कलेजका विद्यार्थीलाई खुलापत्र

देश रूपान्तरणका श्रद्धेय संवाहकहरू,

हालै नेपाली कांग्रेस आबद्ध नेवि संघका केही विद्यार्थीले सरकारी गाडी जलाए। यसपटक सो दृश्य कांग्रेस आबद्ध विद्यार्थीबाट देखियो तर सरकारमा नहुँदा त्योभन्दा अराजक र हिंस्रक दृश्यहरू कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरूबाट देखिन्थ्यो। अन्य पार्टीका विद्यार्थी संगठन पनि त्यस्तो कार्यमा कम छैनन्। सोही पृष्ठभूमिमा म यो पत्र लेख्दैछु। तर मेरो पत्र त्यस्ता विद्यार्थीतर्फ मात्र लक्षित छ, जो विद्यार्थी भएर पढ्ने काम कम,र राजनीति बढी गर्छन्।

एउटा सानो दृष्टान्तबाट सुरु गर्न चाहन्छु। कलेज पढ्दा मेरा एकजना साथी थिए। बुवा–आमाले घरबाट बल्लतल्ल पठाएको थोरै पैसाले काठमाडौंमा साथीहरूसँग कोठा भाडामा लिएर बसेका थिए। दाल–चामल पनि गाउँबाटै आउँथ्यो। उनमा तीव्र राजनीतिक लगाव थियो। सो राजनीतिभित्र आफू संबद्ध पार्टीको र्‍याली र अन्य कार्यक्रममा सहभागी हुनेदेखि टायर बाल्ने, ढुंगा हान्ने, क्याम्पस प्रमुख र प्राध्यापकलाई थर्काउने सबै पर्दथ्यो। त्यसैले कलेज आएर उनको काम पढ्नेभन्दा बढ्ता राजनीति गर्ने हुन्थ्यो।

कलेजमा उनी कहिले औसत, कहिले त्योभन्दा पनि तलको नतिजा लेराउँथे। पढाइ सकिएपछि हाम्रो बाटो छुट्टियो र कहिल्यै भेट भएन। तर २५–२६ वर्षपछि एकाएक केही समयअघि उनले फोन गरे र हाम्रो भेट भयो। कलेजमा सधैं हँसिलो र ऊर्जावान् देखिने उनी दुःखी र उदास थिए। उनले स्नातकोत्तर त उत्तीर्ण गरेछन् तर आम युवाहरूको समस्याजस्तै उनकै शब्दमा भन्नुपर्दा उनको स्नातकोत्तरमा ‘डिग्री थियो, क्षमता थिएन’ परिणामस्वरूप भनसुन र चाकडी गरेर कहिले कता, कहिले कता टाकनटुकन जागिर खान थालेछन्। बीचमा एकपटक योरोपतिर वैदेशिक रोजगारमा जान प्रयास गरेछन् तर भिसा पाएनछन्। जिन्दगी त्यसैगरी बितिरहेको रहेछ।

त्यसैबीच एकजना छोरा गम्भीररूपमा बिरामी परेछन्। केही लाख रुपैयाँ खर्च भएछ र अझै केही लाख लाग्ने देखिएछ। पहाडको घरखेत बेचेर खासै पैसा नआउने, अरू बेच्ने केही थिएन। छोराको उपचारका क्रममा ऋण बढ्दै गएको रहेछ। तैपनि छोरालाई निको पार्न र बचाउन सकिन्छ कि भन्ने आशा बोकेर उनी ऋण दिने नयाँ शुभेच्छुकहरू खोजीमा रहेछन्। उनले लामो सास फेर्दै भने, ‘तिमीलाई थाहा छँदैछ रवीन्द्र, कलेज पढ्दा देश बनाउन भनेर राजनीति त गरियो, न आफू बनियो न देश बनाइयो– जिन्दगी बर्बाद भयो। आज केही लाख रुपैयाँ नभएर छोरा बाँच्छ कि बाँच्दैन भन्ने चिन्तामा छु।’

