̒ HVAP को जगमा किसानको लागि ५ अर्वको नयाँ आयोजना’

निम्न आयस्तर भएका किसानको आयस्तर बृद्धि गर्ने उद्देश्यले ६ वर्षअघि उच्च मूल्य बस्तु विकास आयोजना सुरु भएको थियो । नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट सञ्चालन भएको आयोजनाले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र अछामका १३ हजार ५ सय किसानको आयस्तर बृद्धि गर्ने लक्ष्य राखेको थियो । सुर्खेत–जुम्ला, सुर्खेत–दैलेख, छिन्चु–जाजरकोट सडक खण्ड आसपासका किसानलाई आयोजनाले समेटेको छ । विशेषगरी ग्रामिण क्षेत्रका विपन्न तथा गरिव जनता त्यसमापनि महिला र सिमान्तकृत समुदायलाई आयोजनाले समेटेको छ । लक्ष्य भन्दा बढी घरधुरी समेटिए
२०६८ सालबाट सुरु भएको यो आयोजना समावेशी व्यवसाय र मूल्य श्रृङ्खला विकास पद्धतिमा आधारित आयोजना हो । यसले कृषि उत्पादन समाग्रीको आपूर्ति, व्यवस्थापनदेखि उत्पादन, प्रशोधन, वजारीकरण र आवश्यक सेवा बजार विकास जस्ता काम गरेको छ । १३ हजार ५ सय घरधुरी किसान परिवार र ५५ कृषि व्यवसायीलाई समेटने लक्ष्य थियो । तर आयोजनाले लक्ष्य भन्दा १ हजार ५ सय बढी अर्थात १५ हजार ६ घरधुरी किसान परिवारलाई समेटन सफल भएको छ ।
आयोजना संचालनको लागि कृषि विकासका लागि अन्तराष्ट्रिय कोषले १ अर्व ३२ करोड रुपैया दिएको थियो । त्यसमध्ये अहिलेसम्म आयोजनाले १ अर्व २२ करोड रुपैया खर्च गरिसकेको छ । समयको हिसावले अहिलेसम्म ८५ प्रतिशत समय व्यतित भएको छ भने रकमको हिसावले (यूएस डलरको तुलनामा नेपाली रु. को अवमूल्यनको कारिणले) ८० प्रतिशत रुपैया सकिएको छ । यो अवधिमा आयोजनाले परिमाणात्मक उपलव्धी हासिल गरेको छ तथापि गुणात्मक रुपमा उपलव्धी हासिल गर्न अझै बाँकी नै छ र यसको लागि आयोजनाको वांकि अवधिमा गुणात्मक कार्य गर्न खर्च गरिनेछ । ६०२ उप–आयोजना संचालन, अनुदान संझौता ६० करोड
आयोजनाले अहिलेसम्म ६ सय २ वटा उपआयोजना संचालनका लागि संझौता गरेको छ । समुह, सहकारी, प्रशोधनकर्तासँग गरी ६० करोड रुपैया अनुदान संझौता गरेको छ । त्यसमध्ये अहिलेसम्म ६० प्रतिशत अर्थात ३६ करोड रुपैया ती लाभग्राहीहरुलाई भुक्तानी भैइसकेको छ । वांकी उपआयोजनाहरुको काम चलिरहेकोले २४ करोड रुपैया भुक्तानी गर्न वाकी छ जुन उपआयोजनको प्रगतिको आधारमा किस्ता भुक्तानी हुंदै जानेछ । आयोजनाले खासगरी खसी वोका, अदुवा, बेमौसमी तरकारी, तरकारी वीउ, स्याउ, बेसार, टिमुरको उत्पादन र विक्री वितरणको लागि समुह, सहकारी मार्फत उत्पादक किसान, व्यापारी, प्रशोधनकर्ता, सेवाप्रदायकलाई सहयोग गरेको छ । १ सय ९५ वटा तरकारी, १ सय ६१ वटा खसीवोका, १८ वटा तरकारी वीउ उत्पादन, ९४ वटा स्याउ, ५३ वटा वेसार र २८ वटा टिमुर उपआयोजना मार्फत उपरोक्त मूल्यश्रृंखलाका पात्रहरुलाई सहयोग गरिएको छ । सवैभन्दा बढी लगानी बेमौसमी तरकारीमा
सवैभन्दा बढी लगानी बेमौसमी तरकारी उत्पादनमा छ । बेमौसमी तरकारीमा २५ करोड ३० लाख रुपैया लगानी भएको छ । त्यसपछि खसीवोकामा १२ करोड ४० लाख, स्याउमा ९ करोड, अदुवामा ४ करोड ७० लाख, टिमुरमा २ करोड ४० लाख, बेसारमा ४ करोड २० लाख र तरकारीको वीउमा २ करोड ४० लाख रुपैया लगानी गरिएको छ । यो सवै किसान लगायत अन्य मूल्यश्रृंखलाका पात्रहरुलाई अनुदान दिइएको हो, यसमा लाभग्राहीहरुले पनि आफनो लगानी गरेका छन ।सुर्खेतमा मात्रै २७ करोड ४० लाख
आयोजनाले सवैभन्दा बढी लगानी सुर्खेतमा गरेको छ । सुर्खेतमा २१२ वटा उप–आयोजना मार्फत २७ करोड ४० लाख, जुम्लामा ८८ वटा मार्फत ७ करोड २० लाख, जाजरकोटमा ७१ वटा मार्पmत ६ करोड ४० लाख रुपैया किसानसम्म पुरयाएको छ । यस्तै कालिकोटमा ७१ वटा समुह मार्फत ६ करोड ७० लाख, सल्यानमा ५८ वटा मार्फत ३ करोड ७० लाख, दैलेखमा ६८ वटा मार्फत ६ करोड ७० लाख र अछाममा ३४ वटा उप–आयोजना मार्फत २ करोड २० लाख रुपैया किसानलाई अनुदान दिइएको छ । सहयोगपछि किसानको आम्दानी ३ तिहाइले बृद्धि
कार्यक्रमले समेटेका किसानको आयस्तर ३० हजार रुपैयासम्म पुरयाउने लक्ष्य आयोजनाको थियो । अहिले हामी त्यो उपलव्धी नजिक पुगेका छौ । अहिले किसानको अतिरिक्त आम्दानी (आधारभूतको तुलनामा आम्दानीमा वृद्धि) २८ हजार रुपैया पुगेको छ । आयोजनाको सहयोग पछि किसानहरुको आम्दानीमा उल्लेख्य रुपमा बृद्धि भएको देखिएकोछ । आयोजनामा आवद्ध हुनभन्दा अघि किसानको सरदर १४ हजार ६ सय ८४ रुपैया थियो । आयोजना सुरु भएपछि आयोजनामा आवद्ध किसानको आम्दानी बढेर औसतमा ४२ हजार ८ सय ९८ रुपैया पुगेको छ । हाम्रो उद्देश्य ३० हजार पुरयाउने थियो, अहिलेसम्म २८ हजार २ सय १४ रुपैया पुगेको छ । यो आयोजनाको महत्वपूर्ण उपलव्धी हो । आयोजनाको अन्तसम्ममा यो लक्ष हासिल गर्न सकिनेछ ।
आयोजना सुरु हुनुभन्दा अघि स्याउ उत्पादन किसानको आधारभूत आम्दानी ११ हजार १ सय ४६ रुपैया रुपैया थियो । अहिले बढेर ४९ हजार ५ सय २४ रुपैया पुगेको छ । अदुवा उत्पादक किसानको १० हजार ६ सय ४४ वाट बढेर २४ हजार ५ सय ५७, टिमुरको ७ हजार ४ सय ५८ रुपैयावाट बढेर १९ हजार २ सय ४१ पुगेको छ ।
यस्तै बेसार उत्पादन किसानको ६ हजार ५ सय ४७ रुपैयावाट बढेर २३ हजार ७ सय ९९, खसीवोका उत्पादक किसानको २९ हजार ९ सय ६७ वाट बढेर ५५ हजार ७ सय ४८, बेमौसमी उत्पादक किसानको १४ हजार ६ सय ४३ वटा बढेर ६१ ह्जार ६ सय ८९ र वीउ उत्पादक किसानको आधारभूत आम्दानी २ हजार ५ सय ९८ रुपैयावाट बढेर ८ हजार ९ सय ५७ रुपैया पुगेको छ । त्यसैले आयोजना लक्षित उपलव्धी हासिल गर्न हालसम्म सफल भएको छ । आयस्तर बृद्धिसगै कृषि सम्वन्धी ज्ञान
आयोजनाले एकातिर किसानको आयस्तर बृद्धि गरेको छ भने अर्कोतिर उनीहरुलाई कृषि सम्वन्धी ज्ञान, सीप पनि दिएको छ । आयोजनाले आवद्ध कृषकहरुलाई सामाजिक परिचालन र प्राविधिक विषयमा गरी यो अवधिसम्ममा २४ हजार ९ सय ९८ जनालाई सीममुलक तालिम दिएको छ । २१ हजार ३ सय ७४ जना किसानलाई वाली उत्पादन, पशुवस्तु उत्पादन, उत्पादन पश्चात व्यवस्थापन, प्रविधिको प्रयोग सम्वन्धमा तालिम दिइयो भने सामाजिक परिचालनका विषयहरु जस्तै व्यवसायिक साक्षरता कक्षा, लैगिक तथा सामाजिक समावेसीकरण, सामाजिक परिचालन आदि बारेमा ३ हजार ४ सय २४ जना आयोजनासंग आवद्ध कृषकहरुलाई सीपमूलक तालिम दिइएको छ । किसानलाई भौतिक पूर्वाधारमा सहयोग
आयोजनाले बाख्रापालक किसानको लागि आनुधिक खोर, तरिकारी किसानको लागि पानी पोखरी, सिचाईको लागि कुलो, तरकारी संकलन केन्द्र जस्ता भौतिक पूर्वाधार पनि निर्माण गरेको छ । यस्तै लिफ्ट सिचाई, वीउ भण्डार, प्रशोधन केन्द्र, नर्सरी, ग्राभिट रोपवे, झोलुगे पुल लगायतका किसानलाई चाहिने भौतिक पूर्वाधारमा पनि सहयोग गरेको छ । भौतिक पूर्वाधार तर्फ सवैभन्दा बढी बाख्राको आधुनिक खोरहरु बनाएको छ । कार्यक्रम संचालन भएका जिल्लाका सहकारी÷समुहमा आवद्ध बाख्रापालन किसानलाई व्यवसायिक बाख्रापालन तर्फ आकर्षित गर्नको लागि आधुनिक खोरहरु बनाउन आयोजनाले सहयोग गरेको हो । सवैभन्दा बढी आधुनिक खोर निर्माण
अहिलेसम्म १ हजार १ सय ४ वटा खोरहरु निर्माण गरिएको छ । तरकारी किसानको लागि १ सय १६ वटा सिमेन्ट पोखरी, १ सय ४३ वटा प्लाष्टिक पोखरी, २४ वटा कुलो, ८ वटा कुवा, ४ वटा लिफ्ट सिचाई निर्माण गरिएको छ । यस्तै ७ वटा तरकारी संकलन केन्द्र, ३ वटा वीउ भण्डार, ३ वटा शुन्य शक्ति भण्डार, स्याउ, अदुवा र बेसारको ३ वटा प्रशोधन केन्द्र, टिमुरको वीउ उत्पादनको लागि एउटा सेटेलाईट नर्सरी, कालिकोटमा २ वटा ग्राभिट रोपवे, सुर्खेतको छिन्चुमा एउटा झोलुंगे पुलको मर्मत र बीरेन्द्रनगरमा बुलवुले क्षेत्रीय कृषि बजारमा निर्माण संरचनामा सहयोग गरिएको छ । ४ करोडको अदुवा र ७३ लाख वरावरको टिमुर यूरोप निर्यात
आयोजनाले सहयोग गरेका किसानले यो वर्ष १९ टन अर्थात ७३ लाख रुपैयाको टिमुर वेचेका छन् जुन आयोजनाको सहजिकरणमा फ्रान्समा निर्यात भएको हो । आयोजनाको सहयोगमा सुर्खेतको छिन्चुमा अदुवा प्रशोधन केन्द्र स्थापना भएको छ । यो प्रशोधन केन्द्रले गतवर्ष मात्रै ४ करोड ३० लाख रुपैयाको अदुवा यूरोप निर्यात गरेको छ । सुकाएको १ सय ६८ टन अदुवा युरोप निर्यात गरेको हो । यो अदुवा किसानको लागि खुशीको कुरा हो । अब यस क्षेत्रका अदुवा उत्पादक कृषकहरुले आफुले उत्पादन गरेको अदुवाले बजार पाउदैन कि भन्ने चिन्ता लिइरहनु पदैन । उत्पादन गरेजति प्रशोधन केन्द्रले किनि दिन्छ । तर ती अदुवा भने प्रांगारिक हुनु पर्यो, जस्को लागि प्रशोधनकेन्द्रले सहयोग गर्छ र सम्झौताको आधारमा खेती तथा उत्पादन गर्नु पर्ने हुन्छ । प्रशोधनकेन्द्रसंग सम्झौता गरी प्रांगारिक अदुवा खेती गर्ने अदुवा कृषकहरुले राम्रो र सुनिश्चित वजार पाएकाछन् । त्यसै गरी आयोजनाकै सहयोगमा सुर्खेतको जरवुटामा र रामघाटमा बेसार प्रशोधन उद्योग निर्माण स्थापना भएको छ । यस्तै आयोजनाले सुर्खेतमा चिस्यान केन्द्र स्थापनाको लागि पनि सहयोग गरेको छ जुन निर्माणको चरणमा रहेको छ निम्न आयस्तरका किसानलाई सहयोग
आयोजना वास्तवमै निम्न आयस्तर भएका किसान काहाँ पुगेको छ । आयोजनाले आफनो खेतवारीको उत्पादनले ३ महिना खान पुग्ने २६ प्रतिशत, ६ महिना खान पुग्ने ४४ प्रतिशत किसानलाई सहयोग गरेको छ । यस्तै ९ महिना खान पुग्ने २१ प्रतिशत र वाह्रै महिना खान पुग्ने ९ प्रतिशत किसानसम्म आयोजना पुगेको छ । आयोजनाले समावेसीलाई उच्च प्राथमिकता दिएको छ ।
त्यसैगरी आयोजनाले लक्ष्य भन्दा बढी महिला, दलित र जनजातिलाई समेटेको छ । दलित १९ प्रतिशत, जनजाति १३ प्रतिशतलाई समेटने लक्ष्य भएपनि आयोजनाले २५ प्रतिशत भन्दा बढी दलित र जनजाति समेटेको छ । यस्तै महिला सहभागीता ६० प्रतिशत लक्ष्य रहेकोमा ६२ प्रतिशत सहभागीता भएको छ । किसान डायरी प्रभावकारी
आयोजनाले सहयोग गरेका किसानको वास्तविक आम्दानीको लेखाजोखा गर्नको लागि उनीहरुलाई किसान डायरी वितरण गरेको छ । त्यो डायरीकै आधारमा उनीहरुको वास्तविक आम्दानीको लेखाजोखा गरिएको हो । त्यतिकेै हचुवाको भरमा हैन, किसान डायरीमा सवैकुरा उल्लेख हुन्छ जुन विवरण कृषक आफैले भर्छन् । विगतमा उनीहरुको आम्दानी कस्तो थियो, आयोजनाले सहयोग गरेपछि कस्तो छ भन्ने कुरा किसान डायरीमै भरिन्छ । उनीहरुले हरेक दिनको रेकर्ड राख्छन् । बेचेको तरकारी वा आफ्नो वाली वस्तु, आफुले प्रयोग गरेको र खेर गएको हिसाव राख्छन् । यी प्रत्येक कृषकको विवरण समूहको रजिष्टरमा प्रत्येक महिना सारिन्छ जुन आयोजनाका सामाजिक परिचालकहरुबाट ट्याव्लेटमा प्रविष्ट गरिन्छ जुन इन्टरनेटको नेटवर्क पाएपछि केन्द्रीय डाटावेसमा स्थान्तरण हुन्छ जस्को आधारमा आयोजनाले प्रत्येक किसानको क्षेत्रफल, उत्पादन, विक्रि, आयआर्जन वारे अपडेट गर्ने गर्दछ । किसान डायरीलाई हामीले व्यवस्थीत गरेका छौ जुन तथ्यांक व्यवस्थापनको आधारभूत आवश्यकता हो ।आयोजना किसान र सरोकारवालवीचको पुल
आयोजनाले किसानहरुको समुह÷सहकारी अर्थात एउटा उप–आयोजनालाई व्यवसायीक कृषि उत्पादन्का लागि २० लाख रुपैयासम्म अनुदान दिएको छ । आयोजनाले बस्तु उत्पादन, विक्री वितरणको साथै किसानलाई बिजनेस प्लान बनाउन, वैक तथा वितिय संघसंस्थाहरुसग सम्वन्ध स्थापित गर्न, विमा कम्पनी र किसानवीच सम्वन्ध स्थापना गर्न पनि पुलको काम गदै आएको छ । ५ अर्व भित्र्याउन सफल
आयोजनाको सम्झौता अन्तिम चरणमा पुगेकोले यस आ.व. २०७४।७५ मा नयाँ उप–आयोजनासँग संझौता गरिएको छैन । दातृ निकाय (आइफाड) ले प्रत्येक वर्ष आयोजनाको मूल्यांकन गर्ने गरेको छ । विगत २ वर्ष देखि यस आयोजना सन्तोषजनक पाइएको छ । उक्त निकायको कूल पूर्णांक ६ नम्वर मध्ये आयोजनाले ५ नम्वर पाउन सफल भएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गरेको राम्रो कामको आधारमै अव नयाँ आयोजना पनि सुरु हुने भएको छ । ६ नम्वर प्रदेशका सवै १० वटा जिल्लामा कृृषि क्षेत्र विकास कार्यक्रम संचालन हुने भएको हो ।
यो आयोजना माथी नै टेकेर करिव ५ अर्व रुपैयाको उक्त नयाँ कार्यक्रम संचालन गर्नाका लागि डिजाइन अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको सवैभन्दा ठूलो र महत्वपूर्ण उपलव्धी हो । आयोजनाले गरेको राम्रो कामकै आधारमा कृषि क्षेत्र विकासको लागि ५ अर्व रुपैयाको नयाँ कार्यक्रम भित्रिनु यस क्षेत्रका किसान र कृषिसंग सम्वन्धित सरोकारवालाहरुको लागि खुशीको कुरा हो । महत्वपूर्ण सिकाई हासिल
आयोजना संचालनको यो अवधिमा हामीले महत्वपूर्ण सिकाई हासिल गरेका छौ । किसानलाई पैसा वा अनुदान मात्र दिएर हुँदो रहेनछ, उनीहरुलाई निरन्तर प्राविधिक ज्ञान दिनु जरुरी हुँदो रहेछ । यसरी ज्ञान दिंदा गुणस्तरमा वृद्धि भएको र पोष्ट हार्भेष्ट नोक्सानी कम हुने रहेछ । उत्पादक समुहको क्षमता विकास अनिवार्य गर्नुपर्ने, व्यवसायिक र प्राविधिक सेवाको लागि स्थानीय स्रोत व्यक्तिलाई परिचालन गर्नु पर्ने सिकाई भएको छ ।
यस्तै कार्यक्रम संचालन भएपछि सेवा बजार स्थापना हुदै गएको, दिगो बजार र बजारको सम्वन्ध स्थापना गर्न सहज भएको, किसानको सामाजिक, प्राविधिक र व्यवसायिक ज्ञानमा बृद्धि भएको, व्यवसायिक सम्वन्ध विकास र आपूर्तिमा सहजता जस्ता सिकाई भएको छ । साथै उत्पादक कृषकहरुका लागि केही सेवाहरु व्यापारी वा प्रशोधनकर्तामार्फत दिंदा उनीहरुवीचको व्यापारिक सम्वन्ध सुधार हुने देखिएको छ ।यस्ता छन्, चुनौति र समस्या
मुल्य श्रृखलाका कर्ताहरुवीचको आपसी सम्वन्धमा उताव चढाव आइरहनु प्रमुख चुनौतिको रुपमा रहेको छ । किसानहरुलाई बजार मुल्यको बारेमा पूर्ण जानकारी नहुनु, र त्यसमा उनीहरुको पहुँच कम हुनु, उत्पादन समुहहरुको संस्थागत क्षमता विकासमा कमी हुनु पनि प्रमुख समस्याहरु हुन । कतिपय समुह सहकारीहरुमा दक्ष जनशक्तिको अभाव, स्रोत साधनको कमी जस्ता कारणले गर्दा पनि अपेक्षा गरे अनुसारका उपलव्धी हासिल गर्न नसकेको पाइएको छ ।
सेवा प्रदायकहरुको परिचालनमा समस्या हुनु, कार्यक्रममा कतै कतै दोहोरोपना हुनु, मूल्य शृखलाका कर्ताहरुवीच आपसी विश्वासमा कमी हुनु, प्रांगारिक खेती गरिने क्षेत्रमा अन्य निकायबाट रासायनिक वा विषादीका कार्यक्रम संचालन हुनु जस्ता समस्याहरु रहेका छन । किसान र व्यपारीवीच बजार मुल्यको उतार चढावले गर्दा वेला वेलामा दरार आउने गरेको पाइएको छ । बजार मूल्य बढी हुँदा किसानले संझौता अनुसार उत्पादन दिन आनाकानी गर्ने र बजार मुल्य कम हुँदा व्यापारीले उत्पादन लिन नमान्ने समस्या पनि देखा परेको छ जसको लागि निरन्तर सहजिकरण, कृषक र व्यापारीवीच अन्तरक्रिया, छलफल, अन्तरनिहित सेवाको विस्तार गरी आपसी विश्वास वढाउन सकिन्छ र यसो भएमा मात्र मूल्यश्रृंखलाको मर्म अनुसार सबैको व्यवसाय दिगो हुन सक्छ ।

प्रकाशित मितिः २८ श्रावण २०७४, शनिबार ०७:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *