सुर्खेत, ३१ असार ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभाले आर्थिक वर्ष २०७४÷०७५का लागि ६५ करोड ५४लाख ३ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ ।
साथ तपाइको, नेतृत्व हाम्रो, हामी बनाउछौँ वीरेन्द्रनगरलाई राम्रो भन्ने नाराका रहेको नगरपालिकाको नीति तथा कार्यक्रम उपप्रमुख मोहनमाया ढकालले सार्वजनिक गर्नु भएको छ ।
खासगरी बीरेन्द्रनगरलाई आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।क्षेत्रगत पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक वडामा ८० लाख रुपैया बिनियोजन गरिएको छ ।
यस्तै ढल निकास गुरुयोजना तथा अस्थायी ढल निकास, सडक मर्मत विशेष कार्यक्रम, ल्याण्डफिल्ड साइट पहुंच मार्ग निर्माण एवं साइड पूर्वाधार निर्माण गर्ने कार्यक्रममा बजेटमा प्राथमिता दिइएको छ ।
त्यसैगरी सौर्य सडक बत्ति जडान, उज्यालो नगर कार्यक्रम, नगर हरियाली जस्ता कार्यक्रमलाई बजेटले समेटेको छ ।
सवै वडामा कार्यालय स्थापना गर्ने, हरेक वडामा वडा कार्यालयलाई केन्द्र बनाएर वाईफाई फ्रि जोन तोक्ने, छोरी जन्म बचत कार्यक्रम, हिंसा पिडित महिलाका लागि हेल्प डेष्क सञ्चालन गर्ने कार्यक्रम अघि सारिएको छ ।
सञ्चारकर्मी सहयोग कोष निर्माण, अपांग प्रतिभा प्रस्फुटन कार्यक्रम, पर्यावरणीय वाल पार्क निर्माण गुरुयोजना निर्माण गर्ने कार्यक्रम अघि बढाईएको छ ।नीति तथा कार्यक्रमले शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगरको योजना अघि बढाएको छ ।
यस्तै वीरेन्द्रनगरलाई प्रदेश नं. ६ को राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध शहरी सुविधायुक्त, लैगिक रुपमा महिला मैत्री, सामाजिक रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा पूर्व सासद दुर्गाकेशर खनालले वीरेन्द्रनगरलाई सुन्दर र समृद्ध बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।
मध्यपश्चि विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले नगरलाई सुशासनका क्षेत्रमा नमुना बनाउनु पर्नेमा जोड दिनुभयो ।सभामा क्षेत्रीय प्रशासक महेन्द्र गुँरागाई, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, काँग्रेसका सभापति कमलराज रेग्मी, एमालेका उपाध्यक्ष अमृत विसी, माओवादी केन्द्रका संयोजक कृष्ण जिसी, राप्रपाका अध्यक्ष मानबहादुर खड्का, राष्टिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदी, झुप्रा वृहत खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष कुलमणी देवकोटाले जनप्रतिनिधीले समानुपातिक विकासमा जोड दिएका छन ।
सभामा वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले नगर सभामा दिइएका सुझावहरुलाई समेटर अघि बढने प्रतिवद्धता जनाउनु भयो ।