पढ्ने बेलामा पढ्नेभन्दा बढी राजनीति गरेर जिन्दगी ध्वस्त पार्ने मेरा मित्र एकजना प्रतिनिधि पात्र मात्र हुन्। मैले त्यस्ता सयौं युवा व्यक्तिगत रूपमा भेटेको छु र पढ्नेभन्दा बढी राजनीति गर्दा दसौं हजार युवा औसत, त्योभन्दा तलको या झन् तलको जीवन जिउन बाध्य भएको देखेको छु। पुराना राजनीतिक दलहरूले यो देशलाई जति गुन लगाएका छन्, त्योभन्दा धेरै बढी श्रापको भारी बोकाएका छन्। उनीहरूले लगाएका एउटा अक्षम्य श्राप शैक्षिक संस्थाहरूको राजनीतीरण हो।

नेपालमा ८० प्रतिशत विद्यार्थी सरकारी स्कुल जान्छन्। विद्यार्थीको भविष्य मूलरूपमा स्कुलको शिक्षाले निर्धारण गर्छ र देशको भविष्य सार्वजनिक स्कुलको शिक्षाले निक्र्योल गर्छ। पुराना दलहरूले सार्वजनिक स्कुलमा राजनीति घुसाएर सार्वजनिक शिक्षाको स्तर ध्वस्त मात्र होइन, महाध्वस्त बनाइदिएका छन्। परिणामस्वरूप हाम्रा अत्यधिक विद्यार्थीले स्कुलको पढाइ सक्दा उनीहरू न शुद्ध र खँदिलोसँग एक अनुच्छेद लेख्न सक्छन्, न विषयकेन्द्रित भएर प्रभावकारीरूपमा एक मिनेट बोल्न सक्छन्, न त उनीहरूको बौद्धिक स्तर नै आवश्यक तहमा विकास भएको हुन्छ। कमजोर स्कुलको धरातलबाट आएका विद्यार्थीका लागि त्यसको क्षतिपूर्ति गर्ने एक मात्र अवसर कलेजको शिक्षा हो।

विद्यार्थी हुँदा तपाईंको पहिलो धर्म असल विद्यार्थी हुनु हो। तपाईं जुनसुकै क्षेत्रमा गए पनि तपाईंको क्षमता अभिवृद्धि गर्ने पहिलो आधार भनेको ‘पढ्ने, पढ्ने, पढ्ने र लेख्ने, लेख्ने, लेख्ने’ नै हो। त्यति गर्नुभयो भने तपाईंले आफूलाई पनि बनाउनु हुन्छ र यो देशको रूपान्तरणको संवाहक पनि बन्नु हुन्छ।

कलेजमा बेस्कन मेहनत गर्ने हो भने ठूलो हदसम्म स्कुलले बिगारिदिएको जगलाई पुनर्निर्माण गर्न सकिन्छ। तर हामीले कलेजमा पनि राजनीति घुसाएर उच्च शिक्षाको स्तर पनि दशकौंदेखि ध्वस्त बनाइदिएका छौं। म कलेज पढ्नेताका पनि माथि उल्लिखित मेरा मित्रजस्ता साथीहरूबाट घेरिएको थिएँ। आज पनि म अधिकांश कलेजहरूमा मेरा मित्रकै प्रतिविम्ब देख्छु। त्यतिबेला पनि युवाहरू ‘परिवर्तन भनेको त युवाले लेराउने हो, हामीले नगरे कसले गर्छ ? ’ भन्थे।

अहिले पनि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनका सदस्यहरूले ठीक त्यही भनिरहेको पाउँछु। त्यतिबेला ‘हामी नै हौं परिवर्तनका संवाहक’ भनेर आफ्नो वृत्ति विकासमा पर्याप्त ध्यान नदिने मेरा अधिकांश सहपाठीहरूको जीवन आज कष्टप्रद छ। मेरो तपाईंहरूजस्ता विद्यार्थीप्रति गहिरो स्नेह र ठूलो श्रद्धा छ। तर राजनीतिक दलहरूले तपाईंहरूलाई जसरी बहकाइदिएका छन्, त्यो देखेर मलाई अत्यास लाग्छ। त्यही अवस्था रहिरहने हो भने तपाईंहरूको भविष्य मात्र होइन, यो देशको पनि रूपान्तरण हुने छैन।

तपाईंलगायत हामी अधिकांशलाई यो देशको दुर्दशाको प्रमुख कारण खराब राजनीति र खराब राजनीतिको कारण इमानदारीको अभाव हो भन्ने लाग्छ। तर गहिराइमा गएर खोज्ने हो भने त्यसको अझ अर्को प्रमुख कारण छ। त्यो के हो भने, हाम्रो राजनीतिले विकृत बनाएको हाम्रो स्कुल र कलेजको शिक्षा प्रणाली र स्तर। त्यसले लगभग क्षमताहीन र नैतिकता क्षयीकृत भएको जनशक्ति उत्पादन गरिरहेको छ।

दक्ष र नैतिक जनशक्ति नभईकन एउटा संस्था त बन्दैन, देश कसरी बन्छ ? त्यसलाई चिर्ने एउटा मात्र उपाय भनेको तपाईंजस्ता विद्यार्थीले हिलोमा फुल्ने प्रयास गर्ने हो, हिलोमा डुब्ने होइन। तर नेपालमा अधिकांश विद्यार्थीको जीवन हिलोमा डुबिरहेको छ किनभने शैक्षिक संस्थाहरूको गुणस्तर अत्यन्तै न्यून छ। तपाईंहरूमाथि यतिविघ्न पाप र अन्याय भएको छ कि त्यो तपाईंहरूले महसुस नै गर्न सक्नुभएको छैन।

आज तपाईंहरूलाई पढाउने कैयन् प्राध्यापक (सबै होइन) हिजो विद्यार्थी राजनीतिमा विफल भएका या स्नातकोत्तर उत्तीर्ण गरेपछि नेताको चाकडी गरेर पढाउने पेसमा प्रवेश गरेकाहरू छन्। उनीहरू हरेक वर्ष विद्यार्थीलाई पढाउन आफूले एकपटक बनाएको नोट प्रयोग गर्छन्। पढाउने कार्य उनीहरूका लागि ‘साइड जब’ हो या विभिन्न कलेजमा कक्षा लिँदै जीविकोपार्जन गर्ने बाटो हो। तपाईंलाई पढाउने प्राध्यापकहरूको योग्यता जाँच्न उनीहरूले पढाउने विषयमा गतिलो ढंगबाट परीक्षा लिने हो भने अधिकांश फेल हुनेछन्। तर तपाईंहरू त्यस्ता प्राध्यापकको विरोध गर्न सक्नु हुन्न किनभने ती कुनै न कुनै रूपमा तपाईंको पार्टीसँग आबद्ध छन्।

यस्तो अवस्थामा विद्यार्थीले आफैं मेहनत नगर्ने हो भने हालत के होला ?

आजभन्दा १० वर्षपछि म कहाँ हुन्छु र के गर्छु भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ ? तपाईंले देश बनाउने नाममा जस्तो राजनीति गरी रहनुभएको छ, हेरिराख्नोस्, त्यो राजनीतिले देश बन्ने त कुरै छोडिदिनोस्, तपाईं स्वयंको जिन्दगी पनि बर्बाद हुनेछ। तपाईंले बल्लबल्ल एउटा डिग्री त लिनुहोला, तर त्यो डिग्रीमा दक्षता हुने छैन। दक्षता नभएको डिग्री लिएर तपाईंले जिन्दगीमा जेसुकै गर्नोस्, त्यो मूलरूपमा न्यून स्तरको हुनेछ। आज हाम्रो राजनीतिदेखि समाजका विभिन्न पेसाहरू स्तरहीन हुनुको र परिणामस्वरूप देश विकास नहुनुको प्रमुख कारण त्यही हो। उत्तीर्ण अंक दिएको तर आवश्यक दक्षता नदिएको डिग्री लिएपछि तपाईंले बारम्बार नैतिकता र स्वाभिमानमा सम्झौता गर्नुपर्नेछ।

यति तर्क गर्नुको कारण विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने होइन। विद्यार्थीले राजनीतिमा व्यापक चासो राख्नुपर्छ। देश तपाईंहरूकै हो, भविष्य तपाईंहरूकै हो। तपाईंहरू र तपाईंहरूका सन्तानले कस्तो हावामा सास फेर्ने, परिवारको आयस्तर कति हुने ? कस्तो बाटोमा यात्रा गर्ने ? कस्तो लुगा लगाउने ? कस्तो खाना खाने ? सबै राजनीतिमा आएर ठोकिन्छ। त्यसैले राजनीतिमा तपाईंको चासो हुनैपर्छ। तर विद्यार्थीको विद्यार्थीपनालाई राजनीतिले खाएपछि त्यसले सिंगो समाजलाई घात गर्छ। आज नेपाली समाज त्यही घातको सिकार भएको छ।

विद्यार्थीकाल अर्थात् युवा अवस्था भनेको मूलतः आफ्नो वृत्ति विकास गर्ने, बाँकी जीवन स्वाभिमान र खुसीका साथ जिउनका लागि जग निर्माण गर्ने समय हो। तर दलहरूले विद्यार्थीमा विद्याको चेतना जगाउनुको साटो त्यसलाई नष्ट गरिदिएका छन् किनभने उनीहरूलाई त्यसै गर्नुमा फाइदा छ। विद्यार्थीको युवा ऊर्जालाई प्रयोग गरेर आफ्नो निहित राजनीतिक अभीष्ट पूरा गर्दा उनीहरूलाई कत्ति पनि दोषको अनुभूति हुँदैन। यो परिप्रेक्ष्यमा तपाईंहरूलाई मेरा केही सल्लाह छन्। सुन्ने–नसुन्ने तपाईंहरूको जिम्मा।

१. तपाईंहरू आफ्नो भविष्य बनाउने र यो देश रूपान्तरण गर्ने हो भने सबैभन्दा पहिले आफ्नै पार्टीमाथि विद्यार्थी संगठन बन्द गर्न तीव्र र निरन्तरको दबाब दिनोस्। त्यो तपाईंको र भावी पुस्ताका लागि ऐतिहासिक योगदान हुनेछ। नेताहरूलाई गएर भन्नोस्, ‘विद्यार्थी संगठनको कुनै बेला औचित्य थियो होला तर यसले अब सिंगो पुस्ताको जिन्दगी बर्बाद पारिरहेको छ।’ पार्टीको युवा संगठनमा सामेल हुँदा केही फरक पर्दैन, तर त्यसलाई कलेजको परिधिभित्र पस्नै नदिनोस्।

अनि युवा संगठनलाई युवाहरूको वृत्ति विकास, राजनीतिक र अन्य नेतृत्व विकास तथा विविध रचनात्मक गतिविधिमा लगाउनोस्। भविष्यको नेपाल कस्तो चाहेको हो, त्यस्ता विषयमा बहस चलाउनोस्। पार्टीमा यस्तो संरचना बनाउन दबाब दिनोस्, जहाँ क्षमतावान् युवाहरूले पार्टी र राज्यका विभिन्न तहको नेतृत्वमा पुग्न वर्षौं कुर्नुपर्ने स्थिति नहोस्। पार्टीमा दशकौं बिताउँदा पनि इमानदार र क्षमतावान् ‌ओझेलमा पर्ने अनि भ्रष्ट र चाकडीवान्हरू नेतृत्वमा पुग्ने अवस्था अन्त्य होस्।

२. जसरी कैयन् युवामा कला, साहित्य, संगीत, खेलकुद तथा अन्य क्षेत्रहरूमा चासो हुन्छ, त्यसैगरी राजनीतिमार्फत सिंगो देशको रूपान्तरण चाहने विद्यार्थीमा राजनीतिमा चासो हुन जरुरी छ। तर त्यसका लागि घरेलु र अन्तर्राष्ट्रिय राजनीतिका सैद्धान्तिक र प्रमुख घटनाक्रमको गहिरो अध्ययन गर्नोस्। अध्ययनको दायरा फराकिलो पार्दै लैजानुभएन भने तपाईंले पनि कतिपय पार्टीका कतिपय युवा नेताको नियति भोग्नुपर्नेछ, जो एउटा समयमा उदाउँदो नेताका रूपमा देखा पर्छन् र छिटै ‘रित्तो ढ्वाङ’ मा परिणत हुन्छन्।

३. सधैं सिक्न लालायित हुनोस्। राम्रा व्यक्ति र घटनाबाट मात्र होइन, नराम्रा व्यक्ति र घटनाबाट पनि धेरै सिक्न सकिन्छ।

४. जीवन कुन आयस्रोतले चलाउने हो, व्यवस्थापनको बाटो तय गर्नोस्। त्यति नभईकन ‘पूर्णकालीन’ राजनीतिमा होमिनु मन्द विष पिउनुसरह हो। त्यसको अर्थ अंशकालीन राजनीति गर्नु हुँदैन भन्ने होइन।

५. विद्यार्थी हुँदा तपाईंको पहिलो धर्म असल विद्यार्थी हुुनु हो। तपाईं जुनसुकै क्षेत्रमा गए पनि तपाईंको क्षमता अभिवृद्धि गर्ने पहिलो आधार भनेको ‘पढ्ने, पढ्ने, पढ्ने र लेख्ने, लेख्ने, लेख्ने’ नै हो। त्यति गर्नुभयो भने तपाईंले आफूलाई पनि बनाउनु हुन्छ र यो देशको रूपान्तरणको संवाहक पनि बन्नु हुन्छ। अन्यथा जसरी विगतदेखि वर्तमानसम्म विभिन्न राजनीतिक दल र तिनका नेताहरूले ‘तिमीहरू नै हौ यो देश परिवर्तनको शक्ति’ भनेर दसौं लाख युवाहरूलाई बहकाउँदै प्रयोग गरी उनीहरूको जिन्दगी बर्बाद बनाइदिए, तपाईंहरूको हालत पनि त्यही हुनेछ। आज उनीहरूसँग न राम्रो शिक्षा, पेसा, आयस्रोत, पारिवारिक व्यवस्थापन छ, न स्वाभिमानपूर्ण जिन्दगी नै। परिवार चलाउन धौधौ छ र अझ माओवादी द्वन्द्वमा होमिएका कतिपयमा त मनोवैज्ञानिक समस्या पनि छ।

६. युवा हुनु नै आफैंमा योग्यता होइन। युवापनसँग क्षमता र इमान जोडिनुपर्छ अनि मात्र त्यो रूपान्तरणकारी शक्ति बन्छ। केवल युवा हुनुलाई सर्वस्व ठान्ने समूह हठी, अराजक र असहिष्णु हुने जोखिम रहन्छ। क्षमता र इमान अभेद्य बनाउने समय विद्यार्थीकाल नै हो। त्यसैको जगमा बाँकी जीवनको घर निर्माण भएको हुन्छ। फेरि एकपटक भनौं, तपाईंहरूप्रति मेरो ठूलो स्नेह र श्रद्धा छ।

तर त्योभन्दा बढी तपाईंहरूको भविष्य र तपाईंहरूलाई पढाउनका लागि खर्चको जोहो गर्न आफ्नो खुसी कटौती गर्ने तपाईंका बुवाआमा र अभिभावकप्रति चिन्ता छ। तपाईंहरूभन्दा कैयन् भोटो बढी फटाएको, अनुभव सँगालेको र तपाईंहरूजस्तै यो देशको रूपान्तरण गर्न दृढ चाहना बोकेको व्यक्ति भएको नाताले मैले यो पत्र लेख्ने धृष्टता गरेको हुँ। अन्यथा लिनुहुने छैन भन्ने विश्वास लिएको छु। हाम्रो पुस्ताले यो देशको राजनीतिका कारण जे भोग्नुपर्‍यो तपाईंको पुस्ताले त्यो भोग्न नपरोस्, सुसंस्कृत राजनीति, समतामूलक संवृद्धिको अनुभूति गर्न पाओस्।अन्नपूर्ण पोष्टबाट

यो देश र तपाईंहरूको सदा भलो चाहने

रवीन्द्र मिश्र

प्रकाशित मितिः १ फाल्गुन २०७५, बुधबार १०:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *