सुर्खेतमा साढे ५२ हजार सवारी साधन कारबाहीमा : डेढ करोड राजश्व संकलन

बाबा बयक
सुर्खेत, ८ पुस ।
ट्राफिक नियम पालना नगर्नेलाई कारवाही गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले झण्डै डेढ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले चेक प्वाईन्टमा विशेष अभियानले कडाइ पारेका कारण राजश्व संकलनमा बृद्धि भएको हो । छड्के चेक र चेक प्वाइन्टहरुमा रहेका ट्राफिक प्रहरीलाई दिएको कडा निर्देशन अनुसार नै सवारी साधन कारर्वाही सख्या बढ्दो क्रममा रहेको प्रहरीको भनाई छ ।
ट्राफिकले पछिल्लो तीन वर्षमा ट्राफिक नियम पालना नगर्ने ५२ हजार आठ सय ५८ सवारीसाधनलाई कारवाही गरी एक करोड २७ लाख ८४ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको हो । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा दुई हजार नौ सवारी साधानलाई कारवाही गरी ३४ लाख ५१ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा १५ हजार ९ सय ८५ सवारी साधानलाई कारवाही गरी ४२ लाख ३७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी हवालदार खड्कबहादुर ऐरले जानकारी दिए । उनले गत आर्थिक वर्षमा १६ हजार आठ सय ६४ सवारी साधानलाई कारवाही गरी ५० लाख ९५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ४ हजार ६ सय ९० सवारी साधानलाई कारवाही गरी २८ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
Trafik2ट्राफिक कारबाहीमा पर्ने सवारीसाधान मध्ये मोटरसाइकल धेरै भएको ट्राफिक कार्यालयका प्रमुख हर्कबहादुर रावलले जानकारी दिए । उनका अनुसार १३ हजार ७ सय ८० मोटरसाइकल, १२ हजार तीन सय ४२ टे«क्टर, १० हजार ७ सय १६ ट्रक, ९ हजार ३ सय १८ बस, र ६ हजार ७ सय १ वटा जीपले नियम उल्लघन गरेका छन् । छतमा यात्रु बोक्ने, अनावश्यक ठाउँमा पार्किङ गर्ने, क्षमताभन्दा धेरै सामान बोक्ने, रुट परमिट ईजाजत नलिएका, ईजाजत विना सवारी, आकार परिर्वतन, सवारी अनुमतिपत्रबिना गाडी चलाउने, मापसे गरी सवारी चलाउनेहरु कारबाहीमा परेको उनको भनाइ छ । ‘सुर्खेतमा दैनिक एक सयको हाराहारीमा सवारी साधानले ट्राफिक नियम उल्लघन गर्ने गरेको पाईएको छ,’ ट्राफिक प्रमुख रावलले भने, ‘मादकपदार्थ सेवन गरेर गाडी चलाउने र अन्य ट्राफिक नियम पालना नगर्ने माथि कारवाही बढाईएकाले राजश्व बढ्दो क्रममा रहेको छ ।’ उनले यस क्षेत्रमा वर्षेनी यातायातका नयाँ सवारी साधनहरु पनि थपिँदै गईरहेकाले पनि राजश्वमा बृद्धि हुँदै गईरहेको बताए ।
Trafik 1सवारी कारबाहीबाट चालु आवको मंसिर मसान्तसम्ममा कार्यालयले २८ लाख ९९ हजार रुपैयाँ राजश्व समेत संकलन भएको ट्राफिक जवान हरिप्रसाद लामिछानेले जानकारी दिए । उनले अघिल्ल्लो आर्थिक वर्षको सोही महिनासम्म १३ लाख ७७ हजार तीन सय रुपैयाँ राजश्व संकलन भएको बताए । यो अघिल्लो आवको सोही महिनाको तुलनामा ४७ दशमलव ५० प्रतिशतले बृद्धि हो । चालु आवको मंसिर मसान्तसम्ममा मापसे गरी सवारी चलाउने एक सय ३९ जनालाई कारी एक लाख ३९ हजार रुपैयाँ राजश्व संकलन भएको उनले जनाए ।
‘मध्यपश्चिमक्षेत्रका बढी सवारी दुर्घटना हुने जिल्लाहरु मध्ये सुर्खेत पनि एक हो,’ ट्राफिक प्रमुख रावले भने, ‘जिल्लामा चालु आवको पछिल्लो ५ महिनामा ३३ वटा सवारी दुर्घटना भएका छन् ।’ जिल्लामा चालु आवको मंसिर मसान्तसम्म सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाई सकेका छन् । त्यसमा २४ जना गम्भीर घाईते र ९३ जना सामान्य घाईते भएका थिए । ‘मध्यपश्चिमका पहाडी जिल्लाहरुको मुख्य नाका वीरेन्द्रनगर भएकाले यहाँ दिनप्रति दिन सवारी चाप बढ्दैछ,’ उनले भने, ‘तर सवारीहरुको तुलनामा सडकहरुको स्थिति जीर्ण बन्दै गईरहेकाले दुर्घटनाको संख्या पनि बढ्दै गईरहे छ ।’ उनले यसक्षेत्रमा पर्याप्त ट्राफिक संकेत चिन्ह नहुनु, स्रोतसाधानको कमीसँगै पर्याप्त ट्राफिक जनशक्तिको अभावमा सोचे जस्तो प्रगति हुन नसकेको बताए ।
उनका अनुसार यात्रु तथा पैदल यात्रुले ट्राफिक नियमको पालना नगुर्न, सर्बसाधारणमा सवारी सुरक्षाको बारेमा जानकारी नहुनु, सडकमा छाडा पशु चौपाया छोड्नु, सडक पेटी व्यापार, जथाभावि पार्किङ्ग गर्नु, पहाडी मार्गमा सेफ्टी वेरियरको प्रयोग नगर्नु, दुर्घटनाका कारण हुन् । उनले सुर्खेत आसपासमा वर्षातका बेला पानीका खाल्डाखुल्टी पर्नु, पहिरो, र चिप्लो सडकका कारण बढी सवारी दुर्घटना हुने गरेको बताए । पछिल्लो समय यातायात क्षेत्रमा हुने अवस्थ्य प्रतिस्पर्धाका नाममा जथाभावि सवारी साधन चलाउने, रोक्ने, चढाउने, ओराल्ने, सहचालकले सवारी चलाउने जस्ता वेथितिले पनि सवारी दुर्घटना हुने गरेको उनको अनुभव छ । हाल ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा विद्यार्थी, सर्वसाधारण र चालकलाई सवारी दुर्घटनाबारेमा सचेतना अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मितिः ८ पुष २०७३, शुक्रबार १३:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *