नमूना विद्यालय नाममा कि काममा पनि ?

जीतबहादुर शाह

एउटा विद्यालयको प्रिन्सीपलको कथा हो यो । उनी आफू पढेको स्कूलमा त्यो स्कूलको अध्ययन छोडेपछि कहिल्यै गएका थिएनन् । जान पनि मन लाग्दैनथ्यो उनलाई । आफू अर्को विद्यालयको प्रिन्सीपल भएपछि भने त्यो स्कूलमा जानु पर्ने काम परयो । काम परेपछि एकपटक गए उनी । उनी त्यो स्कूलमा जाँदा पहिलेको सम्झना भयो उनलाई । पहिले उनी स्कूलको आँगन, सिढी वा यताउता कतै हिड्नु परयो भने हात पछाडि बाँधेर हिड्थे । तर अहिले उनी हात अगाडिपट्टी हल्लाएर हिडिरहेका थिए । कतै यसरी हिडेर आफूले गल्ती त गरिरहेको छैन भन्ने कुराले असहज भइरहेको थियो उनलाई । उतिबेला उनी शिर निहुराएर हिड्थे । अहिले उनी शिर ठाडो पारेर हिडिरहेका थिए । यसरी शिर ठाडो पार्दा कतै कसैले ठूलो आवाज गरेर गाली गर्ने त होइन भन्ने त्रास अहिले पनि जागिरहेको थियो उनिभित्र ।

आफूले पढेका कक्षाहरु बाहिरबाटै नियाले उनले । पहिले उनले पढेजस्तै गरेर अहिले पनि विद्यार्थीहरुले शान्तसँग बसेर पढिरहेका थिए । पढिरहेका थिए भन्दा पनि शिक्षकले भनेको कुरा निष्क्रीय श्रोता भएर सुनिरहेका थिए ।
उनले आफ्नो विद्यालयमा भने त्यस्तो हुन दिएका छैनन् । विद्यार्थीहरु सक्रिय देखिन्छन् । विशेष अवस्थामा बाहेक विद्यार्थीहरुले यसरी नै हिड्नु पर्छ भन्ने नियम त छदैछैन उनको विद्यालयमा । बरु विद्यार्थीहरुकै विचार र रुचिहरुको सर्वेक्षण गरेर नियम र आचारसंहिता बनाउछन् उनी । कतिपय अभिभावकहरुले त उनको विद्यालयका विद्यार्थीहरु अनुशासित भएनन् भनेर पनि गुनासो गर्छन । उनलाई कहिलेकाही ‘के हाम्रा विद्यार्थी अनुशासित नभएकै हुन् त ?’ भन्ने प्रश्नले पनि घोच्ने गर्दथ्यो । यस्तैमा एकदिन शैक्षिक यात्रीको रुपमा आफ्नो पहिचान बनाउन सफल अर्जुन भट्ट आएर नमूना विद्यालयको बारेमा चर्चा गरेपछि भने उनको खुशीको सीमा रहेन । वास्तवमा आफूले मोडल स्कूलकै रुपमा आफ्नो विद्यालयलाई विकास गर्ने बाटोमा आफू अघि बढिरहेको कुरा अर्जुन भट्टको विश्लेषणबाट बोध भएपछि भने उनिभित्र आत्मविश्वासको धरहरा अझै चुलिएको महसुस भएको छ उनलाई ।
विद्यालयलाई नमूना बनाउने अवधारणाको कुरा गर्ने सवालमा शैक्षिक यात्री अर्जुन भट्टको भनाइ छ – पहिलो कुरा, विद्यालय क्रियाकलापमैत्री हुनुपर्दछ । भन्नुको मतलव विद्यालयमा जसले पनि कुरा भन्दा काम गरेर देखाउन सक्नुपर्दछ । क्रियाकलापहरु शारीरिक र मानसिक दुवै किसिमका हुनुपर्दछ । दोश्रो कुरा, विद्यालय भाषा मैत्री हुनुपर्दछ । अर्थात भाषाको कारणल कुनै पनि बालबालिकाको सिकाईलाई कठिन र पीडादायक बनाइनु हुदैन । तेश्रो कुरा विद्यालय सीपमैत्री हुनुपर्दछ । यसको मतलव हरेक बच्चाको सिकाइ ज्ञानसँग मात्र नभएर सीपसँग जोडिएको हुनुपर्दछ । चौथो कुरा, विद्यालय संस्कृति मैत्री हुनुपर्दछ । अर्थात विद्यालयले आफ्नो देश, समाज र समुदायको कला र संस्कृतिलाई संरक्षण र विस्तार गर्न सक्नुपर्दछ । पाँचौ कुरा, विद्यालयहरु वातावरणमैत्री हुनुपर्दछ । भन्नुको मतलव, विद्यालयको परिवेश र परिशर हेर्नेवित्तिकै वातावरणको संरक्षणको सवालमा विद्यालयको योगदान देखिने किसिमको हुनुपर्दछ । जुन नेपाल सरकारले समेत हरित विद्यालयको कार्यक्रम कार्यान्वयन निर्देशिका जारी गरेर कार्यान्वयन गर्न खोजिरहेको छ ।
अर्जुन भट्टकै शब्दमा नमूना विद्यालयको निम्ति छैठौ कुरा भनेको विद्यालय पाठ्यक्रम मैत्री हुनुपर्दछ । अर्थात विद्यालयका क्रियाकलापहरु पाठ्यपुस्तकमा आधारित नभएर पाठ्यक्रममा आधारित हुनुपर्दछ । सातौं कुरा भनेको विद्यालय प्रविधिमैत्री हुनुपर्दछ । मानिसले गर्ने काम समेत प्रविधिले गर्ने गर्न थालिसकेपछि हाम्रा विद्यालयले प्रदान गर्ने शिक्षा र हाम्रा विद्यार्थीले सिक्ने सिकाइ पनि प्रविधिमैत्री र प्रविधिमा आधारित हुनु आवश्यक छ । अर्जुन भट्टको विचारमा नमूना विद्यालयको निम्ति आवश्यक पर्ने आठौं अर्थात अन्तीम भएपनि महत्वपूर्ण कुरा भनेको विद्यालय बालमैत्री हुनुपर्दछ भन्ने हो । अर्थात विद्यालय मात्र बालबालिकाको हो, त्यसैले त्यो विद्यालय बालबालिकाको भावना, रुचि र आवश्यकतामा आधारित भएर सञ्चालन हुनुपर्दछ । बालबालिकाले भनेको केही नहुने तर बालबालिकाको हितको नाममा उनीहरुलाई पेल्ने र हेप्ने विद्यालय कुनै अवस्थामा पनि बालमैत्री हुन सक्दैन ।
बालबालिका मैत्री अर्थात सिकारु मैत्री विद्यालय हुनका लागि विद्यालयहरुले सिकारुको भावना र रुचिको पहिचान गर्न सक्नुपर्दछ । हरेक बालबालिकाले सुनेर होइन कि आफैले गरेर सिक्न चाहन्छन् । आफ्नो वरपरको वातावरण आफू स्वयम्ले भोगेर बोध गर्न चाहन्छन् । उनीहरु आत्मनिर्भर हुन चाहन्छन् । उनीहरु आफ्नै क्षमताका कारणले सफल भएको देख्न र देखाउन चाहन्छन् । अरुको निर्देशनमा चल्ने दाश होइन कि आफ्नो जीवनको मालिक उनीहरु आफै हुन चाहन्छन् । आफ्नो अपमान होइन कि उच्च सम्मान भएको अनुभूत गर्न चाहन्छन् । दुनियाँको बारेमा आफ्ना फरक धारणा बनाउन चाहन्छन् । यत्तिमात्र होइन कि उनीहरु आफ्नै रुचिअनुसारको कर्म गर्न चाहन्छन् । यस्तो अवस्थामा आफूलाई नमूना विद्यालय बनाउन सक्रिय विद्यालयहरुले विद्यार्थीहरुको रुचि अनुसार आफूलाई चल्ने र बदल्ने हिक्मत गर्न सक्नुपर्दछ ।
विज्ञान शिक्षा परियोजनाको पालामा नमूना विद्यालय घोषणा गरिएको माध्यमिक विद्यालयको एकजना प्रधानाध्यापकले हसिमजाक गर्दै भन्दै थिएँ – ‘नमूना भन्नुमात्रै भयो सर । हाम्रोमा त मोवाइल चलाउदा चलाउदै कुनै शिक्षक फेण्ट भएमा प्राथमिक उपचार गर्नुपरयो भने एउटा सामान्य रित्तो कोठा पनि छैन ।’ मैलै हसिमजाक भने पनि उनको भनाइमा ब्यङ्ग्य छ आफ्नै सहकर्मीहरुप्रति । साँच्ची विद्यालयलाई नमूना नै बनाउने हो भने साइनबोर्डमा नाम फेर्ने होइन कि कक्षाकोठाका क्रियाकलापहरु फेरिनुपर्दछ । काम फेरिनौं र नाम मात्र फेर्नतिर लाग्यौं भने मरञ्च्यासे मान्छेको नाउँ बीरबहादुर राखेजस्तै हुन्छ । अरुसँग हात पसार्दै दिन धकेल्ने ब्यक्तिको नाउँ धनबहादुर राखे जस्तै हुन्छ । जीवनमा सधैं सधैं पराजयको सामना गरिरहने ब्यक्तिको नाउ जीतबहादुर राखे जस्तै हुन्छ । त्यसैले पनि नमूना विद्यालय हुनको लागि कामलाई प्राथमिकता दिनुको विकल्प छैन । यसका लागि सवैभन्दा फ्रण्ट पेजमा भने शिक्षकहरु उभिन सक्नुपर्दछ ।

शिक्षकले किताव पल्टाएर कक्षा सुरु गर्ने होइन कि बालबालिकाको जीवन पल्टाएर कक्षाको सुरुवात गर्नसक्नुपर्दछ । पाठ्यक्रमका उद्देश्यहरुलाई जीवनसँग गाँसेर कुन कुरा कहाँ काम लाग्छ भन्ने कुराको प्रसङग जोड्दै दृष्टान्त सहित अगाडि बढ्न सक्नुपर्दछ । शिक्षक स्वयम पनि सिकारु भएर विद्यार्थीहरुबाट सिक्ने साहस गर्न सक्नुपर्दछ । विद्यार्थीहरुसँग भएका सम्भावनाहरुलाई सतहमा ल्याउन सक्नुपर्दछ । त्यसका लागि शिक्षक प्रेरणाको स्रोत बन्न सक्नुपर्दछ । शिक्षकले विद्यार्थीको परीक्षा लिने होइन कि विद्यार्थीको सामु आफूले परीक्षा दिन सक्नुपर्दछ । भन्नुको मतलव, विद्यार्थीहरुको नजरका शिक्षक हरेक हिसावले आदर्श र अनुकरणीय ब्यक्तिको रुपमा उत्तीर्ण र स्थापित हुन सक्नुपर्दछ । यसरी कि आफ्नो शिक्षकको जुनसुकै पक्षको सिको गर्ने विद्याथीको जीवन उज्यालो हुदै जाओस् । अर्को शब्दमा भन्नुपर्दा शिक्षकले विद्यार्थीहरुलाई ज्ञानी बन भन्ने होइन कि सवैभन्दा पहिले आफू ज्ञानी बनेर देखाउने साहस गर्नुपर्दछ । अनि पोे ज्ञानी बन भन्नै पर्दैन, ज्ञानी शिक्षकलाई देखेर त्यसै पनि ज्ञानी हुने प्रेरणा मिल्दछ विद्यार्थीहरुलाई ।
भोक लागेको बेला खाना खाने मन लागे झै सिकाइका लागि वातावरण बनाउन सक्नुपर्दछ । यस्तो वातावरण कि उक्त वातावरणमा विद्यार्थीलाई त्यसै पनि सिक्न रहर लागोस् । यसरी लागोस कि सिकिरहेको छु भन्ने थाहा नपाएर पनि सिकिरहेको हओस् । सकेसम्म होमवर्क हुदै नहोस । भएपनि घोकेर लेख्ने र कितावको सार्ने होइन कि अध्ययन गरेको कुरा ब्यवहारमा सिक्ने गरी प्रयोगात्मक प्रकारको हओस् । सिकाइमा प्रतिष्पर्धाको भावना होइन कि एकअर्कालाई सहयोग गर्ने भावना र प्रवृत्तिको विकास होस । विद्यार्थीहरुका केही न केही क्षमता र सम्भावनाहरु हुन्छन् ती क्षमता र सम्भावनाहरुको पहिचान गरी तदनुरुपको प्रेरणा, हौसला र सहयोग प्रदान गर्न सक्नुपर्दछ । विद्यार्थीहरुका निम्ति यस प्रकारको वातावरण बनाउन सकियो भने क्रमशः यस्तो वातावरण बन्दै जान्छ कि शिक्षकले मेरो कक्षामा नबस भन्दा पनि विद्यार्थीहरु रुचिका साथ बस्न रुचाउछन् । शिक्षकले विद्यालयमा नियमित आउनु पर्दैन भने पनि विद्यार्थीहरु नियमित रुपमा विद्यालयमा आउन रुचाउछन् । अनि मात्रै एउटा विद्यालय नमूना विद्यालय हुन सम्भव छ ।
शैक्षिक यात्री अर्जुन भट्टले यस्तै यस्तै कुरा सम्प्रेषण गरिरहँदा मलाई नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अघि सारेको नमूना विद्यालयको कार्यक्रमहरुको स्मरण भयो । तत्सम्बन्धी नमूना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ पनि सरसर्ति नियालें । उक्त निर्देशिकाले अर्जुन भट्टले गरेका जस्ता कुराहरु गरेको रहेनछ । उक्त निर्देशिकाले त नमूना विद्यालय हुनका लागि न्यूनतम शर्तको रुपमा माध्यमिक विद्यालय हुनुपर्ने, तराइमा भए २ विघा र अन्यत्र भए न्यूनतम १० रोपनी जग्गा हुनुपर्ने, विद्यालय सुरक्षित ठाउमा हुनुपर्ने, नियमावलीले तोके बमोजिमको विद्यार्थी संख्या हुनुपर्ने, सम्बन्धित सरकारहरुको लिखित प्रतिबद्धता हुनुपर्ने, विब्यसको निर्णय हुनुपर्ने, सामाजिक परीक्षण र लेखा परीक्षणको प्रतिबेदन हुनुपर्ने आदि जस्ता कुराहरु समेटेको रहेछ । शिक्षकको पाटो त न्यूनतम शर्तमा राखेकै रहेनछ । यसरी आँकलन गर्दा कतै हाम्रा नमूना विद्यालयहरु विज्ञान शिक्षा परियोजनाले बनाएका नामका मात्रै नमूना विद्यालय त हुने होइनन् ? कतै हाम्रा नमूना विद्यालयहरु नमूना विद्यालयको नाममा आएको बजेटको दुरुपयोग गर्दै भ्रष्टाचारको थलो बन्ने कार्यमा नमूना हुने त होइनन् ? यो मनले यस्ता कुराहरु समेत सोच्न भ्याएछ । आशा एवम् विश्वास छ, यस्तो नहोस कहिल्यै । हामीले बनाउन खोजेका विद्यालयहरु साँच्चिकै नमूना हुन सकून माथिका पङ्तिहरुमा चर्चा गरिए जस्तै । यो पङ्तिकारको हार्दिक शुभकामना ।
२०७६ साल भाद्र १९ गते विहीबार

लेखकको फेसबुकबाट । (शाह राष्ट्रिय  परिक्षा वोर्ड कर्णाली प्रदेशका प्रमुख हुन् । )

प्रकाशित मितिः १ आश्विन २०७६, बुधबार १४:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *