चालु आवभित्रै पञ्चवर्षीय योजना तयार गर्ने

सुर्खेत, ९ मंसिर । कर्णाली प्रदेश योजना आयोगले प्रदेशको पञ्चवर्षीय योजना चालु अार्थिक वर्ष ०६५/६६ मै निर्माण गरिसक्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतबार मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न पहिलो बैठकले दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आव भित्रै तयार गर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम एवं वजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । निरौलाका अनुसार चालू आवको वजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमण मूल्याँकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने पनि आइतबारको बैठकले निर्णय गरेको छ ।

बैठकले परियोजना वैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचानसहितको तथ्यांक,  सूचकांक  र प्रारुप तयार गर्ने लगायतका निर्णय गरेको उनले जानकारी दिए ।

आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः ९ मंसिर २०७५, आईतवार १८:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *