प्रविधिले बदलियो पातारासी

जुम्ला, पातारासी गाउँपालिका–७, रिनीकी पम्फा भुसाल अचेल आलुबारी जोत्न हलो होइन, पावर ट्रेलर प्रयोग गर्छिन् । जोत्नमात्र होइन, आलु रोप्न, डयाम बनाउन र ग्रेडिङ गर्नसमेत उनी उपकरणकै प्रयोग गर्छिन् । ‘यसले छिटोछरितोमात्र होइन, उत्पादन पनि ह्वात्तै बढाएको छ,’ उनको अनुभव छ, ‘अब त हामीजस्ता दुरदराजका किसानको लागि यी साधन बरदान नै भएका छन् ।’


आलुखेतीमा उन्नत प्रविधि प्रयोग गर्ने पम्फा एक्ली होइनन् । उनीजस्ता थुप्रै किसान यही प्रविधिमा अभ्यस्त हुन थालेका छन् । यसले उत्पादनमा करिब एक तिहाई बढाएको स्थानीयको भनाइ छ । रिनीकै मस्टा तरकारी तथा फलफूल समूहमा आवद्ध किसानले पनि फम्फालाई पछ्याएका छन् । समूहकी अध्यक्षसमेत रहकी फम्फाले आलु र ताजा तरकारी उत्पादनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भएको बताइन् । उनले तरकारीको आम्दानीबाट जुम्ला, सदरमुकाम खलंगा र उर्थु बजारमा घडेरी किनेकी छिन् । एक छोरालाई कर्णाली प्राविधिक शिक्षालयमा फरेस्ट्री र २ छोरीलाई जुम्ला सदरमुकामै प्लस टु पढाइहेकी छिन् ।


रिनी गाउँकै महादेव बीउ बैंक कृषक समूहकी अध्यक्ष सुवा खड्का उन्नत प्रविधिले गुणस्तरीय तरकारी उत्पादनमा सहयोग पुगेको बताउँछिन् । उनी संलग्न २८ सदस्यीय समूहले पिबिएस प्रविधिबाट बीऊ उत्पादन गर्दै आएको छ । उनले बीऊ उत्पादन र तरकारीबाट वार्षिक तीन लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको बताइन् ।
कुन्थबाडा बीऊ तथा आलु उत्पादन समूहकी भदुरी बुढाले पाँच रोपनी जग्गामा आलु खेती गरेकी छिन् । यसबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्छिन् । आलुको आम्दानीबाट घरखर्च धान्नुका साथै दुई छोरा र एक छोरीलाई पढाइरहेकी छिन् । सबै खर्च कटाएर वार्षिक दुई लाख रुपैयाँ बचत भइरहेको उनको भनाइ छ । उनको समूहले गत वर्ष २० क्विन्टल आलुको बीऊ उत्पादन गरेको थियो । समूहमा २५ कृषक आबद्ध छन् ।


उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले कृषकलाई ५० प्रतिशत र समूहलाई ८५ प्रतिशतका दरले बिभिन्न अनुदान दिएपछि किसानले उन्नत प्रविधिबाट खेती गरिरहेका छन् । आयोजनाले रिनी गाउँमा पाँचवटा सिँचाई पोखरी निर्माण गरेको छ । यसका साथै करिब ४८ लाख रुपैयाँको सामग्री वितरण गरेको छ । रिनीका सबै कृषक समूहको नेतृत्व महिलाले नै गरिरहेका छन् ।
उत्पादित आलु बजारीकरणको समस्या पनि छैन । व्यापारीहरु गाउँमै आएर खरीद गर्छन् । गाउँमा प्रतिकेजी १८ रुपैयाँमा खरीदबिक्री हुन्छ । त्यही आलुको बीऊ बजारमा २० रुपैयाँ प्रतिकेजीमा बिक्री हुन्छ । कृषक चटुकला बोहराले परम्परागत विधिबाट खेती गर्दा बीऊ खेर जाने, राम्ररी नउम्रने, आलु खन्दा चोट लाग्ने, गे्रडिङ नहुँदा गुणस्तरीय आलु नछुट्टिने लगायतका समस्याबाट छुटकारा पाएका बताए ।

प्रकाशित मितिः ७ मंसिर २०७५, शुक्रबार ०५:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *