सुर्खेत, २८ फागुन ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न जोड दिएका छन् । स्वदेशी उद्योगले मात्रै मुलुकको विकास हुने भएकोले अव विदेशी भन्दा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न उनले सुझाव दिएका छन् । सुर्खेत उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणभामा बोल्दै उनले यस क्षेत्रका साना, मझ्यौला, लघु घरेलु उद्योगहरुलाई पनि समेट्दै समग्र औद्योगिक क्षेत्रको रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।
मप क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले ६ नं. प्रदेशलाई सवल बनाउन यही प्रदेशका उद्योग व्यवसायीहरुको प्रमुख हात रहने बताउनुभयो । उहाँले सरकारले उद्योगी व्यापारीहरुले चाहेको वातावरण बनाइदिने दावी गर्दै लगानी गर्न आउन अपिलसमेत गर्नुभयो । उहाँले पनि यस क्षेत्रमा धार्मिक पर्यटनको ठूलो सम्भावना भएकोले त्यतातर्फ लाग्न आग्रह गर्नुभयो । सुर्खेतका व्यवसायीहरुले सुर्खेतमै लगानी गर्नुपर्ने उहाँको जोड छ ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतलाई शैक्षिक, प्रशासनिक मात्र नभइ औद्योगिक क्षेत्रको रुपमा पनि अगाढि बढाइएको जानकारी दिनुभयो । उहाँले सुर्खेतमा लगानी भित्र्याउनका लागि सुर्खेत लगानी बर्ष घोषणा गरिएको बताउँदै यस अनुपातमा लगानी पनि क्रमशः भित्रिरहेको दावी गर्नुभयो । उहाँले विशेषगरी उच्च मूल्य कृषि बस्तु आयोजनामा लगानी भित्रिएको जिकिर गर्नुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगतु उपाध्यक्ष दिनेश श्रेष्ठले पनि सरकारको उदासिनताले उद्योगी व्यवसायीहरुले लगानी भित्र्याउन नसकेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वपछि मात्रै लगानी भित्रिने उहाँको भनाइ छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निरक केसी, मप क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले अहिले प्रदेश नं. ६ कमजोर भएका कारण राज्यले लगानी गर्नुपर्ने र पछि यही प्रदेशले राज्यलाई समेत पाल्ने जिकिर गर्नुभयो ।
मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुण सुमार्गीलगायतले बोलेको साधारणसभामा सुर्खेत उद्योग बाणिज्य संघका महासचिव गोपालकृष्ण गिरीले प्रगति र कोषाध्यक्ष दिपेन्द ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।