बाख्राबाट नाम र दाम

गोरखबहादुर खड्कालाई कामको खोजीमा विदेश जाने युवाको लस्करमा लाइन लाग्न कहिल्यै मन लागेन । जे गरे पनि गाउँमै गर्ने भन्ने उनको भावनाले सधैं त्यो लाइनबाट अलग बनायो । त्यसैले त सुर्खेत, भेरीगंगा नगरपालिका–५, माथिल्लो हात्तिखालका यी युवा दाम र नाम दुबै कमाएर सम्मानपूर्ण जीवन बिताइरहेका छन् ।
सातवर्षदेखि बाख्रापालन व्यवसायमा जुटेका उनी बाख्राबाट वार्षिक डेढ लाख रुपैयाँ कमाउँछन् । अहिले उनीसँग४८ वटा बाख्रा छन् । ‘यो व्यवसायमा पनि मन लगाएर काम गर्ने हो भने निकै फाइदा हुँदोरहेछ,’ उनी भन्छन्, ‘पहिले खाली हात बसिन्थ्यो, अहिले बाख्रासँग रमाइलो गर्दै पैसा पनि कमाइ भइरहेको छ ।’


बाख्रापालन नेपालीको परम्परागत व्यवसाय भए पनि उनले व्यावसायिक रुपमा यसको विस्तार गरिरहेका छन् । उनको यो व्यवसायमा उच्च मूल्य कृषि वस्तु आयोजनाले सहयोग गरेको छ । उनी आवद्ध हिमाली कृषि तथा पशु बहुमुखी सहकारी संस्थामार्फत आयोजनाले माथिल्लो हात्तिखालका ९६किसानलाई करिब २० लाख रुपैयाँ अनुदान दिएको छ । सहकारीका अध्यक्षससमेत रहेका खड्काले आयोजनाको सहयोगपछि गाउँका किसानलाई व्यावसायिक बाख्रापालनमा बल पुगेको बताए । ‘अब त विदेश जान खुट्टा उचालेकाहरु पनि बाख्रातिर लागेका छन्,’ उनले भने, ‘यसले सबैलाई राम्रो गरेको छ ।’
पछिल्लो समय चरिचरणको समस्या हुन थालेपछि उनलेबधुवा बाख्रा पाल्ने योजना बनाएका छन् । बर्दिया राष्ट्रिय निकुन्जको कारण जंगलमा लगेर चराउन समस्या भएको उनको भनाइ छ । ‘अब त यो पेशा छोड्न सकिने अवस्था छैन,’ उनले भने, ‘त्यसैले बधुवा बाख्रा पाल्ने सोच बनाएको छु ।’ लाखौं खर्चेर विदेश जानुभन्दा त्यही पैसा स्वदेशमै लगानी गर्दा राम्रो आम्दानी हुने उनी बताउँछन् ।

प्रकाशित मितिः ११ मंसिर २०७५, मंगलवार ०५:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *