जाजरकोटमा गभारो रोगले सुन्तला सुके, किसान मर्कामा

माया पन्त
जाजरकोट २१, मंसिर
गत वर्ष सुन्तला बेचेर १० लाख आम्दानी गरेका कुशे गाउँपालिका ५, दम्दालाका शक्तीबहादुर वलींले यो वर्ष ४ लाख पनि हात पार्न मुस्किल भएको बताएका छन । ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको वताए । उनले सुन्तलाका वोट सुक्ने, पात सुक्ने र सुन्तलाका दानाहरु पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष वोटमा सुन्तला निकै कम फलेको वताए । उनको बारीमा १ हजार बोट छन ।


फूल खेल्ने सिजनमा खडेरी परेको र पाक्ने सिजनमा एकाएक झर्ने समस्याले यस पटक उत्पादन हुन नसकेको बताए । दम्दालामा सुन्तला धेरै फल्ने क्षेत्र हो । यसपटक उत्पादन घटेको किसानहरूले बताएका छन । दाना कालो हुने, बोट सुकेर जाने, दानाभित्र किरा र ढुँसी रोग देखिएको वलीले बताए । सुन्तलाका वोटहरुमा गभारो अर्थात ढुसी लाग्ने रोग लागेर वोटहरु सुक्ने र सुन्तलाका दानाहरु कालो हु्न थालेपछि सुन्तला उत्पादन गत वर्षको तुलनामा निकै घटेको किसानहरु वताउछन् ।


गत वर्ष ८ करोड वरावरको सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष सोको आधा पनि उत्पादन हुन नसकेको नलगाड ३ कृषक बिर्खबहादुर कामीले बताए । वारीमा लगाएका सुन्तलाका वोटहरु फल टिप्ने वेला सुक्न थालेपछि लगानी डुव्ने चिन्ताले छ, कामीले भने । गत वर्ष १ लाखको सुन्तला वेचेको र यस वर्ष ३० हजार पनि आम्दानी नहुने उनले बताए । वली र कामी जस्तै अर्का कृषक तिलकबहादुर पुन पनि सुन्तलाको वोटमा ढुसी लाग्ने रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने पात पहेँलो हुने र पछि पुरै वोट सुक्ने रोगका कारण आफुहरु ठुलो मर्कामा परेको पुनले बताए ।


सरकारले सुन्तलाको लागि राम्रो सम्भावना भएको जाजरकोटको कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ को क्षेत्रलाइ जोडेर गत वर्षको माघ महिनामा जाजरकोटलाई सुन्तला जोन घोषणा गरेको थियो । सुन्तला उत्पादन क्षेत्रलाई जोडेर वनाइएको सुन्तला जोनमा यो वर्ष नै सुन्तला उत्पादन घट्नु निकै दुखद भएको दम्दालाका जगत खड्काले बताए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत घोषणा गरिएको सुन्तला जोन कार्यक्रमले जाजरकोटका सन्तला उत्पादक किसानहरुलाइ गतिलो राहत दिन नसकेको वताए । किसानहरुका समस्या समाधान गर्ने, नियमित रुपमा सुन्तला वारीहरुको प्राविधिक रुपले रेखदेख गर्ने तथा सुन्तलाको वोटहरुको सुरक्षाका लागि किसानहरुलाइ सल्लाहा सुझाव दिन कर्मचारीहरुले नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको उनले बताए ।


स्थानीय पुर्णवहादुर खत्रीले जोन कार्यालयका प्रमुख लगाएतका कर्मचारीहरु फिल्डमा नजाने पाँचकाटिया स्थित जोनको कार्यालय कार्यालय जेठ देखि बन्द रहेको बताए । किसानहरुले कुनै सुविधा पाउन नसकेको उनले वताए । उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात जोन जाजरकोटका प्रमुख टंक रिजाल किसानहरुले सुन्तलाको वोट लगाउन नजानेका कारण वोट सुक्ने समस्या देखिएको प्रतीक्रिया दिएका छन ।


सुन्तलाका वोटहरु लगाउदा ठुलो खाडल नवनाएका कारण सुन्तला वोटका जराहरु ढुंगा या चटटानमा ठोकिएका कारण अहिले सुन्तलाको वोटमा पात सुक्ने डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको उनले बताए । उनले अहिले जाजरकोटमा ५ हजार सुन्तलाका वोटहरु लगाइएको वताए । अहिले जिल्लाको १ सय ८० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र यसलाइ वढाएर ५ सय हेक्टर वनाउन आफुहरुले काम गरिरहेको प्रमुख रिजालले वताए । जाजरकोटमा ५० करोड वरावरको सुन्तला उत्पादनको सम्भावना रहेको प्रमुख रिजालले वताए ।

प्रकाशित मितिः २१ मंसिर २०७५, शुक्रबार ०४:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *