शैक्षिक तथा घर मर्मत कर्जा आयो, मपका ५० हजार सञ्चयकर्ता लाभान्वित

आकाश तारा बयक
सुर्खेत, २० भदौ ।
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको छ ।
कोषले मध्यपश्चिमका करिब ५० हजार सञ्चयकर्ताका लागि पहिलो पटक शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको हो ।
मध्यपश्चिममा गत वर्षदेखि लागू गरेको आवास कर्जा कार्यक्रमसँगै कोषले यस वर्ष देखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम लागू गरेको छ ।
‘शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रमबाट मपका झण्डै ५० हजार सञ्चयकर्ता प्रत्यक्ष लाभान्वित हुने कोषका सुर्खेत प्रमुख कृष्णबहादुर जिसीले बताउनु भयो
उहाँले सञ्चयकर्ताको आवास कर्जाप्रति बढ्दो आकर्षणसँगै यस आर्थिक वर्षदेखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।
कार्यालयमा शैक्षिक तथा घर मर्मत कर्जा बारे बुझ्न दैनिक पाँच÷छ जना सञ्चय कर्ता कार्यालयमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।
कोषले उच्च शिक्षा अध्ययनका लागि कोषले ८ दशमलव २५ प्रतिशत वार्षिक व्याजदरमा एमवीवीएस, एमडीका लागि बढीमा २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा प्रदान गर्ने वताएको छ ।
अन्य सामान्य विषयको हकमा विदेशका लागि २० लाख तथा स्वदेशमा अध्ययनका लागि १० लाखसम्म शैक्षिक कर्जाको व्यवस्था रहेको पनि प्रमुख जिसी बताउनु भयो ।
त्यस्तै जुनुसुकै कारणबाट घर मर्मत सम्भार सवलिकरण, आन्तरिक सजावट, कम्पाउण्ड वाल निर्माण आदी प्रयोजनका लागि घर मर्मत कर्जा लिन सक्ने छन
noteसञ्चयकर्ताले घर मर्मतका लागि सोही घरलाई धितो राखेर बढीमा २५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने छन् ।
पाँच वर्ष बराबरको तलवमान भएका सञ्चयकर्ताले ८ दशमलव २५ प्रतिशत व्याजदरमा घर मर्मत कर्जा लिन सक्ने समेत प्रमुख जिसीले जानकारी दिनुभयो ।
यता नेपाल निजामति कर्मचारी यूनियन संघ सुर्खेतका अध्यक्ष नृपजंङ्ग शाहीले कोषले सुर्खेतमा ल्याएको शैक्षिक तथा घर मर्मत कर्जा सञ्चयकर्ताका लागि स्वागतयोग्य कदम भएको बताउनु भयो ।
उहाँले कोषद्वारा सञ्चयकर्ताका लागि उपलब्ध सरलचक्र कर्जा लगायतका अन्य कार्यक्रमहरु समेत मध्यपश्चिममा लागू गर्न पहल गरिनु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १२:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *