिका हुन । समाज परिवर्तनको नेतृत्व गर्दा उहाँले धेरै चुनौतिको सामना गर्नुभयो । सुरु सुरुमा वीरेन्द्रनगर भन्दा बाहिर जादा पैसा हुदैन्थ्यो, कतिपय ठाउँमा अमिलाका पातहरु पनि खानु पर्यो । महिलालाई जागृत गराउन अभियानलाई उनीहरुले सहज रुपमा लिएपनि कतिपयलाई भने त्यो पचेन । कतिपयले त्यसको विरोध पनि गरे । कामलाई हत्तोसाहित गर्न राजनीतिक आरोप लगाए, संस्था नै वन्द गर्ने प्रयाससम्म गरे, सरकारी निकायबाट पनि खासै सहयोग भएन, विगत सम्झदै उहाँले भन्नुभयो, तर जनताको भरोसा भने टुटेन ।
सफलताको पहिलो आधार इमान्दारीता
निर्देशक आचार्य सफलताको पहिलो आधार इमान्दारीतालाई ठान्नु हुन्छ । सफल हुनको लागि भिजन हुनुपर्छ । भिजनलाई कार्यान्वयन गर्न प्रतिवद्धता पनि चाहिन्छ, आप्mनो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, संस्थालाई सवल बनाउन टिमलाई गतिशिल वनाउनुपर्छ, अरुलाई विस्वास लिनुपर्छ अनि मात्र सफलता चुम्न सकिन्छ ।
सफलता नै सफलता
आचार्यले जुन संस्थाको नेतृत्व गर्नुभयो त्यसलाई सफल बनाएरै छाडनुभयो । जस्तो अमर ज्योति नमुना माविको अध्यक्ष हुँदा यो विद्यालयमा हजार÷वाह्रसय विद्यार्थी थिए, अहिले २४÷२५ सय विद्यार्थी छन । उहाँले नेतृत्व गरेपछि विद्यालयको रुप रंग मात्र फेरिएन, शैक्षिक गुणस्तरमा सुधार पनि आयो । विद्यालयका सवै भवनहरु नयाँ बने । विद्यालयमा हरियाली बातावरण, शुद्ध खानेपानीको व्यवस्था भयो । शिक्षण विधीमा सुधार, परम्परागत विधीवाट स्मार्ट पार्टी र मल्टीमिडियामा फड्को, प्लस टुमा विज्ञान, पत्रकारिता, समाजशास्त्र र अहिले ३ वर्षे सिभिल ओभरसियर विषयको पढाई सुरु भयो ।
उहाँकै कार्यकालमा अमरज्योति माविले नमुना विद्यालयको उपधी पायो । आचार्य अध्यक्ष हुँदा विद्यालयका खातामा १५ लाख रुपैया थियो, भने अहिले त्यो बृद्धि भएर ३ करोड पुगेको छ । उहाँले नै क्याम्पसमा व्यवस्थापन संकायको पढाई सुरु भयो । आर्थिक र प्रशासकिय नियमावली बनाएर कार्यान्वयन गर्ने अमरज्योति सुर्खेतकै पहिलो विद्यालय बनेको छ । विद्यालयले ३ कठ्ठा जग्गा जोडेको छ । निमावि र मावि दुवै तहमा खुला विद्यालय पनि संचालन भएको छ । नेतृत्व गर्ने व्यक्ति प्रतिवद्ध र इमानदार
विद्यालयलाई नमुना वनाउन सवैभन्दा पहिला के गर्ने भनेर योजना वनाउनु पर्छ । नेतृत्व गर्ने व्यक्ति पनि इमानदार र प्रतिवद्ध हुनुपर्छ । नेतृत्वकर्ताले सवैलाई विश्वासमा लिएर अघि बढ्ने हो भने पक्कै पनि सोचे जस्तो नजिता आउँछ । सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि शिक्षक नै प्रतिवद्ध र इमानदार हुनुपर्छ । भौतिक पूर्वाधार, शिक्षण विधि सवै सहायक हुन आचार्य भन्नुहुन्छ, विद्यार्थीलाई पढन उत्सुक गराउने काम शिक्षकको हो, घरमा पनि पढने वातावरण हुनुपर्छ । परिक्षा दिएर मात्र विद्यार्थीको गुणस्तर चेकजाँच हुदैन । पढेको कुराले उसको सामाजिक व्यवहारमा कस्तो परिवर्तन आयो भन्ने महत्वपूर्ण पक्ष हो । एसएलसी पनि पिएचडी सरह
कुलक नेतृत्वकर्ता आचार्यले जीवनमा धेरै तितामिठा घटनाको अनुभव गर्नु भएको छ । माइलो दाईको निधन हुँदा उहाँ साह्रै दुखी हुनु भएको थियो । त्यस्तै शैक्षिक रुपमा गाईड गर्ने मामा वित्दा पनि निकै दुखी हुनुभयो । दुखसगसगै उहाँले जीवनमा सुखको अनुभूति पनि गर्नु भएको छ । एसएलसी पास गर्दा पिएचडी पास गरेभन्दा पनि बढी खुशी भएको थिए, उहाँले भन्नुभयो, तलव वुझेको पहिलो दिनपनि निकै खुशी भएको थिए ।
सानैदेखि पढाईमा अव्वल
४५ वर्षिय आचार्यको प्रारम्भिक शिक्षा अमरज्योति नमुना माध्यामिक विद्यालयवाट सुरु भएको थियो । १ देखि १० कक्षासम्म उहाँले यही विद्यालयमा पढनु भयो । २०४५ सालमा एसएलसी पास गरेका उहाँले तत्कालिन बीरेन्द्रनगर बहुमुखी क्याम्पसवाट आइए, सुर्खेत क्याम्पस शिक्षावाट स्नातक र त्रिभूवन विश्वविद्यालयवाट ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ । सानैदेखि पढाईमा अव्वल आचार्यको रुचीको विषय भने गणित थियो । परिक्षामा कहिल्यै फेल हुन भएन । सधै प्रथम, दितीय नै हुनुभयो । आतिरिक्त क्रियाकलापमा पनि सधै प्रथम पुरस्कार हासिल गर्नु हुन्थ्यो ।
सिनियरलाई जितेर प्रथम
निमावि तहमा पढदै गर्दा एक पटक शिक्षा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगीता भएको थियो । प्रतियोगीतामा निमावि तहका विद्यार्थीले मात्र भाग लिन पाउथे । तर जिल्ला स्तरीय त्या हाजिरी जवाफ प्रतियोगीतामा कतिपय विद्यालयले माविमा पढने विद्यार्थीलाई पनि सहभागी गराएका थिए । उक्त प्रतियोगीतामा माविमा पढने विद्यार्थीलाई आचार्यले नेतृत्व गरेको समुहले जितेर प्रथम स्थान हासिल गरेको थियो । स्थायी जागिरमा छाडे
त्यतिवेला असोजमा टेष्ट र माघमा एसएलसीको परिक्षा हुन्थ्यो । टेष्ट पास भएपछि आचार्यले मुखियाको परिक्षा दिनु भयो । परिक्षामा पास भएपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा पोष्टिङ्ग भयो तर उहाँले स्थायी जागिर खान भएन । त्यतिवेला माइलो दाई पनि वित्नु भयो, उहाँले भन्नुभयो, वुवा आमाले पनि जाजरकोट जान दिनु भएन । त्यसपछि अहिलेसम्म उहाँले लोकसेवा आयोगको परिक्षा पनि दिनु भएको छैन । २०५२ सालमा शिक्षक सेवा आयोगको परिक्षामा उहाँ गणित शिक्षकमा स्थायी हुनुभयो । तर जागिर खानु भएन । २०५० सालमा उहाँले शिक्षक सेवा आयोगको परिक्षा पनि दिनु भयो । तर सफलता हात लागेन ।
पहिलो तलव १८७५ रुपैया
समाजको हितको लागि सधै अग्रसर हुने आचार्यले क्याम्पस पढदै गर्दा कालिका प्राथमिक विद्यालय गुप्तीपुरमा पढाउनु भयो । विद्यालय स्थापना गर्दा संस्थापक शिक्षक भएर उहाँले कालिका प्राथमिक विद्यालयमा ३ महिना निशुल्क पढाउनु भयो । जागिर खानको लागि नभई विद्यालय स्थापनाको लागि पढाएको उहाँले बताउनु भयो ।
कालिका प्राथमिक विद्यालयवाट सुरु भएको शिक्षकको यात्रा धेरै विद्यालयसम्म पुग्यो । कालिकापछि लाटिकोइलीमा रहेको शिव माविमा उहाँले निजी स्रोतमा काम गर्नुभयो । पहिलो पटक १८ सय ७५ रुपैया तलव पाउनु भयो । यो नै उहाँको पहिलो पारिश्रमिक थियो । त्यसपछि अमरज्योति नमुना मावि नेवारेमा ६ महिना सट्टा शिक्षक हुनुभयो । नेवारेपछि निजीस्रोतमा भेरी मावि तरंगामा ६ महिना पढाउनु भयो । अस्थायी दरवन्दीमा विजयश्वरी मावि हरिहरपुरमा एक वर्ष पढाउनु भयो । जागिर खाने हैन, अरुलाई दिने
२०५१ सालमा तीन पटक लिखित परिक्षा पास गर्दा पनि आइएनएफको परिक्षामा सफल हुनु भएन । वीरेन्द्रनगर नगरपालिका पनि लिखितमा नाम निकाल्नु भयो तर मौखिकमा सफल हुन सक्नु भएन । त्यसपछि उहाँले जाजिर खाने सपना त्याग्नु भयो । जागिर खाने हैन, बरु अरुलाई जागिर दिनुपर्छ भन्ने सोच पलायो ।
आउँदा दिनहरु पनि सामाज सेवामै
वितेका दिनहरु जस्तै आउँदा दिनहरु पनि सामाज सेवामै विताउने योजनामा आचार्य हुनुहुन्छ । परिवारलाई खुशी राख्ने, आफनै कार्यकालमा अमर ज्योति नमुना माविको २४ कोठे नयाँ भवन बनाउने योजना उहाँको छ । कतैवाट रकम जुटाउन सके भने २४ कोठे भवन बनाउँछु, हैन भने विद्यालयको आन्तरिक स्रोतवाट भएपनि ८ कोठे नयाँ भवन त बनाउँछु, उहाँले भन्नुभयो, क्याम्पसलाई सुधार गर्ने, स्याकलाई प्रदेशकै नमुना संस्था बनाउने, नमुना गाउँलाई विस्तार गर्ने, जोखिममा परेका वालवालिकाको लागि विद्यालय स्थापना गर्ने योजना पनि छ । ( पत्रकार प्रकाश पन्तसँगको कुराकानीमा आधारित )

 

प्रकाशित मितिः १४ श्रावण २०७४, शनिबार ०२:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *